+
+

राजेश हमालको सुझाव : अभिनय सबैभन्दा असुरक्षित पेशा, ‘प्लान बी’ बनाएर आउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १२:४४

काठमाडौं । अभिनेता राजेश हमालले अभिनय सबैभन्दा असुरक्षित पेशा भएकाले ‘प्लान बी’ बनाएर आउन नयाँपुस्तालाई आग्रह गरेका छन् । सीतापाइलास्थित विल्सन एकेडेमीको २९ औं वार्षिकोत्सवमा बालबालिकासँगको अन्तरक्रियाका क्रममा अभिनेता हमालले यस्तो बताएका हुन् ।

अभिनयसँगै उनले पर्फमिङ आर्ट्सका अन्य विधाहरु फोटोग्राफी, खेलकुद र संगीत पनि नेपालमा असुरक्षित पेशाको रुपमा रहेको बताए । ‘अभिनय करिअर अरु पेशाजस्तो होइन । सुरुमा तिमीले यो सुनिश्चित गर्नुपर्छ कि तिमीलाई भित्रैदेखि इच्छा छ कि छैन ? अभिनय करिअर सजिलो पेशा होइन । अभिनय पेशा अरु पेशाजस्तो सुरक्षित छैन,’ उनले भने, ‘यसकारण अभिभावकले यो पेशामा लाग्न प्रोत्साहित गर्दैनन् ।’

उनले डाक्टर, इन्जिनियर, वकिलजस्ता पेशालाई सुरक्षित पेशाको रुपमा अर्थ्याए । ‘तिमी सेना, प्रहरी र शिक्षकजस्ता पेशामा पनि जान सक्छौ, यी सुरक्षित पेशा हुन् । यदि यी पेशामा वर्षौं काम गरेपछि अवकाश हुँदा तिमीले पेन्सन पाउँछौं । त्यसैले यी पेशालाई सुरक्षित भनिएको हो,’ बालबालिकाको प्रश्नको जवाफमा हमालले भने ।

उनले अभिनयजस्ता पर्फमिङ आर्ट्समा टिकिरहन मुस्किल हुने बताए । ‘यी पेशामा टिकिरहन तिमीले आफ्नो प्रतिभालाई निरन्तरता दिइराख्नुपर्छ । मागअनुसार आफूलाई प्रस्तुत गर्नुपर्छ । अन्यथा तिमी हराउने जोखिम रहिरहन्छ,’ हमालले भने ।

उनले यो मामिलामा आफू भाग्यमानी रहेको बताए । ‘यो कुरामा म धेरै भाग्यमानी रहें, किनभने ३५ वर्षदेखि यसलाई निरन्तरता दिइराखेको छु । मसँग धेरै सीईओ साथी छन् जसले दुई, चार पाँच वर्षसम्म योगदान दिन्छन् र जान्छन् । त्यसैले म भन्दैछु अभिनय असुरक्षित लाइन हो,’ हमालले भने ।

उनले अगाडि भने, ‘३४ वर्षअघि मलाई यो क्षेत्रमा हुन्छु या हुँदिन भन्ने थाहा थिएन । मेरो पहिलो फिल्म रिलिज हुँदा, मेरो दोस्रो फिल्म कहिले आउँछ भन्ने कुरा मलाई थाहा थिएन । मैले अहिले फिल्म गरिरहँदा अर्को वर्ष फिल्म गर्न सक्छु कि सक्दिन भन्नेमा म निश्चित पनि थिइनँ । प्रत्येक वर्ष मेरा लागि चुनौतीपूर्ण वर्ष थिए ।’

समय बित्दै जाँदा कलाकारलाई मानिसले मन नपराउन पनि सक्ने उनको विश्लेषण छ । उनले भने, ‘पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष पुग्दा मानिसले मलाई मन नपराउन सक्छन् । त्यसपछि मेरो करिअर रोकिन सक्छ । यसकारण म अभिनय क्षेत्रलाई असुरक्षित क्षेत्र भन्दैछु ।’

उनले शिक्षालाई प्राथमिकतामा राखनेर अघि बढ्न विद्यार्थीलाई सुझाए । हमालले भने, ‘आफूमा लगाव छ भने तिमीहरुले उच्च माध्यमिक शिक्षा अध्ययन गरेपछि मात्र यसबारे सोच्न सक्छौ । अहिल्यै सोच्नु हतार हुनसक्छ । पर्फमेन्स आर्ट्समा लाग्नुअघि पहिलो कुरा आफू के गर्न गइरहेको छु भन्ने कुरा बुझ्नुपर्छ । अर्को कुरा आत्मविश्वास हो । म डेलिभर गर्न सक्छु भन्ने बिन्दुमा पुगेर आत्मविश्वास पैदा भएमा लाग्न सक्नुहुन्छ । मैले आफूले उत्कृष्ट दिन सक्छु भन्ने कुरामा पनि निश्चित हुनुपर्छ ।’

हमालको सुझाव छ, ‘यो निकै असुरक्षित पेशा हो किनभने तिमी आफ्नो लगावबाट निर्देशित हुनुपर्छ । यदि तिमीले राम्रो अभिनय गर्‍यौ भने भोलि दर्शकले मन पराइदिएनन् भने के हुन्छ ? मेरो पहिलो फिल्ममा दर्शकले मेरो अभिनय र लुक्सलाई रुचाएनन् । दर्शकले मेरो हिंड्ने बोल्ने शैली मन पराएनन् भने म करिअर सकिन सक्छ । यसकारण तपाईं, वास्तवमै आत्मविश्वासी हुनुपर्छ । पर्फमिङ आर्ट्समा लाग्नुअघि तपाईंसँग सधैं प्लान बी हुनुपर्छ । यदि योजनाअनुसार भएन भने अर्को पेशामा लाग्नुपर्छ ।’

उक्त अवसरमा हमालले आफ्ना चर्चित डायलग समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?