+
+

साढे दुई महिनामा ४४.९ मिटर खनियो सिद्धबाबा सुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १४:३७

१८ चैत, काठमाडौं । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको साढे दुई महिनामा ४५ मिटर खनिएको छ ।

आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघबाट औपचारिक सुरु भएको थियो ।

पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम १५.६ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रो ४ मिटर खनिसकिएको छ ।

स्लोप कटिङ र प्रोटेक्सनतर्फ १ सय ८८ मिटर बराबर काम भएको छ । नर्थ पोर्टल र साउथ पोर्टलको काम समेत सुरु भएको आयोजनाले जनाएको छ ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ । यी सबै कामको भौतिक प्रगति ११.०५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

आयोजनामा कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७ सय ८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि उक्त क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा छ ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सकिएको थियो । सीएससीईसीले इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा सुरुङ मार्गको ठेक्का पाएको छ ।

यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो ।

यो सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मार्फत ठेक्का आह्वान गरेको थियो ।

सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।

यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधन क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।

कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगालाई सिधै तल झार्ने छ ।

यसरी कुल तीन किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङमार्गका तीन स्थानमा खुला भाग राखिने छ । आकस्मिक घटना भइहाले सोही स्थानबाट उद्धारको काम हुनेछ ।

सुरुङमार्ग निर्माणका लागि १६ पुसबाट सिद्धार्थ राजमार्ग समेत रातको समयमा बन्द गर्ने गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साँघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?