+
+
सिद्धबाबा सुरुङमार्ग :

१०० दिनसम्म सडक बन्द गर्ने पाल्पाको निर्णयमा रुपन्देही असहमत

पुस २९ देखि माघ १ गतेसम्म राजमार्ग बन्द नगर्ने रुपन्देही प्रशासनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते ८:३९

१३ पुस, बुटवल । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न यही पुस १६ गतेदेखि एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनले असहमति जनाएको छ । पाल्पाको निर्णयमा असहमत रुपन्देही प्रशासनले अलग्गै निर्णय गरेर सार्वजनिक गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यही पुस ८ गते सुरुङमार्ग निर्माणलाई सहज बनाउन भन्दै पुस १६ गतेदेखि एक सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गरेका थिए ।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकैपटक एक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको जनाएका छन् ।

पाल्पा प्रशासनले सडक बन्द गर्ने निर्णय गर्दा सुरुङमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे शर्त नराखिएको, सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको र माघे संक्रान्तिमा लाग्ने रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले आफूहरुले अलग निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

यस्ता छन् रुपन्देही प्रशासनको निर्णय

उनले माघे संक्रान्ति र रिडी मेलालाई मध्यनजर गर्दै पुस २९ देखि माघ १ गतेसम्म सवारी साधन आवागमन बन्द नहुने निर्णय गरेका छन् ।

रुपन्देहीका प्रजिअ अर्यालले सडक बन्द हुने एक सय दिनलाई दुई चरण (५०–५०दिन) मा विभाजित गरी प्रत्येक हप्ता कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गरेका छन् । कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जन गरिने उनले बताए ।

यस्तै सडक आवागमन बन्द गरी गरिने निर्माण कार्यहरु निर्धारित समयमा पूरा गर्ने र निर्माण कार्यको प्रगतिको साप्ताहिकरुपमा सुक्ष्म अनुगमन गरी सर्वसाधारणको जानकारीका लागि सार्वजनिक समेत गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।

सवारी साधनको आवत जावत बन्द गर्नेसमय अवधिमा वैकल्पिक सडकको रुपमा साना सवारी साधनको लागि नुवाकोट–दोभान सडक खण्डलाई प्रयोगमा ल्याउने र उक्त सडक सहज सञ्चालनका लागि मर्मत कार्ययोजना कार्यालयले तत्कालै गर्ने निर्णय भएको छ ।

सडक बन्द हुने र गरिने विषयको सूचना सम्बन्धित सबै सरोकारवाला निकायहरु तथा सडक प्रयोगकर्ताहरुमा प्रवाह गर्न होर्डिङ बोर्ड लगायत आवश्यक व्यवस्था गरी अन्योलता हटाउने र

सडक प्रयोगकर्ता लगायत सरोकारवालाहरुको सहजताका लागि सम्पर्क व्यक्तिको रुपमा योजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीलाई तोक्ने निर्णय भएको छ । सडक आवागमन बन्द हुने समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले आवश्यक सतर्कता र सावधानी अपनाउन प्रजिअ अर्यालले निर्देशन दिएका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।

रूपन्देही प्रशासनले गरेको निर्णय

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुरूप काम भए अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।

रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग डेढ वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?