+
+

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, अगाडि बढेका आयोजनालाई गति दिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १४:२२

६ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । उनले प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने उल्लेख गरे ।

चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।

२०७२ को महाभूकम्प, कोभिड–१९ महामारी र पछिल्लो जाजरकोट भूकम्पपछि चीन सरकारका तर्फबाट भएको मानवीय सहयोग स्मरणयोग्य रहेको उनको भनाइ थियो ।

चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । यस्तै उनले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमण क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो ।

मन्त्री पुनले क्रस हिमालय रेलवे परियोजनालाई नेपालले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययन प्रगतिबारे चासो व्यक्त गरे ।

नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण काम जारी छ ।

‘रेलमार्ग नेपालीको सपना हो,’ मन्त्री पुनले भने, ‘यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौं । छिटो काम अघि बढोस् भन्ने चाहन्छौं ।’

मन्त्री पुनले तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए ।

यस्तै उनले जनस्तरबाट अरू परम्परागत नाका समय–समयमा बन्द हुने गरेका गुनासो आउने गरेको भन्दै नाका बन्द हुने अवस्थाको अन्त्य होस् भन्ने चाहेको स्पष्ट गरे । टोखा–छहरे सुरुङ मार्ग निर्माणको कामलाई पनि नेपालले प्राथमिकतामा राखेकाले सम्भाव्यता अध्ययनको काम छिटो सकाउन आग्रह गरे ।

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिँदै बढिभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनलाई आग्रह गरे ।

यस्तै मन्त्री पुनले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आग्रह गरे । जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री दाहालको चीन भ्रमण क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए ।

उनले नेपाल र चीनबीच लामो मित्रता र सहकार्य रहेको भन्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए ।

चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि, उद्योग र प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

‘चीन–नेपाल सम्बन्ध उचाइमा पुर्‍याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौं,’ राजदूत छनले भने, ‘दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौं ।’

यस्तै उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी मन्त्री पुनलाई दिए । त्यसका लागि हवाई रुट साथै पोखरा–काठमाडौं र भैरहवा–काठमाडौं उडान समेत अनुमति चाहिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?