+
+

बंगलादेशमा ६.२५ देखि ६.५ अमेरिकी सेन्टमा विद्युत् निर्यात हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते २२:११

२८ फागुन, काठमाडौं । नेपालले निर्यात गर्ने विद्युत्को विक्री दरमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच समझदारी बनेको छ । हालै विश्वबैंकको एक कार्यक्रमका क्रममा सिंगापुरमा दुई देशका ऊर्जा सचिवहरुको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बीपीडीबीका अध्यक्ष महबुबुर रहमानबीच विद्युतको दरबारे सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

‘यस विषयमा औपचारिक सहमति प्राधिकरण र बंगलादेशको बोर्डबीचको बैठकबाटै हुन्छ, तर दुई देशका अधिकारीहरुबीच सिंगापुरमा भएको वार्तामा दरका बारेमा अनौपचारिक सहमति जुटेको बुझिएको छ,’ उनले भने ।

नेपालले बंगलादेशलाई पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यातको तयारी गरिरहेको छ । त्यही विद्युत् निर्यातको दर तय गर्न दुई देशका अधिकारीहरुबीच वार्ता चलिरहेको छ ।

प्राधिकरण र बोर्डबीच अमेरिकी डलरमा विद्युत् खरिद-विक्रीको सम्झौता हुनेछ । तर, प्रतियुनिट ८ देखि ९ रुपैयाँको बीचमा विक्री दर रहनेगरी समझदारी भएको आफूले बुझेको सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण स्रोतले भने प्रतियुनिट ६.२५ सेन्टदेखि ६.५० सेन्टसम्मको बीचमा विक्री दर हुने समझदारी भएको जानकारी दिएको छ ।

‘हामी बंगलादेशमा वार्तामा बस्दा प्राधिकरणले ७ सेन्ट प्रतियुनिट प्रस्ताव गरेको थियो, बंगलादेशले ४ सेन्ट हाराहारीमा प्रस्ताव थियो । त्यसबेला दुई देशका अधिकारीहरुबीचको वार्तामा यो भिन्नतालाई कम गर्ने प्रयास भएको थियो । तर, सिंगापुरको वार्तामा भने हामीले प्रस्ताव गरेकै दरको नजिक पुगेर समझदारी भएको छ,’ प्राधिकरण स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

बंगलादेश पावर डेभलपमेन्ट बोर्ड

यसअघि १० फागुनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले विद्युत विक्रीको वार्ता गर्न बंगलादेश गएको थियो । एक दिनका लागि मात्रै भएको सो वार्ता विनानिष्कर्ष टुंगिएको थियो । त्यसलगत्तै दुवै देशका अधिकारीहरु सिंगापुरको भ्रमणमा जाँदै गरेकाले त्यहीँ थप वार्ता गर्ने समझदारी भएको थियो । त्यसैअनुरुप सिंगापुरमा दुई मुलुकका सचिवहरुकै उपस्थितिमा वार्ता गरी दरमा समझदारी कायम गरिएको हो ।

प्राधिकरण र बोर्डबीचको विद्युत् खरिदविक्रीको दर बंगलादेश सरकारले पनि अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसो हुँदा सचिवकै उपस्थितिमा भएको सहमतिलाई नेपालले महत्वपूर्ण रुपमा लिएको छ ।

नेपालसँग विद्युत् आयात गर्ने विषयलाई बंगलादेशले महत्वका साथ लिएको त्यहाँका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले बताएका छन् । अर्को महिनाभित्र नेपालबाट विद्युत् खरिदको सम्झौता हुने अपेक्षा रहेको पनि उनले बीबीसीसँग बताएका छन् ।

‘नेपालसँग विद्युत् खरिदका लागि एक वर्षदेखि वार्ता भइरहेको छ, यो अहिले अन्तिम चरणमा पुगेको छ,’ उनले हालै बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘नेपालको विद्युत् भारत हुँदै आयात गर्नुपर्ने हुनाले हामी भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)सँग पनि व्यापारको मार्जिन कति हुने भन्ने विषयमा वार्ता गरिरहेका छौं, ह्विलिङ चार्ज कति हुने भन्ने विषय टुंगिसकेको छ ।’ बंगलादेशले त्यस विषयमा एनभीभीएनको प्रतिक्रिया कुरिरहेको पनि राज्यमन्त्री हमिदले बताएका छन् ।

त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच सम्झौता हुनुपर्ने छ । नेपालबाट भारतको ग्रिड हुँदै बंगलादेश विद्युत् आयात हुने विषय ९० प्रतिशत टुंगिसकेको पनि उनले बीबीसीलाई बताएका छन् । तर, नेपालसँग सम्झौता नभईकन मूल्य  सार्वजनिक नगर्ने उनले बताए ।

यसअघि, बंगलादेशको बोर्डले नेपालबाट विद्युत् खरिदका लागि प्रतिस्पर्धात्मक टेन्डर आह्वान गरेको थियो । नेपालबाट विद्युत् निर्यात अनुमति प्राधिकरणलाई मात्रै भएकाले त्यसमा उसको मात्रै प्रस्ताव परेको थियो ।

त्यसबेला प्राधिकरणले बंगलादेशलाई प्रतियुनिट ७ अमेरिकी सेन्ट हाराहारी विद्युत् निर्यात प्रस्ताव गरेको थियो ।

तर, त्यो दरलाई कम गर्नुपर्ने प्रस्ताव बंगलादेशले गरेपछि प्राधिकरणले भारत निर्यात गरिरहेको दरभन्दा कममा भने विद्युत् निर्यात गर्न नसक्ने अडान राखेको थियो । भारतमा ५ रुपैयाँ २५ पैसा भारतीय रुपैयाँ (८ रुपैयाँ ५० पैसा) का दरले २ सय मेगाावट विद्युत निर्यात गर्ने सम्झौता भएको छ ।

सिंगापुरमा भएको वार्तामा सोही दरमा मिल्ने गरी बंगलादेशसँग विक्री दर तय भएको प्राधिकरण स्रोतले बतायो । प्राधिकरणले अलि लामो अवधिमा पनि भारत निर्यात गरिरहेको दरमा विद्युत् उपलब्ध गराउन तयार रहेको बताएको छ ।

२३ मेगावाटको त्रिशुली र १९ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् बंगलादेशलाई बिक्री गर्ने प्राधिकरणले जनाएको छ ।

गत २० मंसिरमा बंगलादेशका अर्थमन्त्री मुस्तफा कमलको नेतृत्वको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डको प्रस्ताव स्वीकृत गरेको थियो ।

अबको केही सातामै बंगलादेशको बीपीडीबी र प्राधिकरणबीच औपचारिक रुपमा विद्युत् खरिदविक्री सम्झौता हुने प्राधिकरण स्रोतको भनाइ छ । सो सम्झौतालाई त्यहाँको मन्त्रिपरिषद्को सरकारी खरिद कमिटीले स्वीकृत गर्नुपर्ने हुन्छ ।

यही वर्षको बर्खामै नेपालबाट विद्युत् निर्यातको थालनी गर्नेमा दुवै देशका प्रतिनिधिहरु प्रतिबद्ध भएर लागेका छन् ।

त्रिपक्षीय सम्झौता महत्वपूर्ण

४० मेगावाट विद्युत् निर्यातका लागि भारतको भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने हुन्छ । हाल भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)बाट बंगलादेशले विद्युत् आयात गरिरहेको छ ।

भारतले आफ्नो प्रसारण लाइन हुँदै नेपाललाई विद्युत् निर्यात गर्न दिन सहमति पनि जनाइसकेको छ । तर, यससम्बन्धी त्रिपक्षीय सम्झौता भने हुन बाँकी छ ।

 

त्यसका लागि एनभीभीएनसँग बंगलादेशले वार्ता गरिरहेको राज्यमन्त्री हमिदले बताएका छन् । बंगलादेश विद्युत् निर्यात गर्दा एनभीभीएनलाई तिर्नुपर्ने ‘ह्विलिङ चार्ज’ बंगलादेशले नै बेहार्ने सहमति भइसकेको छ ।

‘नेपालले भारतको मुजफ्फरपुरसम्म आपूर्ति दिने, त्यहीँ विद्युत्को मिटर राख्ने र त्यसभन्दा उताको ह्लििङ चार्ड, नोक्सानीलगायत सबै लागत बंगलादेशले नै बेहोर्नेगरी यसअघि नै सहमति भइसकेको छ,’ यसअघि बंगलादेशमा भएको वार्तामा सहभागी नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिप थिकेले बताए ।

सन् २०१८ मा दुई देशबीच ऊर्जासम्बन्धी सहकार्र्य अघि बढाउन संयुक्त समिति बनाउने सम्झौता भएको थियो । २०१९ मा जीएमआरद्वारा माथिल्लो कर्णालीबाट उत्पादन गर्ने ५०० मेगावाट विद्युत् खरिद गर्न बंगलादेशले सैद्धान्तिक स्वीकृति दिएको थियो । तर, त्यो आयोजनाको निर्माण शुरु नै नभएकाले त्यो निर्यातको सम्भावना अहिलेलाई छैन ।

बंगलादेशले नेपालमा विद्युत् आयोनजा नै बनाउन पनि रुची देखाएको छ । दुई देशका सचिवस्तरीय स्टेयरिङ कमिटी बैठकमा नेपालको ६ सय ८३ मेगावाटको सुनकोसी–३ परियोजना दुई देशको संयुक्त लगानीमा बनाउने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?