News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले अमेरिकाबाट फर्किएपछि नेपालमा हुनुको अनुभूति, परिवार नजिक हुनु र स्वयंसेवा गर्न सकिने सम्भावनालाई महत्वपूर्ण भनेका छन्।
- उहाँले नेपालमा आम्दानी, अनुसन्धान स्रोत, प्रयोगशाला पूर्वाधार र व्यावसायिक सञ्जाल अमेरिकाजस्तो सहज नभएको उल्लेख गर्नुभयो।
- लेखकले विदेशबाट ल्याएको ज्ञान र सीप नेपालका युवा, अनुसन्धान प्रणाली र नीति छलफलमा उपयोग गर्ने नयाँ उद्देश्य बनाएको बताउनुभयो।
नेपालमा बाढीपहिरोले फेरि एकपटक धेरै परिवारको जीवन अस्तव्यस्त बनाएको छ। घर बगेका छन्, सडक भत्किएका छन्, खेतबारी पुरिएका छन्। कतै आफन्त छुटेका छन्, कतै वर्षौंको मिहिनेतले बनाएको घर एकै रातमा हराएको छ। बालबालिका टुहुरा बनेका छन्, विद्यालयहरू बगाइएका छन्। सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अब हजारौं घर पुनर्निर्माण गर्नुपर्नेछ, हजारौं विद्यार्थी र बालबालिकाका लागि पढ्ने ठाउँको जोहो गर्नुपर्नेछ।
नेपालमा रहेका नेपाली मात्र होइन, संसारका विभिन्न कुनामा रहेका नेपालीहरू पनि आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन्। कसैले आर्थिक सहयोग गरिरहेका छन्, कसैले राहत सामग्री जुटाउन सहयोग गरिरहेका छन्, कसैले सामाजिक सञ्जालमार्फत सूचना फैलाइरहेका छन्। विदेशमा बसेर पनि देशका लागि केही गर्न सकिन्छ भन्ने भावना यस्ता विपत्तिका बेला झन् बलियो भएर देखिन्छ।
म पनि विदेशमा हुँदा यस्तै गर्थें। यस्तो विपत्तिका बेला विदेशमा बसेर सामाजिक सञ्जाल र समाचार हेर्दै हप्तौं बित्थ्यो। आफ्नै काममा समेत ध्यान दिन गाह्रो पर्थ्यो। मन नेपालमै हुन्थ्यो, तर शरीर हजारौं किलोमिटर टाढा हुन्थ्यो।
विदेशमा हुँदा विपत्तिका बेला पैसा पठाउनु, आवश्यक सामग्री जुटाउन सहयोग गर्नु वा आफूले सक्ने अरू काम गर्नु महत्त्वपूर्ण छ। तर यस्तो विपत्तिका बेला नेपालमै हुनुको आफ्नै खालको सन्तुष्टि हुँदो रहेछ। आवश्यक परेको बेला आफैं त्यहाँ पुग्न सक्ने सम्भावना हुनु, प्रत्यक्ष रूपमा सहयोग गर्न सक्ने ठाउँमा हुनुले गर्दा पनि नेपालमा हुनुको अनुभूति टाढाबाट सहयोग गर्दाभन्दा फरक हुँदो रहेछ।
म अमेरिकाबाट नेपाल फर्किएको लगभग ५ महिना भइसकेको छ। यो अवधिमा मैले नेपालमा हुनुका केही सकारात्मक पक्ष मात्र होइन, अमेरिका छाड्दा जीवनमा छुटेका केही अनुभव पनि महसुस गरेको छु। तर त्यससँगै नेपाल र आफ्नो जीवनलाई हेर्ने मेरो दृष्टि पनि केही बदलिएको छ।
यस आलेखमा मैले नेपाल फर्किएपछि मेरो बदलिएको दृष्टि, नेपाल आएपछि प्राप्त गरेका केही नयाँ कुरा र अमेरिका छाडेपछि अमेरिकामा उपलब्ध तर नेपालमा अभाव खड्किएका केही कुराहरूका बारेमा उल्लेख गर्नेछु; जसले नेपाल फर्किन चाहने साथीहरूलाई यसबारे केही न केही मार्गदर्शन गर्नेछ।
नेपाल फर्किने निर्णय गर्दा मैले धेरै कुरा सोचेको थिएँ। करियर, आम्दानी, परिवार, छोरीको भविष्य, अनुसन्धानका अवसर, जीवनशैली आदि सबैको बारेमा एक प्रकारको सोचाइ बनाएको थिएँ। तर नेपाल फर्किएपछि मैले एउटा कुरा महसुस गरें, जसको हिसाब मैले गरेको थिइनँ। त्यो हो— आफ्नो देशमा हुनुको अनुभूति।
जीवनमा कहिलेकाहीँ कुनै ठूलो उपलब्धि चाहिँदैन। बिहान उठ्दा आफ्नै देशको हावा महसुस हुनु, परिवार नजिक हुनु, पुराना साथीहरूसँग अचानक भेट हुनु, आफूले चिनेको ठाउँमा हिँड्नु— यी सामान्य देखिने कुराहरूले पनि मनभित्र छुट्टै किसिमको पूर्णता दिँदा रहेछन्।
विदेशमा हुँदा म नेपाललाई सम्झिन्थें। नेपालका समाचार पढ्थें। यहाँका समस्या देख्दा चिन्ता लाग्थ्यो। केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर दूरी आफैंमा एउटा सीमा हुँदो रहेछ। नेपाल आएपछि कम्तीमा एउटा कुरा परिवर्तन भएको छ- चिन्ता मात्रै गरेर बस्नुपर्दैन; आवश्यक परे स्वयंसेवा गर्न वा भौतिक रूपमा उपस्थित भएर सहयोग गर्न सकिने ठाउँमा छु। सायद आफ्नो देशमा हुनुको सबैभन्दा ठूलो अर्थ यही रहेछ।
सीमितताभित्र देखिएको अर्को सम्भावना
नेपाल फर्किएपछि जीवनका सबै कुरा सहज भएका छन् भन्ने होइन। केही कुरा गुमेका छन्, केही कुरा सम्झना आउँछन्।
आम्दानीको निश्चितता पहिले जस्तो छैन। व्यावसायिक संरचना र अनुसन्धानका स्रोतहरू पनि अमेरिकासँग तुलना गर्न मिल्दैनन्। त्यहाँ वर्षौं लगाएर बनाएको व्यावसायिक सञ्जाल, प्रयोगशाला पूर्वाधार, अनुसन्धानको पारिस्थितिक प्रणाली र काम गर्ने सहजता यहाँ त्यही रूपमा उपलब्ध छैन।
विदेशमा एउटा प्रणालीभित्र काम गरिरहेको व्यक्तिका लागि धेरै कुरा पूर्वनिर्धारित हुन्छन्। आफ्नो जिम्मेवारी स्पष्ट हुन्छ। स्रोतहरू उपलब्ध हुन्छन्। धेरै कामका लागि प्रणालीले बाटो बनाइदिएको हुन्छ।
अमेरिकामा हुँदा म आफ्नो पेसामा केन्द्रित थिएँ। अनुसन्धान गर्थें, विद्यार्थी पढाउँथें, अनुसन्धानपत्र लेख्थें, अनुदानका लागि प्रस्ताव तयार गर्थें। नेपालमा भने कहिलेकाहीँ बाटो आफैं बनाउनुपर्छ। कहिलेकाहीँ बाटो मात्रै होइन, बाटो बनाउन चाहिने संरचना पनि आफैं खोज्नुपर्छ।
यसले कहिलेकाहीँ निराश बनाउन सक्छ। तर नेपालमा सायद यही चुनौती हाम्रो लागि अवसर बन्छ। हामीले सधैं तयार भइसकेको बाटोमै हिँड्ने मात्र होइन, नेपालमा आवश्यक बाटो बनाउने काममा पनि सहभागी हुन सकिन्छ। र, हामीले बनाएको बाटो आउने कैयौं पुस्ताका लागि अवसर बन्न सक्छ।
यसका साथसाथै नेपाल आएपछि मेरो कामको दायरा पनि केही फराकिलो भएको छ।
अब मैले एउटा संस्थाको अनुसन्धान मात्रै होइन, नेपालको अनुसन्धान प्रणालीबारे पनि सोच्न पाउँछु। युवा अनुसन्धानकर्तासँग काम गर्दा उनीहरूलाई आफूले विदेशमा सिकेको कुरा सिकाउन र प्रयोग गर्न सहयोग गर्न सक्छु। नीति निर्माणका छलफलमा सहभागी हुन पाउँछु। आफूले विदेशमा सिकेको ज्ञान, सीप र अनुभव यहाँ प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गर्न पाउँछु।
सबै प्रयास सफल हुन्छन् भन्ने छैन। तर त्यससँगै एउटा फरक आत्मसन्तुष्टि मिल्छ। मैले आफ्नो समय केवल आफ्नो करियरका लागि होइन, आफू जन्मेको, हुर्केको र आफ्नो जग बसालेको देश अर्थात् आफ्नै देशका लागि पनि प्रयोग गर्न सक्छु। यो भावना विदेशमा हुँदा पनि नभएको होइन। तर नेपाल आएपछि यसको अर्थ केही फरक भएको छ।
विदेशमा हुँदा नेपालका समस्या देखिन्थे। नेपाल आएपछि ती समस्यासँग जोडिएका अन्य कुराहरू देखिन थाले। समस्यासँगै सम्भावना पनि देखिन थाले। विदेशमा हुँदा देशलाई प्रायः समाचार, तथ्याङ्क र सामाजिक सञ्जालमार्फत हेरिँदो रहेछ।
नेपालमा बेरोजगारी छ। स्वास्थ्य सेवामा समस्या छ। शिक्षा कमजोर छ। अनुसन्धानका लागि स्रोत छैनन्। पूर्वाधार कमजोर छ। राजनीतिक अस्थिरता छ।

यी सबै कुरा सत्य हुन सक्छन्। तर नेपालमै बसेर हेर्दा हरेक समस्याको पछाडि कैयौं कुराहरू मात्र होइन, समस्यासँग जोडिएका मानवीय पक्ष पनि देखिँदो रहेछ।
जस्तो कि— बेरोजगारीको पछाडि आफ्नो भविष्य खोजिरहेको युवा हुन्छ। कमजोर स्वास्थ्य सेवाको पछाडि उपचारको प्रतीक्षामा रहेको परिवार हुन्छ। अनुसन्धानको अभावको पछाडि केही नयाँ गर्न चाहिरहेको अनुसन्धानकर्ता हुन्छ। कमजोर पूर्वाधारको पछाडि आफ्नो दैनिक जीवन सहज बनाउन सङ्घर्ष गरिरहेको नागरिक हुन्छ।
दूरीमा हुँदा समस्या देखिन्छ। नजिकिँदा समस्याभित्रको मानवीय पक्ष देखिँदो रहेछ। सायद यही कारणले नेपाल फर्किएपछि मेरो दृष्टि पनि केही बदलिएको छ।
पहिले म धेरैपटक सोच्थें— नेपालमा यो किन भएन ? अहिले कहिलेकाहीँ प्रश्न बदलिएको छ— नेपालमा यो बनाउन म के गर्न सक्छु ? यी दुई प्रश्न सुन्दा उस्तै लागे पनि तिनको अर्थ बिलकुल फरक छ।
नेपाल फर्किएको कुरा गर्दा विदेशमा भएका सबै कुरा खराब र नेपालमा भएका सबै कुरा राम्रो छन् भन्ने होइन। त्यस्तो तुलना नै उचित हुँदैन। अमेरिकाले मलाई धेरै कुरा दिएको छ। शिक्षा, अनुसन्धानको अवसर, व्यावसायिक अनुभव, उत्कृष्ट अनुसन्धानकर्ताहरूसँग काम गर्ने अवसर, विश्वका विभिन्न राष्ट्रका विद्यार्थीहरूसँग काम गर्ने अनुभव र एउटा बलियो अनुसन्धान प्रणालीभित्र रहेर काम गर्ने मौका— यी सबै मेरो जीवनका महत्त्वपूर्ण हिस्सा हुन्। त्यहाँ बिताएका वर्षहरू मेरो जीवनको महत्त्वपूर्ण पुँजी हुन्।
मैले विदेशमा सिकेको कुरा नेपालमा सक्दो प्रयोग गर्ने, आफूले सिकेको कुरा अरूलाई हस्तान्तरण गर्ने र यहाँको अनुसन्धान प्रणालीमा सानो भए पनि सकारात्मक योगदान गर्न सकेँ भने अमेरिका तथा विदेशबाट आर्जित ज्ञान र सीपको पुँजीको वास्तविक अर्थ हुन्छ। यही नै अहिले मेरो जीवनका नयाँ उद्देश्य र दिशानिर्देश बनेका छन्।
नेपाल फर्किनुको वास्तविक अर्थ
नेपाल फर्किएपछि मैले बुझ्दै गएको एउटा कुरा के हो भने— देश फर्किनु भनेको केवल भौगोलिक स्थान परिवर्तन गर्नु होइन; यो आफ्नो प्राथमिकता पुनः परिभाषित गर्नु पनि रहेछ।
विदेशमा हुँदा आफ्नो करियर निर्माण गर्नु मुख्य प्राथमिकता थियो। नेपाल आएपछि करियरसँगै योगदानको प्रश्न पनि जोडिएको छ। पहिले आफूले के गर्न सक्छु ? भन्ने सोच्थें। अहिले कहिलेकाहीँ आफूले जानेको कुरा अरूलाई कसरी उपयोगी बनाउन सकिन्छ ? भन्ने पनि सोच्न थालेको छु। पहिले कुनै समस्या देख्दा समाधान अरू कसैले गरिदेओस् भन्ने अपेक्षा हुन्थ्यो। अहिले कम्तीमा आफूले त्यसमा के योगदान गर्न सक्छु ? भन्ने प्रश्न उठ्छ।
सायद यही कारणले नेपाल फर्किने निर्णयलाई कम्तीमा मेरो लागि भने म केवल एउटा व्यक्तिगत निर्णयका रूपमा मात्र हेर्दिनँ। यो मेरो जीवनको एउटा नयाँ अध्याय हो।
यसको अर्थ चुनौती सकिए भन्ने होइन; बरु चुनौतीको स्वरूप बदलिएको छ। विदेशमा मेरो चुनौती आफूलाई स्थापित गर्नु थियो। नेपालमा मेरो चुनौती आफूले सिकेको कुरा कहाँ, कसरी र कति उपयोगी बनाउन सकिन्छ ? भन्ने हो। यी दुवै चुनौती फरक छन्। तर अहिलेको चुनौती भने मलाई अलि बढी अर्थपूर्ण लाग्न थालेको छ। किनकि अन्ततः जीवन केवल आफू कहाँ पुगियो ? भन्ने प्रश्न मात्र होइन रहेछ; आफू पुगेको ठाउँबाट अरूका लागि कति बाटो खोल्न सकियो ? भन्ने पनि रहेछ।
बेलायत र अमेरिकाको लगभग १५ वर्षको बसाइपछि नेपाल फर्केको यो पाँच महिनामा मैले नेपालका सबै कुरा बुझिसकेको छैन। यहाँका सबै समस्या समाधानमा योगदान गर्न सक्छु भन्ने पनि छैन।
तर जब देशमा कुनै विपत्ति आउँछ र संसारका विभिन्न कुनामा रहेका नेपालीहरू सहयोगका लागि जुटेको देख्छु, अनि आफूचाहिँ यहीँ छु भन्ने महसुस गर्छु; मनभित्र एउटा छुट्टै सन्तुष्टि हुँदो रहेछ। साथै, जब केही गर्न सक्ने र केही गर्ने हुटहुटी भएका युवाहरूलाई यहीँ बसेर विश्वस्तरीय सीप र ज्ञान बाँड्न सक्छु, त्यसले ठूलो आत्मसन्तुष्टि दिँदो रहेछ। यस्ता अन्य कैयौं उदाहरणहरू र अनुभवहरू छन्, जुन विदेशमा बस्दा अनुभव गर्न सम्भव हुँदैन।
अहिले मलाई लाग्न थालेको छ- नेपाल फर्किने निर्णयको सबैभन्दा ठूलो परिवर्तन मेरो बसाइमा होइन, मेरो दृष्टिमा आएको छ।
प्रतिक्रिया 4