+
+

कोशीमा एमालेले भन्यो : मुख्यमन्त्रीले राजीनामा नदिए हटाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १८:१७
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी (दायाँ)

२ चैत, विराटनगर । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेको छ ।

शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीको राजीनामा माग गरे र नदिए कानुनी रुपमा हटाउने चेतावनी दिए ।

‘….भेटेर भन्छौं अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस् राजीनामा दिनुस्’ उनले भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौं…. त्यसपछि राजीनामा दिंदाखेरि अप्ठ्यारो गरी दिनुपर्छ, त्यो राजीनामा सहजतापूर्वक हुनेछैन, उहाँ हट्न बाध्य हुनुहुन्छ ।’

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेता र कोशीका मुख्यमन्त्री कार्कीबीच बिहीबार भएको छलफलले सरकार नछाड्ने निष्कर्ष निकालेको थियो ।

तर एमालेले भने मुख्यमन्त्री राजनीतिक हिसाबले अल्पमतमा रहेका कारण राजीनामा दिनुपर्ने जिकिर गरे । ‘राजीनामा नदिने हो भने सत्तापक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा छ त्यस्तो अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन’ एमाले नेता भण्डारीले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्‍यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नुभयो भने संविधानको सर्वोच्चता, सर्वोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौं ।’

केन्द्रमा नयाँ गठबन्धन बने पनि कोशीमा कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् । कांग्रेसले नेतृत्व गरेको अरु प्रदेशमा मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे पनि कोशीका बर्खास्त गरेका छैनन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुले पनि सरकार छाडेका छैनन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादी पार्टीका एक जना मन्त्री सहभागी छन् । केन्द्रबाट बाहिरिन निर्देशन नआएको भन्दै मन्त्रीहरु नियमित काममा छन् । ‘आज या भोलि माथिबाट निर्देशन आउनेबित्तिकै उहाँहरुले मन्त्री पद छोड्नुहुन्छ र मन्त्री पद छोडेको २४ घण्टाभित्र हामीले केदार कार्कीलाई हटाउने छौं’, एमाले नेता भण्डारीले भने ।

गत २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका २९ मध्ये ८ सांसद र एमालेका उपसभामुखबाहेक ३९ जना सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए । पछि उनलाई उनको पार्टीका सबै सांसद र नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि समर्थन दिएका थिए । प्रदेशसभामा उनलाई राप्रपाका ६ बाहेक सबै सांसदले विश्वासको मत दिएका थिए । अहिलेसम्म कुनै पनि दलले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन ।

तर अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका कारण मुख्यमन्त्री राजनीतिक रुपमा अल्पमतमा परेको नेता भण्डारीको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?