+
+

सांसदका छोराको चेकजाँच गर्दा ९ प्रहरीलाई कारबाही !

‘छोराको कम्मरको हड्डी भाँचिएको थियो, हामीले प्रहरीको लाज बचाई दिएको हौं : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १८:५५

९ चैत, काठमाडौं । पूर्वमन्त्रीका छोरालाई चेकिङ (जाँच) गर्दा ९ प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । पूर्व बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीका छोरालाई चेकिङ गर्दा ९ प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको हो । सबैको जिम्मेवारी खोसेर अन्यत्र सरुवा गरिएको छ ।

घटना भएको तीन महिना बितिसक्दा समेत प्रहरीमाथि छानबिन गर्दै कारबाही अझै रोकिएको छैन । घटना ६ पुसको हो । बिहानको करिब ११ बजेतिर प्रहरी प्रभाग इमाडोलले प्रहरी बिट भन्दा केही अगाडि चेकिङ राखेको थियो । त्यस क्रममा ग्वार्कोतर्फबाट बागमती प्रदेश–०२–०३९ प ८३८१ नम्बरको बुलेट मोटरसाइकलमा तीन युवा बिना हेल्मेट आएपछि प्रहरीको चेकिङमा परे ।

‘रफ तरिकाले हाँकेको, तीन जना सवार र हेल्मेट समेत नलगाएको भएपछि हामीले मोटरसाइकल रोक्यौं । चालकसँग कागजात माग्यौं । मोटरसाइकलमा सवार युवाहरुले कागजात छैन भन्दै जवाफ फर्काए’ हाल कारबाहीमा परेका एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘कागजात छैन भनेपछि हाम्रो टोलीले मोटरसाइकलको चाबी थुत्यो । चाबी थुत्ने भन्दै उनीहरु हामीमाथि जाइलागे ।’

गलफल्ती गर्दै मोबाइलबाट भिडिओ समेत बनाउन थालेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर चौकीमा लग्यो । चौकीमा पनि बाझाबाझ भएपछि धकेलाधकेल भएको प्रहरी स्वयम समेत स्वीकार्छन् । करिब ५ घण्टा जति चौकीमा राखेपछि तीनै जनालाई युवाले अबदेखि यस्तो नगर्ने बताएपछि दिउँसो करिब ४ बजेतिर उनीहरु चौकीबाट बाहिरिएका थिए ।

घटना भएको दिन ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, तत्कालीन एसएसपी शिद्धिविक्रम शाह सहितको टोली अनुगमनके लागि ललितपुरको दक्षिण भेग गएको थियो ।

इमाडोल घटनालाई लिएर माथिल्लो निकायबाट एसएसपी शाहलाई फोन आएपछि उनले आफू अनुगमनमा रहेको भन्दै घटनाबारे बुझेर जानकारी गराउने बताए ।लगत्तै एसएसपी शाहले ललितपुरका तत्कालीन एसपी नवराज कार्कीलाई इमाडोलमा ‘के भएको हो, तत्काल जानुस्’ भन्दै फोन गरेका थिए ।

एसपी कार्की सहितको टोली घटनास्थल पुगेको थियो ।घटना भएका बेला इमाडोलका इन्सपेक्टर उदयशमशेर राणा स्कूलको एक कार्यक्रममा गएका थिए । एसपी कार्कीको टोली घटनाबारे प्रारम्भिक जानकारी लिएर फर्कियो ।

भोलिपल्ट ७ पुसदेखि भने घटनाले नयाँ मोड लियो । प्रहरीका अनुसार चौकीमा ‘सरी’ भनेर फर्केका युवाहरुको तर्फबाट प्रहरीमाथि दबाब आउन थाल्यो ।ट्राफिक नियम उल्लघंन गर्दै मोटरसाइकल चलाउने व्यक्ति पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीका दुई छोरा (रविरन्जन र अभिरन्जन) सँगै अच्युत झा थिए ।

चौकीबाट छुटेको दोस्रो दिन चेकिङमा खटिएका सबै प्रहरीलाई कारबाही गर्नुपर्ने भन्दै ललितपुर प्रहरीमाथि दबाब आयो ।

प्रहरीले आफ्ना छोरामाथि निर्मम कुटपिट गरेको, अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था आएको भन्दै चेकिङमा खटिएकाहरुलाई बर्खास्त गर्नुपर्ने माग राख्दै सांसद चौधरी पार्टी सभापति शेरबहादुर देउवादेखि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म पुगेकी थिइन् ।

सांसद चौधरीले भने घटनाबारे जानकारी गराउन सभापति देउवा र गृहमन्त्री श्रेष्ठकहाँ पुगेको तर कुनै दबाब नदिएको अनलाइनखबरसँग दाबी गरिन् । तर प्रहरीमा चेकिङमा संलग्न प्रहरीहरुमाथि कारबाही गर्नुपर्ने दबाव बढ्यो । ‘माथिको दबाब’ खेप्न नसकेको भन्दै ललितपुर परिसरले प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीको कमाण्डमा छानबनि समिति बनायो ।

जोशी नेतृत्वको समितिले पनि चेकिङमा खटिएका ९ प्रहरीमाथि सामान्य विभागीय कारबाहीका लागि सिफारिस गर्‍यो । तर प्रहरीलाई बर्खास्त गर्नुपर्ने भन्दै माथिल्लो निकायमा दबाब दिएकी सांसद चौधरी समितिको प्रतिवेदन मान्न तयार भइनन् ।

माघ अन्तिम सातातिर परिसर ललितपुरले फेरि अर्को समिति बनायो । ललितपुर परिसरका तत्कालीन एसपी नवराज कार्की (हाल जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख)को संयोजकत्वमा समिति बन्यो ।

‘एउटै घटना छानबिन गर्न दोस्रो समिति बनेपछि नै थाहा भइहाल्नुभयो नि हामीलाई बर्खास्त गर्न कति दबाब थियो’ हाल कारबाही भोगेका एक प्रहरी कर्मचारीले भने ।

कार्की नेतृत्वको समितिले अघिल्लो प्रतिवेदनमा केही थपथाप गरेर बुझायो, जसमा मोटरसाइकल चालकहरुमाथि धकेलाधकेल गर्ने प्रहरी हवल्दार रामचन्द्र पाठकलाई निलम्बन गर्न तथा बाँकी ८ जना प्रहरीलाई सचेत गराउने र नसियत दिन सिफारिस गरिएको छ ।

‘नियन्त्रणमा लिएर चौकीभित्र लगिसकेपछि कि मुद्दा चलाउनु पर्‍थ्यो कि बाहिरैबाट छाड्नु पर्थ्यो । त्यसमा प्रहरीको पनि कमजोरी देखिएपछि कारबाहीका लागि सिफारिस गरिएको हो’ कारबाहीमा सिफारिस गर्नुको कारणबारे छानबिन समितिका एक सदस्यले भने ।

यससँगै इमाडोलबाट ९ जनै प्रहरीको सरुवा गरिएको छ । उनीहरुमध्ये हवल्दार पाठक भने अहिलेसम्म पनि निलम्बनमा छन् । असई तेजबहादुर श्रेष्ठसहित ८ जनालाई नसियत र सचेत गराइएको छ ।

सांसद चौधरीले भने यो कारबाहीमा समेत चित्त नबुझेको र आफ्ना छोराहरुलाई प्रहरीले कुटपिट गरेकाले बर्खास्त गर्नुपर्ने माग राख्दै आएकी छन् । तत्कालीन सत्तारुढ दलकी सांसद चौधरीको दबाब थग्न नसकेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानिपोखराका एसएसपीको कमाण्डमा अर्को छानबिन समिति बनाउने तयारी गरेको थियो । त्यही सत्ता गठबन्धनमा फेरबदल आयो । कांग्रेस सत्ता बाहिर रहेपछि तेस्रो छानबिन बन्न भने रोकिएको प्रहरी स्रोतले बतायो ।

प्रहरीको लाज बचाइदिएको हौं : पूर्वमन्त्री चौधरी

पूर्व मन्त्री समेत रहेकी कांग्रेस सांसद चौधरी पनि घटना भएको दिन आफ्ना छोराहरु मोटरसाइकलमा तीन जना चढेको स्वीकार गर्छिन् । ‘मेरो बाबुहरुले मोटरसाइकलमा तीन जना चढेर गल्ती गरेको हो । गल्ती गरेको भए प्रहरीले चिट काट्ने हो । आमाको गाली गर्दै कुटपिट गर्न मिल्छ ?’ उनले भनिन्, ‘मेरो बाबुको कम्मरको हड्डी भाँचिएको छ । छाती फ्याक्चर भएको छ । मेडिकल रिपोर्ट समेत छ ।’

यसबारे आफूले पार्टी सभापति र गृहमन्त्रीलाई जानकारी गराएको भन्दै उनले भनिन्, ‘मन्त्रीज्यू आफैं मेरो घरमा आएर घाइते बाबुहरुलाई भेट्नु भएको हो । आईजीदेखि सबैले प्रहरीको गल्ती भएको हो कारबाही गछौं भन्नु भएको थियो ।’

बहिर हल्ला नगरौं भनेपछि चुप बसेर आफूहरुले प्रहरीको इज्जत जोगाइदिएको उनको दाबी छ । ‘मैले मेरा छोराहरुलाई न्याय दिन सकिन भने जनतालाई कसरी न्याय दिन सक्छु ? म संसदमा समेत कुरा उठाउँछु भन्दा गल्ती भएको स्वीकार गर्दैै कारबाही गर्ने बताएका थिए’ उनले भनिन्, ‘अहिले आएर उल्टै हामीलाई गल्ती देखाउन खोजिँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?