+
+

प्रिमनसुन अवधि सुरु भएपछि पहिलो पटक वर्षा, भोलिदेखि मौसम सुधार हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २०:०५

२० फागुन, काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ ।

काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।

यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको र काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा पनि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन अवधि गत शुक्रबारदेखि नै सुरु भए पनि सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविन रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कर्णाली प्रदेशमा बढी बदली छ ।

बदली र वर्षाको क्रम आज रातिसम्म कायम रहने पूर्वानुमान छ । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने छ । भोलि सोमबारदेखि भने मौसममा क्रमशः सुधार देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?