+
+

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १९:०४

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ ।

प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् । उनले पार्टीका संरक्षक रेशमलाल चाैधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने बताए ।

‘पार्टीका संरक्षक बिना बसेकाे अल्पमतकाे बैठकले गरेकाे निर्णय कसरी मान्ने ?’, चाैधरीले भने, ‘उहाँ(रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो समर्थन रहन्छ ।’

रेशम चाैधरी अहिले जापानमा रहेका बेला उनकी पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा बुधबार बसेकाे बैठकले संघ र प्रदेशमा एमाले-माओवादी-रास्वपासहितकाे गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेकाे छ ।

२१ जना केन्द्रीय सदस्यमध्ये बुधबारकाे बैठकमा १२ जनाकाे उपस्थिति रहेकाे थियो । यसअघि रेशम चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यहरूले ज्येष्ठ सदस्य दामोदर पण्डितकाे अध्यक्षतामा बसेकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे थियाे ।

त्यसपछि अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासकाे मत दिन ह्विप जारी गरेकी थिइन् । उक्त निर्णयपछि रेशमले रञ्जितालाई सम्झाउन नसकिएकाे बताएका थिए ।

सुदूरपश्चिममा सरकार निर्माणमा निर्णायक भूमिकामा रहेकाे नाउपाबाट मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन  राज्यमन्त्रीसहित ५ जनालाई मन्त्री बनाएका छन् ।

नाउपाका ७ प्रदेशसभा सदस्य छन् । कैलाश चाैधरी र टीका थापा मात्र सरकार बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?