![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/03/FNCCI-President-Dhakal-meets-Qatar-Ambassador-to-Nepal.jpg)
१२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग नेपालमा थप लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरेका छन् ।
ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिनमोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए ।
भेटमा दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा कुराकानी भएको महासंघले जनाएको छ ।
अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए ।
उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए ।
महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनाको छलफल पनि भएको महासंघले जनाएको छ ।
संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
काउन्सिलले एकअर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ ।
राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा चासो राखेका थिए ।
उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए ।
दुवै पक्षले सम्भावित फाइदाबारे छलफल गरे र थप कदम खोज्न सहमत भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया 4