+
+

भक्तपुरमा १० दिनअघिको हत्या घटनामा संलग्नको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १२:५३

२० फागुन, काठमाडौं । भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका इन्स्पेक्टर निर्मल थापाले जानकारी दिए ।

१० फागुनमा गोपाल ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी सूचना आएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो ।

प्रहरीले ढकाल र सुवालबीच आपसी झगडापछि ढकालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ ।

उनीहरुबीच २/३ दिनअघि खाजाघरमा भेट भई चिनजान भएको थियो । चिनजान भएपछि सुवालले ढकाललाई आफू बस्ने घरमा लिएर गएका थिए । त्यसै क्रममा झगडा भई हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?