+
+

‘नेपालमा एनिमेटेड फिल्मको भविष्य उज्ज्वल देखिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १५:५२

काठमाडौं । आगामी शुक्रबार नेपाली फिल्म विकासक्रमको इतिहासमा एउटा अध्याय रचिनेछ । सो दिन पहिलो नेपाली एनिमेटेड फिल्म रिलिज हुँदैछ । केही नेपाली युवा फिल्ममेकरले बनाएको ‘सलिना : योद्धा राजकुमारी’ देशभरका हलमा रिलिज हुनेछ । घरेलु फिल्मको ५८ वर्षको यात्रामा घरेलु दर्शकले ‘मेड इन नेपाल’वाला एनिमेटेड फिल्म हेर्न पाउनेछन् ।

यो फिल्मको सोच कसरी आयो ? कसरी निर्माण भयो ? यो फिल्म निर्माण पछाडिकी एक प्रमुख मस्तिष्क श्रुति श्रेष्ठले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेकी छन् । डेढ दशकदेखि सूचना प्रविधि र एनिमेसनमा काम गरेकी उनीसँग डिज्नीको एक फिल्म र टेलिभिजनमा भिडियो सम्पादक भएर काम गरेको अनुभव छ । उनका उमेरका युवतीहरु विदेशिएको बेला, श्रुति भने नेपाली एनिमेटेड फिल्ममा भविष्य खोज्दैछिन् । चाँडै ‘सलिना’को दोस्रो श्रृंखला ल्याउने तयारी छ । प्रस्तुत छ ‘सलिना’की निर्मात्री तथा सम्पादक श्रुति श्रेष्ठसँग गरिएको संवाद :

फिल्ममा काम गर्दा परिवारको सपोर्ट कसरी पाउनुभयो ?

केटी मान्छे फिल्म क्षेत्रमा लाग्न परिवारले मद्दत गर्दैन । यो लाइनमा लाग्यो भने बिग्रियो भन्ने धारणा हुन्छ । मैले यो कोर्स पढ्न थाल्दा घरबाट त्यति सपोर्ट थिएन । मैले घरमा कन्भिन्स गरें । मेरो घरको सबैजना बैंकिङ क्षेत्रमा हुनुहुन्थ्यो । तर म कला क्षेत्रमा आएँ । पढ्नका लागि आश्वस्त तुल्याएँ । त्यतिबेला ओपनहाउसमा काम गर्न बोलाउनुभयो । मेरो छोरी, बहिनीले यस्तो काम गर्दो रहेछ भन्ने बुझ्नुभयो र मद्दत गर्नुभयो ।

माध्यम आफ्नो ठाउँमा छ, यो फिल्मबाट तपाईंले भन्न खोजेको कुरा के हो ?

केटी भएर फिल्म उद्योगमा केही गर्न सक्दैन भन्ने जुन धारणा छ, त्यो धारणा एकदम गलत हो । यदि तपाईंले एनिमेसन फिल्म निर्माणमा लगानी गर्न चाहनुहुन्छ भने एकदम फाइदा छ । यो पनि एउटा नयाँ प्लाटफर्म हो । नेपाली फिल्म, केटी र आईटी कम्पनीका लागि एनिमेटेड फिल्म राम्रो प्लाटफर्म हो । यसका लागि निर्मात्री बन्दा म एकदम गर्व महसुस गर्छु ।

काम गर्दै जाँदा कामलाई बीचमै छाड्ने अनुभूति आयो कि आएन ?

काम गर्दा दबाब भयो । निर्देशकसँग कुरा नमिलेर कतिपटक झगडा पनि पर्छ । पाँच वर्षदेखि हामीले काम गर्दै आएका थियौं । त्यो दबाबलाई दबाएर हामीले काम अघि बढायौं ।

दर्शकले एनिमेटेड फिल्मलाई कसरी लेलान् भन्ने लाग्छ ?

नेपाली दर्शकलाई इमोसन समेटिएको कमेडी र साउथ इण्डियन फिल्ममा रुचि देखिन्छ । मान्छे फ्रेस हुन हलमा जान्छ । रुने भन्दा हाँस्ने मुभी हेर्न जान्छन् । दर्शकको यी सबै टेस्ट हेरेर हामीले यो एनिमेटेड फिल्ममा सबै कुरा समेटेका छौं । प्राविधिक रुपमा मात्र यो एनिमेटेड फिल्म होइन, यसमा आत्मा छ । भावना, हाँसो र एक्सन दृश्य पनि छन् । फिल्म सकियो भन्ने महसुस पनि छ ।

लक्षित समूहमा फिल्मबारे जानकारी दिन प्रवर्द्धन अभियान कस्तो चलाउनुभएको छ ?

स्कुल-कलेजमा पुगेर फिल्मबारे प्रमोसन गरिरहेका छौं । फिल्ममा रहेका क्यारेक्टर पनि स्कुल-कलेज पढ्नुहुन्छ । त्यहाँ गएर प्रमोसन गरेका छौं । तपाईं सूचना प्रविधिको क्षेत्रमा जान चाहनुहुन्छ र पढ्न चाहनुहुन्छ भने यो तपाईंहरुलाई निकै राम्रो हो । उहाँहरुले टिकट काटेर मुभी हेर्न आउँछौं भनेर प्रतिक्रिया दिनुभएको छ । नेपालको लागि पनि यो प्राइड हो भनेर कुरा गर्नुभएको छ ।

अलग जनरा र भिन्न स्टोरी टेलिङमा किन फिल्म बन्न जरुरी छ ?

सामान्य फिल्म त सबैले बनाइराखेका छन् । तर एनिमेटेड फिल्म भनेको भिन्न जनरा भयो । नेपालमा आईटी कलेज खुल्ने क्रम बढेको छ । ती कलेजले गर्ने के त ? एउटा प्लाटफर्म भनेको मल्टिमिडिया हो, जसबाट धेरै कुरा गर्न सकिन्छ । हामीले बाहिरबाट यहाँ काम ल्याएर आउटसोर्सिङको काम पनि गर्न सक्छौं । बाहिर गएर भन्दा बाहिरको काम यहाँ बसेर गर्न सके, राम्रो हुन्छ । यसका लागि एनिमेसन क्षेत्र नयाँपुस्ताको लागि राम्रो हो ।

एनिमेसन भनेको महंगो फिल्ड हो । नेपालमा भविष्यमा एनिमेटेड फिल्मको सम्भावना उज्ज्वमेनल देखिन्छ । जसले गर्दा यसलाई सरकारले पनि प्रोत्साहन दिनुपर्छ । कसरी नयाँ पुस्तालाई काम दिन सक्छौं भन्नेमा सरकारले ध्यान दिनुपर्‍यो । यसबाट आर्थिक गतिविधि पनि बढ्न सक्छ ।

तपाईंको उमेरका युवती विदेश जाने सपना देखिरहेका हुन्छन् । नेपालमै भविष्य बनाउने भन्नुहुन्छ । विदेशिने सोच आएन ?

तपाईंले भन्नुभएको कुरा मेरो दिमागमा पहिले पनि आइसकेको हो । मलाई पनि जानुछ बाहिर, यहाँ केही छैन । एनिमेसन फिल्डमा कमाइ एकथोपा पनि छैन । तर म यहाँ टिकेको कारण मलाई मेरो देशको माया छ । केही गर्छु भनेर यहाँ आएकी हुँ । पढेकी हुँ । एनिमेटेड फिल्म बनाएका हौं । पछि पनि बन्छ । मेरो उमेर समूहको साथीहरु सबैजना बाहिरै छन् । बाहिर पनि उनीहरुले भन्याजस्तै काम गर्नुपर्छ । १२ घण्टा काम गरेर उनीहरुलाई दिनुभन्दा त हामी यहीं बसेर आफ्नो प्रोडक्ट निकालौं त भन्ने हो । पहिला जाऊँ जस्तै लाग्या थियो, अब चाहिं यहीं बस्छु ।

नेपाली फिल्ममा महिला सहभागिता बढीभन्दा बढी हुनु किन आवश्यक छ ?

महिलाले सबै कुरा व्यवस्थापन गर्न सक्छन् । घरमै हेरौं न, महिलाले मजाले म्यानेज गर्छन् नि । विश्वसनीय पनि हुन्छन् उनीहरु । जिम्मेवारी लिइरहेका हुन्छन् । त्यही भएकाले महिलामा शक्ति हुन्छ । नेपालमा महिला केही दमित पनि छन् । भविष्यमा महिलाहरु अझ बढी आउनुपर्छ ।

यो फिल्मलाई विदेशमा देखाउने, ओटीटीमा ल्याउने योजना के छन् ?

पहिला नेपालमै रिलिज गर्छौं । बाहिर पनि ओटीटीमा ल्याउने कुरा पनि छ । अहिले नेपालमा केन्द्रित हुन चाहेका हौं । बाहिर अहिले फोकस हुन नचाहेको हो । अमेरिका र अष्ट्रेलियाका नेपाली दर्शकलाई हाम्रो फिल्म देखाउने योजना छ । त्यहाँ अहिले कुरा भइराखेको छ । यहाँको काम सकिएपछि जाने योजना छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?