+
+

साफ यू-१६ महिला फुटबलमा भारतसित सोच्दै नसोचेको हार

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन २४ गते २०:३९

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्दै उपाधि जित्ने नेपाली यू-१६ महिला फुटबल टिमको चाहना अधुरै रह्यो ।

च्याम्पियनसिप अन्तर्गत बिहीबार भारतविरुद्ध नेपालको प्रदर्शन लज्जास्पद नै रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भएको खेलमा नेपाली टोलीले खेल्नै बिर्सेको हो कि जस्तो प्रदर्शन गर्‍यो ।

नतिजा भारत १०-० ले विजयी भयो । एकपक्षीय जस्तै बनेको खेलमा आरामदायी जितपछि भारतले फाइनलमा बंगलादेशसँग भेट पक्का गर्दा नेपाल भने लिग चरणबाटै बाहिरियो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालको प्रदर्शन एक जित र दुई हार रह्यो ।

प्रतियोगिताभर ३ खेल खेल्दा नेपालले जम्मा ३ गोल मात्र गर्न सक्यो भने १२ गोल बेहोर्‍यो । नेपाल गरेको गोल भुटान विरुद्ध थियो । बंगलादेशसँग पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

भारतसँग फराकिलो हारपछि नेपाली यू-१६ महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङ निराश देखिन्थे । उनले कम्तीमा पनि नेपाली युवा टोलीलाई फाइनल पुर्‍याउने लक्ष्य राखेका थिए । तर नेपालले जम्मा एक खेल मात्र जित्न सक्यो र फाइनल पुग्न असफल भयो ।

भारतसँगको हारलाई प्रशिक्षक तामाङले नसोचेको प्रदर्शन रहेको बताए । ‘आज सोच्दै नसोचेको प्रदर्शन खेलाडीबाट भयो । सुरुमै तालमेल पनि मिलेन । बल हान्न पनि बिर्सेको जस्तो देखियो,’ तामाङले भने ।

सुरुको १५ मिनेट सम्हालिएर खेल्ने लक्ष्य बनाए पनि त्यसमा सफल हुन नसकेको उनको भनाइ थियो ।  ‘सुरुको १५ मिनेट सम्हालिएर खेल्नुपर्ने उल्दै गोल खायो । आज दबाबै दबाबमा खेलाडीले सम्हाल्न सकेनन् । ९० मिनेट नै सम्हाल्न सकेनन् ।’

भारत विरुद्ध जित्नैपर्ने खेल भएकोले प्रशिक्षक तामाङले नेपालको फर्मेसन पनि परिवर्तन गर्दै खेलाएका थिए । तर त्यो फर्मेसनले पनि काम गरेन । ‘फर्मेसन चेन्ज गर्दा पनि अली कठिन भयो । हामीलाई आज स्कोर पनि चाहिएको थियो । फाइनल पुग्न गोल गरेर जित्नुपर्ने थियो । डिफेन्ड पनि गर्नुपर्ने थियो । त्यसले ४-४-२ हामीले चेन्ज गरेर आज ४-१-४-१ मा खेलाएका थियौं, तर प्रशिक्षकको रणनीतिले काम भने गरेन ।’

फर्मेसन परिवर्तन गर्दा नेपालले भारतविरुद्ध सुरुदेखि नै सम्हालिन पाएन । भारतले सुरुमा नेपालको क्षेत्रमा लगातार आक्रमण गर्दा नेपालको डिफेण्स निकै कमजोर देखिएको थियो ।

भारतको टिम शारीरिक मानसिक सबै किसिमले बलियो रहेको र नेपाली टिमले दबाब लिएर खेलेको प्रशिक्षक तामाङले बताए ।

‘आज जित्न नसक्नुको मुख्य कारण भनेको खेलाडीमा नर्भसनेस र गोल नहुनुपर्ने समयमा गोल खानु हो । खेलाडीहरुले आफैंमा दबाब लिएर खेले । आफ्नै गल्तीमा गोल खायौं,’ उनले भने ।

प्रशिक्षक तामाङले छोटो समयमको तयारीमा बावजुत पनि सुरुको दुई खेल राम्रो खेलेको तर आजको खेल भने नराम्रो भएको स्वीकारे । ‘समग्रमा टुर्नामेन्ट हेर्दा पहिलो र दोस्रो र खेलको नतिजा ठिकै थियो । आजको नतिजा हेर्दा चाहीँ नराम्रो भन्नुपर्छ ।’

नेपाल खुल्ला छनोट मार्फत नयाँ खेलाडीहरु जम्मा गरेर करिब एक महिनाको मात्र प्रशिक्षण गरेको थियो ।

सन् २०२२ मा बंगलादेशमा भएको साफ यू-१५ वुमन्स च्याम्पियनसिप जित्दाको सदस्य भूमिका बुढाथोकी बाहेक अन्य सबै खेलाडीका लागि अन्तर्राष्ट्रिय खेल नै पहिलो अनुभव थियो । त्यसैले पनि धेरै खेलाडीका लागि नौलो अनुभव भयो ।

‘तयारीको समय बढी भएको भए निश्चित रुपमा राम्रो हुन्थ्यो । तर मुख्य समस्या के हो भने स्काउटिङमा कस्ता खेलाडीहरु आए उनीहरुको स्तर कस्तो थियो भन्ने हो,’ प्रशिक्षक तामाङले भने, ‘हामीले १२० जनाबाट अहिले टिममा भएका खेलाडीहरु छनोट गरेका हौँ । त्यसमा राम्रो खेलाडीहरु छनोट गर्दा यस्तो टिम बनेको हो ।’

उनले सुरुमा छनोट गरेका खेलाडीहरुको उमेर बढी हुँदा त्यस बाहेकका बाँकी खेलाडी छनोट गर्नुपरेको बताए । ‘हामीले सुरुमा खेलाडीहरु राम्रो छनोट गर्दा उनीहरु सबै ओभर एजको भए । त्यसले गर्दा हामीले अरु खेलाडी छनोट गर्नुपर्‍यो ।’

ग्रासरुट नहुँदा उमेर समूहको टिमले राम्रो गर्न नसकेको उनले बताए । ‘ग्रासरुट बलियो हुनुपर्छ । क्लबहरुमा एकेडेमी राख्नुपर्छ । त्यसले गर्दा राम्रो हुने हो । तर त्यसो नहुँदा पनि कठिन भयो ।’

भारतीय प्रशिक्षक बीबी थोमसले बंगलादेशसँग पनि राम्रो खेलेपनि नतिजा नआएको र आज नेपाल विरुद्ध भने सफल भएको बताए । ‘हामीले बल आफूसँग राख्ने र अधिकांश समय विपक्षीको हाफमा खेल्ने रणनीति थियो । अनी अट्याक गर्ने । त्यसमा सफल भयौं ।’

फाइनल पुगेको दुवै टिम राम्रो भएको र उपाधिकै लागि खेल्ने उनले बताए । ‘फाइनल महत्वपूर्ण हुनेछ र हामी राम्रो तयारी गरेर जितकै लागि खेल्नेछौं,’ भारतीय प्रशिक्षकले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?