News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०१८ को अन्त्यतिर ‘नेपाल फर्कौँ महाअभियान’ औपचारिक रूपमा सुरु गरिएको लेखमा उल्लेख छ।
- अभियानले विदेशमा रहेका नेपालीलाई एउटै सञ्जालमा जोडेर फर्किने, नेपालसँग जोडिने र सामूहिक रूपमा काम गर्ने वातावरण बनाएको छ।
- लेखले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा समाहित गर्ने खुला नीति आवश्यक भएको निष्कर्ष निकालेको छ।
विगत केही दशकदेखि हजारौँ युवाहरू रोजगारी, उच्च शिक्षा वा सुरक्षित भविष्यको खोजीमा नेपाल छाडेर विदेश गइरहेका छन्। विदेशिनेहरूमध्ये धेरैले नेपाल फर्किने प्रण गर्छन्, तर समयसँगै त्यो प्रतिबद्धता धुमिल हुँदै जान्छ। पश्चिमी देशहरूमा जाने युवाहरू मात्र होइन, केही वर्षयता खाडी मुलुकका तुलनात्मक रूपमा सहज र आकर्षक आप्रवासन नीतिका कारण त्यहाँ गएका नेपालीहरूको पनि स्वदेश फर्किने सङ्ख्या न्यून छ। यसरी नेपालका हजारौँ प्रतिभाशाली युवाहरू विश्वका विभिन्न कुनामा छरिएर बस्नु र स्वदेश फर्किनेको सङ्ख्या न्यून हुनु सुखद विषय होइन।
यही विषयलाई मध्यनजर गर्दै हामीले सन् २०१८ को अन्त्यतिर ‘नेपाल फर्कौँ महाअभियान’ को औपचारिक सुरुआत गर्यौँ। यस आलेखमा उक्त अभियानको प्रारम्भिक परिकल्पना, अहिलेसम्मका उपलब्धि, चुनौती र अबको बाटोबारे चर्चा गर्नेछु।
नेपालीहरूको विदेशमा बढ्दो बसोबास भौगोलिक विस्थापन मात्र नभई राष्ट्रको बौद्धिक पुँजीको पलायन पनि हो। प्रवासमा रहेका नेपालीहरू विश्वका प्रतिष्ठित विश्वविद्यालय, स्वास्थ्य संस्था तथा बहुराष्ट्रिय कम्पनीहरूमा उच्च पदमा कार्यरत छन्। विदेशी भूमिमा कठिन सङ्घर्षबाट जीवन स्थापित गरी सम्मान र अवसर प्राप्त गरे पनि उनीहरूको अन्तर्मनमा नेपाल फर्केर आफ्नो सीप र अनुभवको सदुपयोग गर्ने अभिलाषा देखिन्छ।
विदेशमा उच्च शिक्षा प्राप्त गरेका पहिलो पुस्ताका नेपालीहरू नेपाल फर्केर विभिन्न क्षेत्रमा योगदान नगरेका होइनन्। तर, २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि जुन स्तरमा नेपालीहरू विदेश जान र स्थायी रूपमा बसोबास गर्न थाले, त्यसपछि आफ्नै देशमा फर्केर केही गरौँ भन्ने नेपालीहरूलाई जोड्ने एउटा साझा सेतुको आवश्यकता महसुस हुन थाल्यो।
नेपालको राजनीतिक अस्थिरता, यहाँको चुनौतीपूर्ण वातावरण र विदेशमा गरेको सङ्घर्षपछि प्राप्त उपलब्धि छाडेर फर्किनु सहज हुँदैन। यही चुनौतीको सामूहिक सामना गर्ने सामर्थ्य निर्माण गर्ने उद्देश्यले नेपाल फर्किन प्रतिबद्ध केही साथीहरूमा पलाएको हुटहुटीबाटै ‘नेपाल फर्कौँ महाअभियान’ को बीउ रोपिएको हो।
चिन्तनदेखि अभियानसम्म
नेपालीहरूसँग हुने सामाजिक तथा पारिवारिक भेटघाटमा संवादको मुख्य विषय प्रायः नेपाल नै हुने गर्थ्यो। हाम्रा छलफलमा ‘नेपालका लागि सकेसम्म आफैँ फर्किएर, नसके पनि फर्किनेहरूको सञ्जालमा जोडिएर केही गरौँ’ भन्ने साझा धारणा बारम्बार व्यक्त हुन्थ्यो।
नेपाल फर्किन प्रतिबद्ध नेपालीहरूमा एउटा दुविधा पनि भेटिन्थ्यो- एक्लै फर्केर केही गर्न अत्यन्त गाह्रो छ; सामूहिक रूपमा मिलेर फर्किन वा केही गर्न सके सहज हुन्थ्यो। तर, यो साझा आकाङ्क्षालाई साकार पार्ने न त कुनै साझा मञ्च थियो, न त व्यक्तिगत सङ्कल्पलाई संस्थागत रूपमा रूपान्तरण गर्ने अनुकूल वातावरण नै।
यही अभावले हामीलाई सोच्न प्रेरित गर्यो। नेपाल फर्किने सोचलाई व्यक्तिगत चाहना वा देशप्रेमको भावनामा मात्र सीमित नराखी सामूहिक प्रयासमा रूपान्तरण गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ। यही चिन्तनबाट हामीले औपचारिक रूपमा ‘नेपाल फर्कौँ महाअभियान’ को सुरुआत गर्यौँ। वेबसाइट निर्माण गर्यौँ र सामाजिक सञ्जालमा आधिकारिक समूह तथा पेजमार्फत आफ्नो उपस्थिति जनायौँ।
अभियानको सुरुवाती चरणमै हामीले नेपाल फर्किने सोचलाई सामान्य नारा वा भावनात्मक आग्रहमा मात्र सीमित गर्नु हुँदैन भन्ने बुझेका थियौँ। यसलाई कुनै सानो भौगोलिक क्षेत्रभित्र सीमित नराखी संसारभर छरिएका नेपालीहरूसम्म पुर्याउनु आफैँमा चुनौतीपूर्ण थियो। त्यसैले विश्वभरका नेपालीहरूलाई एउटै सञ्जालमा जोड्दै अभियानको दिगो र बहुआयामिक जग बसाल्न हामीले तीनवटा आधारमा काम सुरु गर्यौँ।
पहिलो, नेपालीहरूमा स्वदेश फर्किने वा स्वदेशसँग जोडिने सकारात्मक सोच विकास गर्न प्रोत्साहित गर्नु थियो। खासगरी ‘पश्चिमी राष्ट्रबाट कोही पनि नेपाल फर्कँदैनन्’ भन्ने नकारात्मक धारणा व्याप्त थियो। हामीले नेपाल फर्किएका साथीहरूलाई सामाजिक सञ्जालमार्फत जोडेर उनीहरूका अनुभव र उदाहरण प्रस्तुत गर्न थाल्यौँ। यसले सकारात्मक ऊर्जा र प्रेरणा फैलाउन मद्दत गर्यो। नकारात्मक मनोविज्ञानबाट बाहिर निस्केर नेपालमै फर्की केही गर्न सकिन्छ भन्ने सम्भावना देखाउन यसले अभिप्रेरित गर्यो।
दोस्रो, नेपाल फर्किन वा अभियानमा जोडिन चाहने व्यक्तिहरूलाई आवश्यक सूचना, स्रोत र सहयोग उपलब्ध गराउन बलियो सञ्जाल निर्माण गर्नु थियो। हामीले सुरुदेखि नै हरेक महिना नियमित रूपमा डिजिटल संवाद गर्न थाल्यौँ। अभियानको वेबसाइट निर्माण गर्नुका साथै सामाजिक सञ्जालमा समूह र पेज सञ्चालन गर्यौँ। विश्वभरका हजारौँ नेपालीहरू यसमा जोडिँदै गए। नेपालीहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा नेपाल फर्किने विषयमा आफ्ना धारणा र अनुभव प्रस्तुत गर्न थाल्यौँ।
यो सञ्जाल विदेशमा रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने माध्यम बन्यो। यसले ‘नेपाल फर्किनुपर्छ’ भन्ने भावनात्मक सन्देश मात्र दिएन, बरु ‘कसरी फर्कने र फर्केपछि के गर्ने ?’ भन्ने व्यावहारिक कठिनाइबारे छलफल गर्न र सम्भावित बाटो पहिल्याउन सहयोग गर्यो।
तेस्रो, नेपाल फर्किन चाहने वा आफ्नै परिस्थितिका कारण विदेशमै बसेर पनि नेपालका लागि केही गर्न चाहने साथीहरू मिलेर ठोस काम गर्ने वातावरण निर्माण गर्नु थियो। सञ्जालमा जोडिएका साथीहरूले स्वतःस्फूर्त रूपमा सहकार्य गर्दै कैयौँ स्टार्टअप सुरु गरे। अभियानका छलफलहरूमा नियमित सहभागी हुने साथीहरू मिलेर हामीले नाफा वितरण नगर्ने प्रकृतिको ‘नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी नेपाल)’ नामक संस्था स्थापना गर्यौँ। यस संस्थामार्फत अहिले नेपाललाई आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनका काम भइरहेका छन्।
आज यस महाअभियानमा हजारौँ साथीहरू जोडिएका छन्। हरेक महिना दर्जनौँ नयाँ साथीहरूले वेबसाइटमार्फत फाराम भरेर अभियानमा आबद्ध हुने क्रम जारी छ। यो विस्तार केवल सदस्य सङ्ख्या बढ्नु मात्र होइन; नेपाल फर्किने, नेपालसँग जोडिने र सामूहिक रूपमा केही गर्ने चाहनाले साझा स्वरूप पाउँदै जानुको सङ्केत पनि हो।
हाम्रो उद्देश्य विदेशमा रहेका सबै नेपालीलाई नेपाल फर्काउन आग्रह गर्नु मात्र थिएन। जहाँ रहे पनि नेपालको विकासमा योगदान दिन चाहनेहरूलाई जोड्नु, फर्किन चाहनेहरूलाई सहकार्यको वातावरण दिनु र व्यक्तिगत सङ्कल्पलाई सामूहिक प्रयासमा रूपान्तरण गर्नु पनि यस अभियानको महत्त्वपूर्ण उद्देश्य थियो। यस अर्थमा ‘नेपाल फर्कौँ महाअभियान’ एउटा नाराबाट सुरु भएको अभियान मात्र होइन, विदेशमा रहेका नेपालीहरूको साझा चिन्तनलाई सहकार्य र ठोस काममा रूपान्तरण गर्ने प्रयास पनि हो।
चुनौती र अबको बाटो
कहाँ बस्ने भन्ने कुरा व्यक्तिको आफ्नै निर्णय हो। तर, विदेशमा वर्षौँसम्म गरेको सङ्घर्ष र प्राप्त सफलताहरू छाडेर स्वदेश फर्किने, विदेशमा सिकेको सीप र अनुभवलाई नेपालमा कसरी उपयोग गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। राज्यले विदेशमा रहेका नेपालीहरूका व्यक्तिगत सरोकार, अनुभवको साझेदारी र नेपाल फर्कने वा नेपालसँग जोडिने चाहनालाई मूर्त रूप दिने ठोस योजना नबनाएसम्म यो प्रक्रिया चुनौतीपूर्ण रहन्छ।
विदेशमा उच्च शिक्षा प्राप्त गरेका पहिलो पुस्ताका नेपालीहरू नेपाल फर्केर विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन्। नयाँ पुस्ताका युवाहरूमध्ये पनि नेपाल फर्केर विभिन्न क्षेत्रमा योगदान पुर्याउने वा नवप्रवर्तनमा आधारित स्टार्टअप सुरु गर्ने हजारौँ उदाहरण छन्। तर, यी प्रयासलाई समेट्ने र समर्थन गर्ने साझा संरचनाको अभावमा धेरैले व्यक्तिगत प्रयासकै भरमा काम गरिरहेका छन्।
‘नेपाल फर्कौँ महाअभियान’ को सुरुआतपछि नेपाल फर्किने निर्णय गरेका वा फर्किसकेका साथीहरूले गर्वका साथ स्वदेश फर्केर विभिन्न पेसा तथा व्यवसायमा आबद्ध भएको अनुभव सुनाउन थाले। अभियानमा जोडिएर होस् वा आफ्नै प्रयासमा, आज नेपाल फर्केर काम गरिरहेका साथीहरूका सफल उदाहरणले नै महाअभियानको उद्देश्यलाई प्रतिबिम्बित गरिरहेका छन्। पछिल्ला वर्षहरूमा उनीहरूका व्यक्तिगत सफलताका कथाले अरूलाई पनि प्रेरणा दिइरहेका छन्।
तर, यी सफलतालाई प्रोत्साहन गर्न र दिगो बनाउन राज्य र समाजको प्रत्यक्ष तथा सक्रिय संलग्नता अपरिहार्य छ। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई स्वदेशको विकासमा उपयोग गर्न सक्ने राष्ट्रियस्तरको खुला र व्यावहारिक नीति बनाउन सकियो भने यसले सकारात्मक रूपान्तरण ल्याउन सक्छ।
अभियानमार्फत हामीले पछिल्ला केही वर्षमा दुई मुख्य विषयमा ध्यान केन्द्रित गरेका छौँ। पहिलो- नेपाल फर्किन चाहने तर निर्णय लिन नसकिरहेका प्रवासी नेपालीहरूको मनोविज्ञानलाई गहिरोसँग बुझ्ने। दोस्रो- नेपाल फर्किसकेका तर उपयुक्त वातावरण नपाएका वा फर्किएपछि पनि पुनः विदेश जाने मनस्थिति बनाएका साथीहरूका अनुभव र गुनासालाई ठोस नीतिगत बहसमा रूपान्तरण गर्ने।
अभियानका केही वर्षको अनुभवले हामीलाई एउटा महत्त्वपूर्ण शिक्षा दिएको छ- नेपाल फर्किने कुरा केवल इच्छा वा भावनात्मक चाहनाको विषय होइन। यो राज्यले गर्ने संरचनागत सुधार र राष्ट्रिय प्राथमिकता निर्धारणसँग पनि जोडिएको विषय हो।
नेपाल फर्कनु केवल ठाउँ बदल्नु होइन; आफूभित्रको सम्भावनालाई मातृभूमिको सेवामा रूपान्तरण गर्नु पनि हो। जब एक वैज्ञानिक विदेशको अत्याधुनिक प्रयोगशालाबाट नेपाल फर्केर गाउँको कुनै युवा विद्यार्थीलाई स्थानीय स्रोतको उपयोग गर्दै अनुसन्धान गर्ने बाटो देखाउँछ, वा एक कुशल शिक्षकले आकर्षक जागिर छाडेर गाउँको विद्यालयमा शिक्षाको ज्योति फैलाउँछ, तब फर्कनुको गहिरो र सार्थक अर्थ देखिन्छ।
महाअभियानले यस्ता परिवर्तनकारी कदमलाई प्रेरणा र उदाहरणका रूपमा समाजमा स्थापित गर्ने प्रयास गरिरहेको छ। तर, जबसम्म राज्यले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा सहज रूपमा समाहित गर्ने नीतिगत बाटो खुला गर्दैन, तबसम्म यस महाअभियानले परिकल्पना गरेअनुरूप पूर्ण सफलता प्राप्त गर्न सक्दैन।
प्रतिक्रिया 4