+
+

संसदमा कांग्रेसले भन्यो : प्रधानमन्त्रीले कांग्रेसमाथि विश्वासघात र जनमतको अपमान गरे

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १३:२५

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको टिप्पणी गरे ।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात गरेको बताए ।

‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्‍यो यो राजनीतिक बेइमानी हो ।’

व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।

‘यो व्यक्तिगत सम्बन्धमा आधारित भएर गरिएको निर्णय होइन, आज पनि मेरा आदरणीय नेता प्रचण्डप्रति उत्तिकै सम्मान छ । तर राजनीतिक रुपमा इमान भएन, इमान नभएको हुनाले बेइमान भनिएको हो’, उनले भने ।

कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको नेता लेखकले बताए ।

आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।

‘यी कारणले कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय समितिको बैठकबाट समर्थन फिर्ताको निर्णय लिएको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?