+
+

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुससँग अर्थमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:२७

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँगको भेटमा अर्थमन्त्री पुनले नेपालको जलविद्युत् र मल उत्पादनमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत् क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,’ मन्त्री पुनले भने ।

सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको भन्दै उनले रुस मलको कच्चापदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश भएको उल्लेख गरे । उनले मल कारखाना खोल्न इच्छुक भए वातावरण बनाउन नेपाल तयार रहेको बताए ।

जवाफमा रुसी राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताए । भू–राजनीतिक कारण नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो ।

‘नेपालका दुवै छिमेकी चीन र भारतसँग रुसको राम्रो सम्बन्ध छ,’ उनले भने, ‘रुस यस्तो देश हो कि जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्छ ।’

यस्तै नेपाल–भारत सीमा क्षेत्रमा दुवै देश लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको उनले औंल्याए ।

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढिभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे ।

रुस र नेपालबीच लामो सम्बन्ध रहेको तथा रुस सरकारले पूर्वपश्चिम राजमार्गको एक खण्ड तथा जलविद्युत् सहित अन्य पूर्वाधार निर्माणमा नेपाललाई सहयोग गरेको स्मरण मन्त्री पुनले गरे ।

राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्र पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदै छ । प्रतिनिधिमण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनले बताए ।

फरक प्रसंगमा मन्त्री पुनले द्विपक्षीय सम्झौता विना रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए ।

पुनले नेपालको परराष्ट्र मन्त्रालय मार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको स्मरण गरे । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरे ।

यस्तै उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराए ।

‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्,’ अर्थमन्त्री पुनले भने, ‘यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।’

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट गरे । तर, रुसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क उनको थियो ।

भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे । यद्यपि, रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरू दुःखी भएको उनले बताए । रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्किन इच्छुक नभएको आफूले खबर पाएको दाबी उनले गरे ।

‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्किने मनस्थितिमा रहेको खबर हामीले पाएका छौं ।’

उनले सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरे । फरक प्रसंगमा उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिए ।

‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,’ राजदूत नोभिकोभले भने । यस्तै उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझावसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?