+
+

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन माथिल्लो तामाकोशीको सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १३:२७

३० फागुन, काठमाडौं । माथिल्लो तामाकोशीको सेयर मूल्य बुधबार १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घट्दा पनि खरिद गर्नेहरु छैनन् ।

कम्पनीको मार्केट डेप्थ हेर्दा साढे १२ बजे १३ लाख ३८ हजार कित्ता सेयर १० प्रतिशत मूल्य घटेर बेच्नका लागि तयार देखिन्छ, तर खरिदका लागि आदेश छैन । एकदिनमा कुनै पनि कम्पनीको मूल्य १० प्रतिशतभन्दा धेरै घट्न नपाउने व्यवस्था छ । यो कम्पनीको मूल्य अझै घट्ने आशका कारण नै १० प्रतिशत मूल्य घट्दा पनि खरिदकर्ता नभएका हुन् ।

४५६ मेगावाटको राष्ट्रिय गौरव आयोजना सञ्चालन गर्ने यस कम्पनीको सेयर बुधबार नबिक्नुको मुख्य कारण हो- सेयर संख्या दोब्बर हुनु । कम्पनीले शत प्रतिशत हकप्रद निष्कासनमार्फत जारी गरेको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएर कारोबारमा आएपछि मूल्यमा भारी गिरावट देखिएको हो ।

हकप्रदमा पनि कम्पनीको सेयर सम्पूर्ण मात्रामा बिक्री हुन नसकेपछि करिब १ करोड ७० लाख कित्ता सेयर लिलामी बोलकबोलमार्फत बिक्री गरिएको थियो । लिलामी बिक्रीमार्फत बोलकबोलका क्रममा कम्पनीको कटअफ प्राइस १४६ रुपैयाँ तय भएको थियो ।

‘लिलामीमा न्यूनतम मूल्यमा सेयर पाएकाहरुले नाफा बुक गर्न खोज्दा बुधबार मूल्य अत्याधिक घट्यो’ एक लगानीकर्ताले भने ‘लगानीकर्ताले खातामा सेयर पाएपछि माथिल्लो तामाकोशीको सेयरमा अकस्मात आज उच्च आपूर्ति देखियो ।’

हकप्रदसहित कम्पनीको कुल २१ करोड १८ लाख कित्ता सेयर बजारमा सूचीकृत छ । जसमध्ये ५१ प्रतिशत अर्थात् १० करोड ८० लाख १८ हजार कित्ता संस्थापक र ४९ प्रतिशत अर्थात् १० करोड ३७ लाख ८२ हजार कित्ता सेयर सर्वसाधारण समूहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?