+
+

कार्यालय सहयोगीले नायबसुब्बाको परिचय पत्र झुण्ड्याएपछि …   

रासस रासस
२०८० फागुन २७ गते ७:०८

२७ फागुन, सिराहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्याक्टर मिलाइदिने आश्वासन दिंदै लाखौं रकम असुल गरी फरार भएका छन् ।

अहिले पीडित किसान आफूहरूले अनुदानको ट्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् ।

पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए ।

पीडितले पटक-पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ ।

प्रहरी कार्यालय सिराहाका अनुसार कर्ण फरार रहेको र खोजी जारी रहेको छ । सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने छ बताए ।

आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताए ।

उनले भने, ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो । तर, अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै ।’

उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो ।

महतोजस्तै सुखीपुर नगरपालिका-५ का राजकिशोर यादव पनि ठगी गरी कर्ण फरार भएपछि आफू मानसिक तनावमा परेको बताए ।

यादवमार्फत सिराहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ स्थानीयले जम्मा ९६ लाख कर्णलाई ट्याक्टर पाउने आश्वासनमा बुझाएको जानकारी दिए ।

उनका अनुसार प्रत्येक पीडित व्यक्तिबाट पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिए ।

पीडितहरुको यकिन तथ्यांक नभए पनि सयौंको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन् ।

उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् ।

फरार कर्णको सिराहा नगरपालिका-१० स्थायी घर हो । अहिले दैनिक दर्जनौं पीडित व्यक्ति घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेवलाल कर्णले जानकारी दिए ।

छोराको बदमासीका कारण यतिबेला आफू तनावमा परेको जनाउँदै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उनले बताए ।

कृषि ज्ञान केन्द्र सिराहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ ।

पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए ।

कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?