+
+

रानाथारू बस्तीमा होलीको उल्लास

रासस रासस
२०८० चैत १४ गते १२:४२

१४ चैत,  कञ्चनपुर ।  परम्परागत थारू पहिरनमा सजिएका बालबालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् ।

दुई समूहमा रहेका उनीहरु छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् । त्यहीबीचमा एकजना ढोल पिट्दै छन् । गोलघेरामा रहेका महिला र पुरुषले होली गीत गाउँदैछन् । यो कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानमा देखिएको रानाथारू समुदायको होलीको दृश्य हो ।

अन्य समुदायभन्दा यो समुदायले होली भिन्न तरिकाले मनाउँछन् । थारूबस्तीमा होलीको उल्लास छ । नयाँ कटानका स्थानीय बासिन्दा चेतराम रानाका अनुसार यस समुदायमा एक महिना लामो अवधिसम्म होली मनाउने प्रचलन रहेको छ ।

‘पुर्खौंदेखि चलिआएको चलनअनुसार परम्परागत तरिकाले होली मनाउँछौँ । माघ पूर्णिमादेखि होली सुरु हुन्छ,’ उनले भने, ‘गुइँठा राखेर होलीको सुरुआत गरिन्छ ।’

गाईवस्तुको गोबरबाट बनाइने गुइँठाको जोहो होलीअघिदेखि नै गर्ने गरिन्छ । रानाथारू समुदायको प्रत्येक घरमा गोबर सुकाएर गुइँठा बनाइन्छ । गुइँठा नबनाएकाहरुले अरूको घरबाट ल्याएर भए पनि माघ पूर्णिमामा होलीमा राख्ने प्रचलन रहेको रानाले बताए ।

‘एक महिनाभर राति मात्रै होली खेलिन्छ । जसको घरमा खेलिन्छ उसैको घरमा मिठाई खाइन्छ,’ उनले भने, ‘फागुन पूर्णिमामा होली जलाइन्छ ।’

रानाका अनुसार माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म मनाइने होलीलाई ‘जिन्दा होली’ भनिन्छ । होली जलाएपछि अर्को दिन बेलुका गुइँठाको खरानीको टीका लगाइन्छ ।

‘होली हाल्दा र जलाउँदा त्यहाँ नाचगान गर्ने गरिन्छ,’ स्थानीय प्रिया रानाले भनिन्, ‘त्यहाँबाट गीत गाउँदै गाउँको मूलीको घरमा आएर होली खेल्ने प्रचलन छ ।’ त्यसपछि अर्को दिनदेखि घर-घरमा गएर होली खेल्ने गरिन्छ ।

चेलीबेटीले सुरुमै घरमा गएर होली खेल्नका लागि प्रस्ताव राख्छन् । घरमूलीले स्वीकृत गरेपछि मात्रै त्यो घरमा होली खेल्ने चलन रहेको उनले जानकारी दिए ।

प्रियाका अनुसार घरघरमा गएर एक सातासम्म खेल्ने होलीलाई ‘मरी होली’ भनिन्छ । गत सोमबारदेखि सुरु भएको रानाथारू समुदायको यो होली आगामी सोमबारसम्म चल्ने उनले जानकारी दिए ।

महिला थारू परम्परागत पहिरन घघरिया, अगिया, उडनिया तथा पैडामा सजिएर होली गीत गाउँदै झुम्मिछन् । पुरुषले स्थानीय भाषामा झगिया लगाए होली खेल्छन् ।

होलीमा बाजे, छोरा र नातिनातिना तीनै पुस्ताको सहभागीताले संस्कृति पुस्तान्तरणमा सहज भएको बसन्ती रानाले बताइन् । ‘बुढापाकासँगै बालबालिका पनि होलीमा सहभागी भएका छन् । यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे ज्ञान हुन्छ,’ उनले भनिन्, ‘यसले रमाइलोसागै संस्कृति संरक्षणमा टेवा पुर्‍याएको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?