+
+

बेलबारी दुर्घटना अपडेट :  मृतकको संख्या ३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ११:३५

१८ फागुन, विराटनगर । मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पूर्व-पश्चिम लोकमार्गको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा बोलेरोमा सवार दुई जनाको घटनास्थलमै  मृत्यु भएको थियो । एक जनाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका-२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको कोशी अस्पताल र कृष्णको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते कमल गाउँपालिका-४ का ४६ वर्षीय हरि खनाल र कमल-२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतक दीपा घाइते अवस्थाका हरिकी श्रीमती हुन् । मृतक यदुकान्त घाइते भएकी गायत्रीका श्रीमान् हुन् । गजुरेल बोलेरो चालक हुन् ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बसले बोलेरोलाई ओभरटेक गर्न खोज्दा तीन वटा सवारी जुधेको थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बससँग ठोक्किएपछि बसको पछाडि आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो ।

मृतक र घाइते बोलेरो जीपमा सवार थिए । टिपर चालक र बसमा सवार रहेकाहरु भने सकुशल छन् ।

ठक्करबाट बसको पछाडिको भागमा सामान्य क्षति भएको छ । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?