+
+

सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति, १९.७ मिटर खनियो

सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन ११ गते १९:५०

११ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।

आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।

पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम ५.८ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन भइसकेको छ । स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ ।

आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति १०.४५ प्रतिशत पुगेको छ । जसमध्ये ६.४ प्रतिशतमा डिजाइन, विस्तृत अध्ययन, रूखकटान, ल्याब तथा पवार सप्लाइका काम पर्छन् भने ४.०५ प्रतिशत प्रगति भने संरचना भएको देखिएको छ ।

नर्थ पोर्टल र साउथ पोर्टलको काम समेत सुरु भएको आयोजनाले जनाएको छ । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो ।  सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङ मार्गको ठेक्का पाएको हो ।

यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो ।

९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माण पश्चात समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनु पर्ने सर्त छ ।

यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु¥याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।

कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरु बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सिधै तल झार्ने छ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।

सुरुङ मार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ । सुरुङ मार्ग निर्माणका लागि १६ पुसदेखि सिद्धार्थ राजमार्ग समेत ६ घण्टा बन्द गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?