+
+

भारतमा नेपालीलाई बैंक खाता खोल्नै कठिन

बैंक खाता नहुँदा एक पटकमा २ लाखसम्म नेपाल पठाउन सक्ने सुविधाबाट पनि नेपाली वञ्चित

भारत जान तथा काम गर्न भिसा तथा पासपोर्ट समेत नचाहिने नेपालीले बैंकमा खाता खोल्न भने करिब–करिब नसक्ने स्थिति छ । भारतमा अन्य देशका नागरिकले भने सजिलै बैंक खाता खोल्न सक्छन् ।

जनार्दन बराल जनार्दन बराल
२०८० फागुन २० गते १७:५८

२० फागुन, काठमाडौं । भारतमा नेपाली नागरिकले बैंक खाता खोल्न अत्यन्तै कठिनाइ भोगिरहेका छन् ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धि अनुरूप नेपाली तथा भारतीयले एकअर्को मुलुकमा बिना कुनै अवरोध आवतजावत गर्न तथा काम गर्न पाउँछन् । भारतमा नेपालीले सरकारी सेवामा समेत काम गर्न र घरजग्गा किन्न सक्छन् ।

भारत जान तथा काम गर्न भिसा तथा पासपोर्ट समेत नचाहिने नेपालीले बैंकमा खाता खोल्न भने करिब–करिब नसक्ने स्थिति छ ।

भारतमा अन्य देशका नागरिकले भने सजिलै बैंक खाता खोल्न सक्छन् । त्यसका लागि अन्य कागजातका अतिरिक्त अनिवार्य पासपोर्ट र कम्तीमा १ सय ८२ दिन (६ महिना) काम गर्न पाउने भिसा (इम्प्लोयमेन्ट भिसा) आवश्यक पर्छ ।

यो व्यवस्थाका कारण अन्य देशका नागरिकलाई भारतमा खाता खोल्न कुनै अप्ठेरो छैन । तर, नेपालीलाई भारत जान तथा त्यहाँ काम गर्न पासपोर्ट र भिसा आवश्यक नपर्ने व्यवस्था नै बैंक खाता खोल्न नपाउनुको कारण हो ।

नेपालीलाई भारतमा बैंक खाता खोल्न सहज व्यवस्था मिलाउन पहल गरिरहेको भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले जानकारी दिए ।

बैंक खाता खोल्न नपाउँदा त्यसले भारतमा काम गर्ने लाखौं नेपालीलाई समस्या पर्दै आएको एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले बताए ।

‘भारतमा लाखौं नेपाली कामको सिलसिलामा बसोबास गरिरहेका छन्,’ अध्यक्ष बरालले भने, ‘उनीहरूले बैंक खाता खोल्न असजिलो हुँदा बैंकिङ कारोबार मात्रै होइन, देशमा रेमिट्यान्स पठाउन पनि अप्ठ्यारो छ ।’

यो समस्या समाधानका लागि एभरेस्ट चेम्बर अफ कमर्सले लामो समयदेखि अनुरोध गर्दै आएको पनि उनले जानकारी दिए । ‘यो समस्या चाँडै समाधान हुने प्रतिबद्धता भारतले गरेको नेपाली राजदूतले बताउनुभएको छ,’ उनले भने ।

भारतमा विदेशीले बैंक खाता खोल्न के–के कागज चाहिन्छ ?

भारतमा आधार कार्ड हुने हो भने सजिलै बैंक खाता खोल्न सकिन्छ । तर, विदेशी नागरिकका हकमा कम्तीमा १ सय ८२ दिनको भिसा भएको पासपोर्टको नभई आधार कार्ड पनि बनाउन पाउँदैनन् । भिसा नहुने भएकै नेपालीले आधार कार्ड पनि लिन गाह्रो छ ।

आधार कार्ड नहुँदा पनि बैंक खाता खोल्न पाइन्छ । तर, त्यसका लागि पनि म्याद रहेको पासपोर्ट, त्यसमा कम्तीमा १ सय ८२ दिनको रोजगारी भिसा, विदेशी दर्ता कार्यालय (एफआरओ) को अनुमति, विदेशको ठेगानाको प्रमाण, भारतको ठेगानाको प्रमाण, स्थायी लेखा नम्बर (पान) कार्ड वा फर्म ६०, रोजगारदाताको पत्र वा करारपत्र तथा पासपोर्ट साइजको फोटो चाहिन्छ । नेपालीलाई भारतमा यात्रा गर्न पासपोर्ट तथा भिसा दुवै चाहिन्न । त्यति मात्रै होइन, नेपालीलाई भारतमा काम गर्न श्रम स्वीकृति पनि आवश्यक पर्दैन ।

यस्तो अवस्थामा नेपाली पासपोर्ट, नागरिकता वा अन्य सरकारी परिचयपत्रका आधारमा बैंक खाता खोल्ने सुविधा दिन अनुरोध गरेको र त्यसमा भारत सरकार सकारात्मक रहेको राजदूत शर्माले जानकारी दिए ।

‘भारतको विदेश मन्त्रालयले यति नै अवधिमा समस्या समाधान हुन्छ त भनेको छैन, तर चाँडै नै नेपालीले भारतका बैंकमा खाता खोल्ने व्यवस्था गरिदने विश्वास दिलाएको छ,’ राजदूत शर्माले भने

हाल भारतमा नेपालीले बसोबास प्रमाणपत्रका आधारमा बैंक खाता खोल्न पाउने भए पनि त्यसरी खाता खोल्ने प्रक्रिया सहज भने छैन ।

एकपटकमा २ लाख भारुसम्म नेपाल पठाउन पाइन्छ, तर बैंक खाता नहुँदा सुविधा भएन

भारतको बैंक खाताबाट एक पटकमा २ लाख भारुसम्म नेपाल पठाउन पाउने व्यवस्था भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले गरेको छ । तर, नेपालीको बैंक खाता नै नहुँदा त्यो सुविधा उनीहरूले प्रयोग गर्न पाएका छैनन् ।

विगतमा भारतबाट नेपालमा एक पटकमा ५० हजारसम्म पठाउन पाइने व्यवस्था थियो । यसरी पैसा पठाउँदा वर्षमा १२ पटकसम्म मात्रै पठाउन पाइन्थ्यो । तर, दुई वर्षअघि सन् २०२१ बाट भने रिजर्भ बैंक अफ इन्डियाले बैंक खाताका माध्यमबाट नेपालमा एक पटकमा २ लाख भारुसम्म पठाउन पाउने व्यवस्था गरेको थियो । बैंकमार्फत पैसा पठाउँदा एक पटकमा २ लाखका दरले जतिपटक पनि पैसा पठाउन पाइन्छ ।

बैंक खाता नहुनेका लागि भने पुरानो व्यवस्था अर्थात् एक पटकमा ५० हजार रुपैयाँमा वर्षको १२ पटक पठाउन पाइने व्यवस्था कायमै छ ।

नेपालीले नगदै बोकेर घर फर्कन नपरोस् र औपचारिक स्रोतबाट रेमिट्यान्स भित्रियोस् भनेर नेपाल सरकार तथा दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको राजदूत शर्माले बताए ।

‘नगदै बोकेर हिँड्दा हराउन सक्छ, सीमा क्षेत्रमा लुटपाट हुने घटना पनि बारम्बार भइरहन्छन्,’ उनले भने, ‘त्यो समस्या समाधानका लागि बैंकमार्फत रेमिट्यान्स पठाउन सजिलो बनाइएको छ । नेपालीको बैंक खाता खोल्न सहज व्यवस्था भयो भने त्यसले भारतमा कारोबार गर्न तथा पैसा नेपाल पठाउन समेत सजिलो हुनेछ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?