+
+

नेपालका हजाराैं बालबालिकाहरुलाई उज्यालो दिने ओल्गाको सम्झना

४० वर्ष उनले हजारौं नेपाली बालबालिकाको लागि समर्पण गरिन् । सन् १९८५ मा उनले आफ्नो अर्को नेपाल भ्रमणमा ४ अनाथ विद्यार्थीलाई १२०० अमेरिकी डलरको कलेज स्कलरसिप दिलाइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १८:१२

ओल्गा मुरे सन् १९८४ मा भारतमा ६ हप्ताको यात्रापछि नेपालका दुर्गम गाउँहरूमा हाइकिङ गर्न आएकी थिइन् । ५९ वर्षीया मुरे पेशाले वकील थिइन् । उनले नेपालमा सुन्दर दृश्यहरू देखिन् र मित्रवत् मानिस भेटिन् ।

पोखरादेखि सिक्लेससम्मको दुर्गम पहाडी पदयात्राको क्रममा भेटेका बच्चाहरूले भने उनलाई दु:खी बनाए । जसको कारण उनको जीवनमा परिवर्तन आयो । उनले आफ्नो आत्मकथा ‘ओलगास प्रोमिस वान वुमन्स कमिटमेन्ट टु दि चिल्ड्रेन अफ नेपाल’मा लेखिकी छन्- ‘तिनीहरू मैले सोचेभन्दा गरिब थिए । फोहोर, फाटेको लुगा लगाएका, कुपोषित र उनीहरूसँग कुनै पनि प्रकारको खेलौना थिएन । तै पनि उनीहरू निकै खुशी थिए । उनीहरूको सबैभन्दा ठूलो चाहना कुनै दिन विद्यालय जाने थियो।’

एक रात उनलाई एउटा झुपडीमा निम्तो गरिएको थियो । जहाँ उनले तीन जना बच्चालाई भेटिन् जसका बुबाले उनीहरूले शिक्षा प्राप्त गर्न पाउँदा भाग्यमानी भएको बताएका थिए । उनीहरू दुई घन्टा पैदल हिंडेर विद्यालय जाने गर्थे । झुपडीको फोहोर भुइँमा बसेर ति बच्चाहरूले मैनबत्तीको उज्यालोमा गृहकार्य गरिरहेको देख्दा उनलाई खिन्न महसुस भयो ।

‘त्यतिबेला अचानक मैले बाँकी जीवनमा के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर पाएँ । मैले नेपाली बालबालिकालाई शिक्षित बनाउने वाचा गरें,’ उनले आत्मकथामा लेखेकी छन् ।

त्यसपछि ४० वर्ष उनले हजारौं नेपाली बालबालिकाको लागि समर्पण गरिन् । सन् १९८५ मा उनले आफ्नो अर्को नेपाल भ्रमणमा ४ अनाथ बालबालिकालाई १२०० अमेरिकन डलरको कलेज स्कलरसिप दिलाइन् ।

सन् १९८९ मा उनले आफू सहसंस्थापक रहेकाे ‘नेपाल युथ फाउन्डेसन’मार्फत भोकमरी हटाउन पोषण केन्द्रहरू निर्माण गर्ने सामाजिक सुरक्षा संयन्त्र सिर्जना गरिन् । जहाँबाट उनले हजारौं युवतीको उद्धार पनि गरिन् । जसलाई उनीहरूका बुबाले धनी नेपाली परिवारकोमा बेचेका थिए । ‘ति बुवाहरूले आफनो छारीहरूलाई माया गर्थे तर भोकमरीले मर्नुभन्दा टाढा पठाउनु राम्रो हो भन्ने उनीहरूलाई लाग्यो,’ मुरेले सन् २००९ मा द सान फ्रान्सिस्‌को क्रोनिकललाई बताएकी छन् ।

नेपाली बालिकाहरूलाई कमलरीबाट मुक्त गर्नु फाउन्डेसनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धीमध्ये एक हो । सन् २००० मा फाउन्डेसनले लगभग १३०० महिलालाई सामान्य श्रम, लामो समयसम्म भावनात्मक र शारीरिक दुर्व्यवहारबाट पीडित भएकाहरूलाई उद्दार गर्न सहयोग गर्‍यो । कमलरीबाट मुक्त हुने महिलाहरूलाई फाउन्डेसनले सुँगुर वा बाख्रा दिएको थियो । जसलाई बेचेर उनीहरूले आयआर्जन गर्न थाले ।

फाउन्डेसनले छोरीहरूलाई शिक्षित बनाउने वाचा पनि दिएको थियो । ‘हामीले सन् २००० मा ३७ बालिकालाई कमलरीबाट फिर्ता ल्यायौं र उनीहरूलाई स्कुलको पोशाक, लुगा, खाना र किताब उपलब्ध गरायौं,’ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले भने । त्यसपछि प्रत्येक वर्ष उद्धार गरिएका बालिकाको संख्या बढेको उनले बताए ।

त्यसपछि फाउन्डेसनले कमलरी प्रथालाई गैरकानुनी बनाउन नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गर्‍यो । सन् २००६ मा कमलरी प्रथा गैरकानुनी घोषणा गरिएको भए पनि २०१३ सम्म खासै कार्यान्वयन भएको थिएन । ‘हामीले यस विरुद्ध पूरै समुदायलाई सचेत बनायौं,’ फाउन्डेसनको एक भिडियोमा मुरेले बताएकी छन् ।

मुरेको जन्म जुन १, १९२५ मा रोमानियाको सातुमारेमा भएको थियो । उनी ६ वर्षकी हुँदा ब्रोन्क्समा आफ्नी आमा माटिल्डा हर्स्कोविट्स डेभिस, उनका भाइ र दुई बहिनीहरूसँग बसाइँ सरिन् । उनीहरू बसाइँ सरेर उनका बुबा जोसेफ डेभिडोभिट्स भएको ठाउँ गएका थिए ।

सन् १९४२ मा हाइस्कुल सकेपछि मुरेले कोलम्बिया विश्वविद्यालयमा भर्ना हुनुअघि तीन वर्षको लागि संयुक्त राज्य अमेरिकाको यात्रा गरिन् । उनी एक वर्षपछि एथेन्सको ओहायो विश्वविद्यालयमा गइन् अनि कोलम्बिया फर्किइन् । जहाँ उनले १९४९ मा स्नातक डिग्री हासिल गरिन् ।

स्नातकपछि उनलाई यूएस स्टेट डिपार्टमेन्टले जागिरमा राख्न अस्वीकार गर्‍यो । उनकी एक कलेज सहपाठीले भनेकी छन्, ‘किनभने उनी तत्कालीन सोभियत संघको प्रभाव क्षेत्रमा जन्मेकी हुन् र अझै पनि त्यहाँ उनको आफन्तहरू छन् ।’

उनलाई पछि राजनीतिक स्तम्भकार ड्र्यू पियर्सनले पाठकको मेलको जवाफ दिने काम दिए । जर्ज वासिङटन युनिभर्सिटी ल स्कुलमा अध्ययन नसकिंदासम्म उनले त्यहाँ काम गरिरहिन् । सन् १९५४ मा उनको अध्ययन सकियो । ल स्कुलको दोस्रो वर्षमा उनले आफ्नै विज्ञापन एजेन्सी सञ्चालक जुड मुरेलाई भेटिन्। उनीहरूले १९५५ मा विवाह गरे । विवाह भएको ६ वर्षपछि उनीहरूको सम्बन्ध विच्छेद भएको थियो ।

मुरे, जसलाई सन् २००१ मा दलाई लामाले ‘अनसङ हिरो अफ कमप्यासन’को उपमा दिएका थिए ।  फेब्रुअरी २० मा साउसालिटो क्यालिफोर्नियामा उनको मृत्यु भयो । जतिबेला उनी ९८ वर्षकी थिइन् । उनले नेपालमा अन्तिम भ्रमण गत मेमा गरेकी थिइन् ।

एजेन्सीहरूबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?