+
+

पशुप्राणीलाई अत्याचार नगरौं, पृथ्वी उनीहरुको पनि हो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १२:२८

हामी गाईबस्तुलाई पूजा त गर्छौं, तर बुढो भएपछि सडकमा ल्याएर छाड्छौं । बुढो र रोगी गाईबस्तुको बिजोग देखिन्छ । त्यस्तै बाछा (गोरु) जन्मियो भने आमाको दूध खान नदिई लखेट्ने गर्छन् ।

मान्छेले कतिसम्म गर्ने रहेछ भने, बाछा जन्मनसाथ केही पनि खान नदिई भोकभोकै केही दिनसम्म राख्ने । अनि चार–पाँच दिनपछि दूध खान दिने । भोकको झोंकमा बच्चाले धेरै दूध खान्छ र अपचको कारण मर्ने रहेछ । कतिले भीरमा लगेर लडाउने पनि गर्छ भनेको सुनेको छु ।

जन्मनसाथको बाछालाई आमाबाट छुटाउनु जस्तो पाप के हुनसक्छ । तर, काठमाडौं आसपासमा गाईबस्तु पाल्नेहरु त्यस्तै गरेको देखिन्छ । सानो बाछालाई आमाबाट छुटाएपनि उसले घाँस खोज्न, खान सक्दैन । फेरी आमा खोज्दै जान्छ । त्यसरी आमाको दूध खोज्दै गएको बाछालाई रडै रडले हिर्काएर खेदेको देखिन्छ ।

यसरी धेरै गाईबस्तु सडकमा आइपुग्छ । शहरमा खुला ठाउँ बाँकी छैन, जताततै घर र बाटो छ । गोठबाट निकालेपछि उनीहरु जाने ठाउँ भनेको त्यही सडक हो । सडकमा भएका गाईबस्तु खानै नपाएर मर्छन् । उनीहरु घाँस खान नपाएर प्लाष्टिक खान्छन् । त्यसैले पेटको रोग लागेर बिजोग भई मर्छन् । धेरैजसोलाई गाडीले हिर्काएर अंगभंग पनि बनाउने गरेको देखिन्छ ।

म इमाडोल क्षेत्रमा बस्छु । यहाँ थोरै चौर बाँकी छ । कतिले बुढो र रोगी गाईबस्तु, बाछा ल्याएर त्यही चौरमा छाडिदिन्छन् । त्यहाँ उनीहरुले घाँस खान पाउँदैनन् । पानी पिउन पाउँदैनन् । विचराहरु कति तिर्खाएको हुन्छ भने एक बाल्टी पानी लगेर दियो भने एउटै बाछोले सिध्याइदिन्छ ।

खोला त छ तर पानीमा फोहोरको लेदो मात्र बग्छ । तिर्खाले ओंठमुख सुकेपछि त्यस्तो पानी पनि पिउँछन् । तर, अहिले खोलामा पर्खाल लगाइएको छ । उनीहरुले पानी पिउनै पाउँदैनन् । यी गाईबस्तुलाई मान्छेले कतिसम्म अत्याचार गरेको छ भने भोक, तिर्खाले कति दिन तड्पिएर मर्छ ।

मैले के पनि देखेको छु भने, आज त्यहाँ कसैले ल्याएर गाईबस्तु छाडिदिएको हुन्छ । केही दिनपछि सबै हराइरहेको हुन्छ । यसरी एक्कासी हराउने गाईबस्तु चाहिँ मान्छेले काटेर खान लगेको हुनसक्छ ।

गाईबस्तु जस्तै कतिपयले घरमा पालेको कुकुर पनि रोगी र बुढो भएपछि सडकमा छाडिदिने गर्छन् । यस्ता कुकुरहरुले आफै खानेकुरा खोजेर खान सक्दैन । फोहोरको थुप्रोमा खानेकुरा खोज्दा प्लाष्टिक, सिसाको टुक्रा पनि खान पुग्छन् । त्यसैले उनीहरु पेटको रोगले मरिरहेका हुन्छन् । धेरैजसो चाहिँ गाडीले हिर्काएर अंगभंग बनाइरहेका हुन्छन् ।

मान्छेले कुकुरलाई देख्न सक्दैन । त्यसै बसिरहेको कुकुरलाई पनि तातो पानी छ्याप्ने, ढुंगाले हिर्काउने, खुकुरीले काट्ने गर्छन् । कुकुरले मान्छेलाई न लखेटेको हुन्छ, न झम्टिएको हुन्छ, न केही मागेको हुन्छ, न खोसेको हुन्छ । तर, मान्छेले उसलाई आरमसाथ बाँच्न पनि दिदैन ।

भोक, तिर्खा, जाडो, गर्मी, दुखाई सहेर उनीहरु कति कष्टसाथ बाँचिरहेका हुन्छन् । मान्छेकै आड खोजेर घर वा टोल आसपास आएर बसेका हुन्छन् । खान नपाएपनि, जाडो वा गर्मी भएपनि उनीहरु चुपचाप सबैकुरा सहेर बसिरहेका हुन्छन् । मान्छेले सुटुक्कै आएर तातो पानी खन्याइदिन्छन् । मुङ्ग्राले मेरुदण्ड भाँचिनेगरी कुट्छन् ।

गाडी, मोटरसाइकल कुदाउनेहरुले अरु बढी उनीहरुलाई अंगभंग बनाइदिन्छन् । खानाको खोजीमा गाईबस्तु, कुकुरहरु सडकमा यताउता भौतारिहेका हुन्छन् । वा सडक छेउछाउमा सुतिरहेका हुन्छन् ।  आँखै नहेरी तिब्र गतिमा हुँइक्याएको गाडी–मोटरसाइकलले ठक्कर दिने, कुल्चिने गर्छ । यसरी घाइते भएका कुकुर वा गाईबस्तुलाई कसले हेर्ने ?

न उनीहरुलाई रेखदेख गर्ने आफन्त हुन्छन् । न उनीहरुलाई औषधि उपचार गरिदिने इष्टमित्र हुन्छन् । न उनीहरुलाई खान र बस्न दिने साथी हुन्छन् । बिचराहरु आफै घाइते भएपछि कति दिनसम्म छटपटाएर मर्छन् ।

उनीहरुका लागि बोलिदिने कोही हुँदैनन् । कुनै मनकारीले उनीहरुको पक्षमा बोल्यो भने ‘यहाँ मान्छेले त खान पाएको छैन, नाथे कुकुर मर्दा के हुन्छ’ भनेर हप्काउँछन् । पशुप्राणीमाथि यसरी अत्याचार गर्ने, नियतवस हिंसा गर्ने कुरा कानुनमा बर्जित छ । तर, प्रहरीले उजुरी लिन मान्दैन ।

मान्छेले आफूलाई मात्र सर्वोपरी ठान्ने समाज छ हाम्रो । मान्छेलाई मात्र दुख्छ, मान्छेको मात्र माया लाग्छ, मान्छेले मात्र अधिकार पाउनुपर्छ भन्ने सोचाई छ ।

मान्छेलाई पशुप्राणीलाईं काटेर नखानु भन्न हामी भन्न सक्दैनौं । दूधका लागि गाईबस्तु नपाल्नु भन्न सक्दैनौं । तर,. अबोध पशुप्राणीलाई सहज रुपले बाँच्न दिऔं । उनीहरुलाई नियतबस् दुःख दिने, अत्याउने, कष्ट दिने, धेरै भारी बोकाउने, जन्मनसाथ आमाबाट छुटाउने अपराध नगरौं । यो अपराध हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?