+
+

परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १२:५०

२४ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् ।

टेलिफोन वार्तामा रुसी सेनामा भर्ती भएकाहरूको स्वदेश फिर्ती, रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा अंगभंग भएका र ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र मृतकको शव फिर्ताका विषयमा कुरा हुने परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।

‘रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्नुपर्छ भन्ने कुरा प्रमुख हो । ज्यान गुमाएका, अंगभंग भएका र अलपत्र परेकाहरूको क्षतिपूर्तिको विषय पनि हाम्रो प्राथमिकतामा छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग टेलिफोन वार्ता गर्ने तय भएको हो ।

नेपालले आफ्ना नागरिकलाई सेनामा भर्ती नलिन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाइदिन र अंगभंग भएकाको विवरणका साथै क्षतिपूर्ति समेत उपलब्ध गराउन अनुरोध गर्दै आएको छ । तर अहिलेसम्म रुससँग नेपालले प्रत्यक्ष संवाद गर्न सकिरहेको छैन ।

यसअघि निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डा भ्रमणका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग यस विषयमा अनुरोध गरेका थिए भने नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर आग्रह गरेका थिए । तर त्यसको सुनुवाइ भइरहेको छैन । रुसले आफ्नो सुरक्षा फौजमा भर्ती गरिएका नेपालीको विवरण समेत अहिलेम्म नेपाललाई दिएको छैन ।

नेपाल सरकारलाई रुसी रक्षा मन्त्रालयले पठाएको विवरणअनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत १२ जनाको ज्यान गएको छ । त्यसबाहेक बाँकी कति संख्यामा नेपालीहरू रुसी सेनामा कार्यरत छन् र उनीहरूको अवस्था के छ भन्ने बारेमा जानकारी नेपालसँग छैन ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा भने २०० भन्दा बढीका परिवारले उद्धारका लागि आग्रह गर्दै निवेदन दिएका छन् ।
साथै, केही समयअघि मात्रै रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई दिने क्षतिपूर्ति दूतावासमार्फत उपलब्ध गराउन तयार भएको थियो ।

मृतकका परिवारका सदस्य रुस पुगेरै क्षतिपूर्ति लिनुपर्ने बताइरहँदा परराष्ट्र मन्त्रालयको पहलपछि रुस दूतावासमार्फत क्षतिपूर्ति दिन तयार भएको थियो ।

रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्योलमा परेको थियो ।

नयाँ गठबन्धन बनेपछि बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री श्रेष्ठले पाएपछि बिहीबार उक्त वार्ता हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?