८ असोज, काठमाडौं । गत भदौ १० गते रसुवागढी तथा भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको विस्तृत विवरण संकलन गर्न राष्ट्रिय योजना आयोगले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बाढीमा परी ज्यान गुमाएका, बेपत्ता भएका तथा घाइते भएका व्यक्तिहरूका साथै सम्पत्ति र व्यवसायको क्षति भएको विवरण आगामी असोज १५ गतेभित्र दर्ता गरिसक्न आयोगले बुधबार सूचना जारी गर्दै आग्रह गरेको छ।
बाढीपछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदन तयार गर्न तथा पुनर्निर्माण योजना र वित्तीय आवश्यकताको अनुमान गर्न मन्त्रिपरिषद्को भदौ १२ गतेको निर्णयअनुसार आयोगले यो विवरण संकलनको काम अघि बढाएको हो।
बाहिरी जिल्लाका प्रभावितलाई लक्षित
आयोगका अनुसार, बाढी प्रभावित रसुवा-भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि गएका मजदुर, तीर्थयात्री, पदयात्रामा गएका स्वदेशी तथा विदेशी पर्यटक, सामान लिन गएका सवारी चालक तथा सहचालकहरू विपद्मा परेका छन्। त्यहाँ अस्थायी रूपमा व्यापार व्यवसाय गरी बसेका कयौँ व्यक्तिहरू बेपत्ता भएको र केहीको निधन भएको सार्वजनिक भइसकेको छ।
यसरी अन्य जिल्ला वा स्थानबाट सो क्षेत्रमा पुगी विपद्मा परेका मृतक, बेपत्ता वा घाइतेका आफन्त तथा कानुनी हकवालाले आफ्नो सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव वा तोकिएका कर्मचारीमार्फत अनलाइन पोर्टलमा विवरण दर्ता गराउनुपर्नेछ।
स्थानीय तहहरूलाई पनि आफ्नो क्षेत्रका सम्भावित प्रभावित परिवार तथा आफन्तजनलाई यसबारे जानकारी गराई विवरण भर्न आवश्यक सहजीकरण तथा समन्वय गरिदिन आयोगले अनुरोध गरेको छ।
आयोगले क्षतिको यथार्थ विवरण संकलनका लागि अनलाइन पोर्टलको लिंक सार्वजनिक गरेको छ।

प्रतिक्रिया 4