+
+

बजेट अभाव भन्दै गुल्मीको छल्दी-ठाढुंगा सडक स्तरोन्नति सुस्त, प्रगति २५ प्रतिशत मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते ९:१५

१५ चैत, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर-२ छल्दी हुँदै वडा नम्बर-३ ठाढुंगा जोड्ने सडक स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदारले बजेट अभाव भएको भन्दै काममा ढिलासुस्ती गरेपछि स्थानीय मर्कामा परेका छन् ।

छल्दी-ठाढुंगा खण्डको ५.६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ०७९ साल वैशाख २६ गते सम्झौता भएको थियो । २४ करोड ७२ लाखमा रौताहा-श्रेष्ठ-ओमबुद्ध जेभीले ठेक्का पाएको थियो । सम्झौता अनुसार २०८१ साल वैशाख २५ गते काम सम्पन्न गर्नुपर्छ । तर, चैत पहिलो सातासम्म २५ प्रतिशत भौतिक प्रगति र १८ प्रतिशत वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका इन्जिनियर सागर पोखरेलका अनुसार हालसम्म ३ किलोमिटर क्षेत्रमा स्तरोन्नतीको काम केही मात्रामा मात्र भएको छ ।

सडकमा अघिल्लो वर्ष केही काम भए पनि यस वर्ष भने खासै काम भएको छैन । ‘केही महिनायता निर्माण व्यवसायीले बजेट अभावले काम गर्न नसकिएको भन्दै थोरै मात्र कामदार परिचालन गर्ने गरेका छन्,’ उनले भने ।

सडक निर्माणका लागि यस आर्थिक वर्षमा १ करोड रकम मात्रै विनियोजन भएको थियो । सडक निर्माणमा पर्याप्त बजेट नहुँदा निर्माणको काम हुन नसकेको इन्जिनियर पोखरेलले बताए । निर्माण व्यवसायीले काम गरेको बिल अनुसार भुक्तानी गर्न नसकिएकाले काम बिचैमा रोकिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

ग्रामीण क्षेत्रमा पुग्ने सहायक राजमार्गको रुपमा रहेको छल्दी-ठाढुंगा सडक हुँदै गुरुवा, हस्तिचौर, मल्दी, उजुङ, ठाढुंगा, इस्मा, अर्जै लगायतका विभिन्न ठाउँमा पुग्न सकिन्छ । तर सडक निर्माणको काम भने सुस्त गतिमा हुँदा स्थानीयले सास्ती खेपिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?