+
+
पुस्तक समीक्षा :

कलात्मक गीतहरुको संग्रह ‘माया गर्नुको अर्थ’ 

डा. ऋषि बस्ताकोटी  डा. ऋषि बस्ताकोटी 
२०८० फागुन २६ गते ९:३८

शिव पलाँसको गीत संग्रह ‘माया गर्नुको अर्थ’ केही समयअघि बजारमा आएको छ। स्याङ्जाको हरिनास-१, सालडाँडामा जन्मिएर हाल अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्ने शिव पलाँस करिब दुई दशकदेखि नेपाली साहित्यको क्षेत्रमा सुनिंदै तथा पढिंदै आएको नाम भए पनि ‘माया गर्नुको अर्थ’ उनको पहिलो प्रकाशित कृति हो। राष्ट्रियस्तरका पत्रपत्रिकामा उनका गीत, गजल, मुक्तक, कविता र समीक्षा पनि बाक्लै प्रकाशित भएका छन्। करिब तीन दर्जन गीतहरु संगीतबद्ध भएर रेकर्ड समेत भएका छन्। ख्याति प्राप्त गायक-गायिकाले गाएका उनका गीतहरु रेडियो, टेलिभिजन र युट्युब मार्फत धेरै श्रोताहरुले सुनेको भए पनि ती गीतका गीतकार शिव पलाँस हुन् भन्ने चाहिं धेरैलाई थाहा नहुन सक्छ।

आवरण प्रकाशनले बजारमा ल्याएको गीति संचयन ‘माया गर्नुको अर्थ’ भित्र शिव पलाँसका विभिन्न भावधाराका एकासी वटा गीतहरु समावेश छन्। पुस्तकमा वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको ‘पलाँसको सुगन्ध’ शीर्षकमा भूमिका रहेको छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व गरिरहेका गोवर्धन पूजाको ‘जहाँ विश्वास फुलेका छन्’ शीर्षकमा शुभकामना मन्तव्य समाविष्ट छ। यसका अतिरिक्त शिवका गीतहरुमा वरिष्ठ गीतकार राजेन्द्र रिजाल, संगीत साधक राजु सिंह र गायक कर्णदासका संक्षिप्त मन्तव्य समेत अटेका छन्।

बी.बी. अनुरागीको संगीत र शिशिर योगीको स्वरमा करिब डेढ दशकअघि नै रेकर्ड भएको चर्चित गीत ‘माया गर्नुको अर्थ’ बाट यो गीति संचयनको नामकरण गरिएको छ। संचयनमा प्रकाशित एकासी वटा गीतहरु मध्ये अठार वटा गीतहरु यसअघि नै संगीतबद्ध गरी  दीप श्रेष्ठ, नरेन्द्र प्यासी, कर्ण दास, शिशिर योगी, रामकृष्ण ढकाल, मनोजराज, स्वरुपराज आचार्य, प्रमोद खरेल, सन्तोष रुचाल, ईश्वर अविरल, रचना रिमाल, रमेश कडरिया, अनुजा कडरिया लगायत नेपालका पुराना तथा नयाँ गायक-गायिकाको स्वरमा रेकर्ड भइसकेका छन्। गाइएका गीतहरु यसअघि नै विभिन्न प्रसारण माध्यमबाट श्रोता  एवम्  दर्शकसमक्ष परिचित छन्। यी बाहेक अन्य गीतहरु पनि प्रायशः यस अगाडि नै विभिन्न साहित्यिक प्रकाशनहरुमा प्रकाशित छन्।

शिव पलाँस गीतलाई अनुभव र अनुभूतिहरुको सङ्लो प्रतिविम्ब मान्छन्। त्यसैले जीवनका रङ्ग जस्ता छन् गीतका रङ्ग पनि उस्तै उस्तै हुन्छन् भन्ने उनलाई लाग्छ। उनका गीतमा जीवनका आरोह-अवरोह, हर्ष-विस्मात, प्राप्ति-अप्राप्ति, प्रेम-तिरस्कार, खुशी-पीडा आदि सबै सबै गीतका पाटाहरु  समेटिएका छन्। ‘माया गर्नुको अर्थ’ भित्र समेटिएका एकासी गीतहरुमा  विभिन्न भावधारा, विविध शैली र विविध विषयवस्तु समेटिएका छन्। उनका गीतमा समेटिएका विषयवस्तु  अत्यन्त नवीन र मौलिक होइनन् तथापि गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन्। शब्दहरु सरल छन् तर ती शब्दहरुले बोक्ने भाव गम्भीर छन्। उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलित भएका छन्।

माया गर्नुको अर्थ सिउँदो भर्नु होइन   

सिउँदो भर्नुको अर्थ माया गर्नु होइन  (पृष्ठ १९)  

होस् कि

आगो भन्ने जान्दा जान्दै हात हालें पिरतीमा  

माया अन्धो हुँदोरहेछ ज्यानै फालें पिरतीमा (पृष्ठ २९)   

यी पङ्ति पढ्दा पाठकको मन ढक्क हुन्छ। सुन्दा श्रोताको दिमाग खलबलिन्छ। सरल शब्द टिपेर पनि कसरी गहिरो मनोविज्ञान सम्प्रेषण गर्न सकिन्छ भन्ने साक्ष्यका रुपमा यी हरफहरुलाई लिन सकिन्छ।

खुकुरीलाई अचानोमा हान्न पाए पुग्छ   

काट्नेलाई त खुशी लाग्छ काटिनेलाई दुख्छ (पृष्ठ ३२) 

अजम्मरी घाउ भयो दर्द भयो माया  

आफ्नै गला रेटिदिने कर्द भयो माया (पृष्ठ ४५)  

संग्रहभित्रका यस्ता पंक्तिहरूमा शिवले प्रेम पीडाको नमीठो अनुभूतिलाई सरल शिल्पमा खिपेका छन्। यसरी हेर्दा शिव पलाँस वियोगान्त गीतहरुमा राम्रै जमेको प्रतीत हुन्छ। त्यसो त उनले रतिरागात्मक  गीतहरुमा  पनि  कलम नचलाएका होइनन्। कतिपय गीतहरुमा उनी आफ्नी मायालुलाई प्रेम प्रस्ताव राख्न र सौन्दर्यको बखान गर्न पनि पछि परेका छैनन्। कतै उनी चोखो माया धन-सम्पत्तिमा होइन मनमा हुन्छ भन्छन् भने कतै चाहिं रुपको बखान गरेर रुमानी प्रेममा अल्झिन्छन्।

मनमा राख मलाई महलमा हैन   

चोखो माया सिवाय केही चाहिंदैन (पृष्ठ ६९)

मान्छे भुइँमा ढल्छ तिम्रो बैंस देखेपछि  

दिमाग उल्टो चल्छ तिम्रो बैंस देखेपछि (पृष्ठ ७७)  

शिव पलाँस यतिखेर प्रवासमा छन्। रोजीरोटीका लागि सपनाको देशमा छन्। तर भावनामा भने आफ्नै जन्मभूमि बोकी हिंडेका छन्। सपनाको देशमा बसे पनि आफ्नै मातृभूमिको सपना देख्छन्। स्वदेशकै पीडामा प्रताडित हुन्छन्। अलिकति आशाको झुल्के घाम देखे भने खुशीले पुलकित हुन्छन्। उनले आफ्नो देशप्रेमको मनोभाव पनि यो पुस्तकको क्यानभासमा पोतेका छन्।

उठौं, जुटौं, मुठ्ठी कसौं, लड्ने बेला भयो   

सिमानामा देशको झन्डा गाड्ने बेला भयो (पृष्ठ ४९)  

 

जन्मेर  मैले जुन माटो टेकें सलाम त्यो माटोलाई   

लक्ष्यमा पुग्न जुन बाटो टेकें सलाम त्यो बाटोलाई (पृष्ठ ७५)  

शिव आफ्नो भूगोलबाट टाढा हुनुपर्दा भावनामा निकै छटपटाउँछन्। आफूले टेकेको माटो, आफूले हिंडेको बाटो, साथीसंगी सबै–सबैबाट टाढिएर सपनाको जहाज चढे पनि भौतिक सुखको क्षितिजभित्र आत्मिक सन्तुष्टि नभेटिने अनुभूति गर्छन् उनी। खासगरी चाडपर्व र बृद्ध आमा–बा उनी निकै ‘मिस’ गर्छन्।

छोएन मलाई दशैंले पनि छोएन तिहारले   

न टीका पायो न आशिष पायो अभागी निधारले  

मुटुका टुक्रा छोरा र छोरी नहुँदा काखमा   

छल्केर माया पोखियो होला आमाको आँखामा  (पृष्ठ ३७)  

शिवका केही गीतमा सामाजिक न्याय बोलेको छ। समाजको अन्धविश्वास, कुरीति र थिचोमिचो विरुद्ध पनि उनको सचेत कलम चलेको छ। श्रमको मूल्य हुनुपर्ने, जातीय र वर्गीय आधारमा कसैमाथि पनि विभेद हुन नहुने कुरा उनका केही गीतमा उठेका छन्।

जसले सिउँछ देशको लागि चन्द्र, सूर्य झन्डा   

उ कसरी सानो हुन्छ अरु मान्छे भन्दा (पृष्ठ ३४)    

यो गीति संग्रहभित्रका केही गीतमा गम्भीर किसिमले जीवन दर्शन आएको छ। सिधा बोल्नु साहित्य होइन। यसमा उनी सचेत छन्। त्यसैले उनले अनेक बिम्ब र प्रतीकको सहारा लिएर आफ्ना कुरा अभिव्यक्त गरेका छन्।

सागर भेट्न जाने हो कि बगरैमा सुक्छ   

खोला जस्तो जिन्दगी यो बग्दै कहाँ पुग्छ (पृष्ठ ३३)  

एउटा बुढो रूख हुँ म पातहरु झर्न थाले  

छहारीमा बस्नेहरु अन्तै बसाइँ सर्न थाले (पृष्ठ ४१) 

शिव पलाँसका केही गीतमा जीवनका विसङ्गत पक्षको चित्र पनि  उतारिएको छ। उनी जीवनलाई दुखिरहने घाउ भन्दछन् भने जीवनयात्राको गन्तव्य त घाट पो रहेछ भनेर पनि लेख्छन्।

जीवनभन्दा धेरै दुख्ने घाउ भेटिएन  

मृत्युभन्दा पर पुग्ने ठाउँ भेटिएन (पृष्ठ ९९)  

पलाँसलाई वासना नआउने फूलको उपमा दिइन्छ। शिवले आफूभित्र किन वासना देखेनन् र नामको पछाडि पलाँस फुर्को जोडे त्यो त उनै जानुन् तर पाठक श्रोताले भने उनका सृजनाभित्र प्रचुर मात्रामा सुगन्ध भेट्छन्। शिवले ‘माया गर्नुको अर्थ’ भित्र जीवन भोगाइको क्रममा देखेका, भोगेका र अनुभूत गरेका कुरा लेखेका छन्। सरल शब्दलाई जादुमय तरिकाले खिपेर गीत सृजना गर्न सक्ने कोमल, सुललित अलंकारहरुको प्रयोग गर्न सक्ने खुबीले समकालीन गीतकारहरुमा शिवको आफ्नो भिन्दै पहिचान स्थापित भएको छ।

उनका गीत पठनमा साहित्यिक त छँदैछन् गायनमा समेत ध्वनि, लय, गति राम्रोसँग मिलेर आएका छन्। पछिल्लो समय कतिपय गीतहरु संगीतकारले धुन भरेर गायक, गायिकाले गाएपछि मात्रै गीत जस्तो लाग्ने गरेकोमा उनका गीत पढ्दैमा लय, छन्द र मात्रा मिलेर भित्रैदेखि संगीत मिसिएर आएका छन्। संग्रहभित्रका केही गीतहरु संरचनाका हिसाबले औसत खालका पनि छन् तर बहुसंख्यक गीतहरु साहित्यिक र गेयात्मक दुवै दृष्टिकोणले उच्चकोटिका छन्। यसैले ‘माया गर्नुको अर्थ’ लाई नेपाली गीति साहित्यमा एउटा महत्वपूर्ण प्राप्तिको रुपमा लिन सकिन्छ। यसले शिव पलाँसको गीतकार व्यक्तित्वलाई स्थापित गराउने कुरामा पनि दुईमत छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?