+

गर्भवती पो हुन् कि ? बस्ने ठाउँ दिऔं (भिडियोसहित)

२०८० चैत  ७ गते १६:४७ २०८० चैत ७ गते १६:४७
गर्भवती पो हुन् कि ? बस्ने ठाउँ दिऔं (भिडियोसहित)

काठमाडौं । आमाका लागि गर्भावस्था महत्वपूर्ण र गम्भीर अवस्था हो । गर्भावस्थामा एउटी महिलाले विभिन्न प्रकारको शारीरिक, मानसिक वा भावनात्मक स्थितिबाट गुज्रिनुपर्छ । गर्भमा भ्रूण हुर्कंदै गर्दा आमाको शरीरमा अनेक उथलपुथल हुन्छ ।

गर्भावस्थामा हार्मोनको घटबढसँगै वाकवाकी लाग्ने, हातखुट्टा सुन्निने, कब्जियत हुने, चक्कर लाग्ने, अरुचि, झर्को लाग्ने, कमजोरी हुने, अनिद्रा जस्ता समस्या हुने चिकित्सकहरू बताउँछन् ।

गर्भावस्थामा हुने शारीरिक परिवर्तनले गर्दा महिलालाई भावनात्मक रूपमा निकै कमजोर बनाउँछ । साथै केही महिलामा त गर्भपात हुने जोखिम समेत हुन्छ । गर्भपात हुने सम्भावना भएका महिलाले त झन् धेरै सावधानी अपनाउनुपर्छ ।

यो बेला स–साना कुरामा ध्यान नदिए निकै जोखिमपूर्ण अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ । जस्तो, बसमा चढ्दा ठोकियो वा कतै लामो समय लाइनमा बस्नुपर्‍यो भने गर्भपात हुने जोखिम बढ्छ ।

यस्तोमा गर्भवती महिलालाई भीडभाड, सरकारी कार्यालय, अस्पताल, बसमा प्राथमिकता दिनुपर्छ । उनीहरूलाई धेरैबेर लाइनमा उभ्याउनुहुँदैन, उनीहरूले छिटो सेवा पाउनुपर्‍यो भन्ने लक्ष्यका साथ ‘आमा सुरक्षा नेपाल’ नामक संस्थाले गर्भावस्थालाई संकेत गर्ने ब्याच र ब्याग गर्भवती महिलालाई दिन्छ ।

कुनै पनि महिलाले गर्भावस्था संकेत गर्ने ब्याच लगाएपछि उनीहरूले साथ र सहयोग पाउन सक्ने आमा सुरक्षा नेपालकी संस्थापक डा. मनु कार्की बताउँछिन । गर्भावस्थाको पहिलो चरण तीन महिनामा त महिलाको पेट बाहिर निस्किसकेको हुँदैन । तर उनीहरूलाई विभिन्न समस्या भइरहेको हुन्छ । यस्तोमा यो ब्याचको मद्दतले गर्भवती हो भनेर चिन्न सजिलो हुने डा. कार्की बताउँछिन् ।

‘म आफैं पनि दुई सन्तानकी आमा हुँ । म आठ महिनाको गर्भवती हुँदा स्वास्थ्य जाँचका लागि अस्पताल गएको थिएँ । त्यो बेला मलाई लाइनमा उभिन एकदमै समस्या भइरहेको थियो, तैपनि मैले लामो समय लाइनमा बस्नुपर्‍यो,’ उनी भन्छिन् ।

गर्भावस्थामा अस्पतालमा बस्नु परेको लामो लाइन सम्झिंदा उनलाई पछिसम्म पनि अत्यास लाग्थ्यो । कामको सिलसिलामा केही वर्ष जापानबस्दा उनले गर्भवती महिलालाई यस्तो ब्याच दिएको देखिन् । यस्तो ब्याच लगाएका महिलालाई बस, रेल, सरकारी कार्यालय सबै ठाउँमा प्राथमिकता दिइँदोरहेछ ।

‘नेपालमा म मात्र होइन, म जस्तै थुप्रै गर्भवती महिलाले थुप्रै समस्या भोगिरहेका होलान्, जापानमा जस्तो नेपालमा पनि महिलाहरूलाई ब्याच दिन पाए उनीहरूलाई सहयोग हुन्थ्यो भनेर यो अवधारणा नेपालमा ल्याएकी हुँ,’ डा. कार्की सुनाउँछिन् ।

गर्भावस्थामा प्राथमिकता पाएमा महिलाहरूले यो बेला पनि आफ्नो कामलाई, पढाइलाई निरन्तरता दिन सक्छन् । भीडभाडमा जाँदा, धेरैबेर लाइनमा उभिंदा केही समस्या निम्तिएला कि भनेर चिन्ता लिनु नपर्ने उनी बताउँछिन् ।

अहिले केही गर्भवती महिलाहरूले मात्र यो ब्याच पाएका छन् । तर गर्भवती महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा हरेक ठाउँमा पुर्‍याउन छिट्टै हरेक अस्पतालबाट यो ब्याच र ब्याग दिने व्यवस्था गर्न लागेको डा. कार्की बताउँछिन् ।

‘गर्भावस्थामा महिलालाई साथ र सहयोग चाहिन्छ । यो बेला उनीहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा हरेक व्यक्तिले मनन गर्ने हो भने यो कार्यक्रम जरुरी नै पर्ने थिएन,’ उनी भन्छिन्, ‘तर मानिसहरूले गर्भवती महिलालाई प्राथमिकता दिएको पाइँदैन । गर्भवती महिलालाई प्राथमिकता दिनुपर्छ, सहयोग गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिन जरुरी छ ।’

आमा सुरक्षा नेपालले बसका चालक र सहचालकहरूलाई यो ब्याचको बारेमा बताएर गर्भवती महिलालाई सिटको व्यवस्था गर्ने कार्यक्रम पनि सञ्चालन गर्न लागेको छ । कुनै महिलाले गर्भावस्थालाई संकेत गर्ने ब्याच लगाएकी छिन् भने उनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश फैलिनु जरुरी भएको डा. कार्की बताउँछिन् ।

गर्भावस्थामा मात्र होइन, सुत्केरी अवस्थामा पनि महिलालाई बच्चालाई स्तनपान गराउन र डाइपर परिवर्तन गर्न समस्या हुन्छ । यस्तोमा स्तनपान गराउने र डाइपर परिवर्तन गर्ने ठाउँको पनि व्यवस्था हुनु जरुरी छ । त्यसैले आगामी दिनमा आमा सुरक्षा नेपालले स्तनपान गराउने र डाइपर परिवर्तन गराउने ठाउँ बनाउने लक्ष्य समेत डा. कार्कीले राखेकी छन् ।

गर्भवती महिला महिला स्वास्थ्य सार्वजनिक स्थल
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय