+
+

यी हुन् यसवर्षका डलर अर्बपति सेलिब्रेटी, टेलर स्वीफ्ट पहिलोपटक सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ११:५८

काठमाडौं । फोर्ब्स म्यागजिनले सन् २०२४  का डलर अर्बपतिको सूची सार्वजनिक गरेको छ । यो सूचीअनुसार हलिउड फिल्म निर्देशक जर्ज लुकास ५.५ बिलियन अमेरिकी डलरसहित सर्वाधिक धनी सेलिब्रेटी घोषित भएका छन् ।

ब्लकबस्टर ‘स्टार वार्स’ निर्देशन गरेका उनी सन् १९९७ मा अर्बपतिको सूचीमा समावेश थिए । उनले आफ्नो कम्पनी लुकास फिल्मलाई सन् २०१२ मा ४ बिलियन डलरमा डिज्नीलाई बिक्री गरेका थिए ।

हलिउड फिल्म निर्देशक स्टिभन स्पिलवर्ग ४.८ बिलियन डलरसहित दोस्रो स्थानमा छन् । सन् १९९४ मा पहिलोपटक अर्बपति बनेका ७७ वर्षिय निर्देशकले जुरासिक पार्क, जज्, स्किन्डलरजस्ता फिल्म निर्देशन गरेका छन् ।

सूचीको चौंथो स्थानमा टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे छिन् । उनको कूल सम्पत्ति २.८ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । सन् २००३ मा पहिलो महिला अश्वेत अर्बपति बनेकी ओफ्रा मिडिया र मनोरञ्जन साम्राज्यकी ठूलो ब्राण्ड हुन् । उनले रियल स्टेट र आफ्नो निर्माण कम्पनीमा लगानी गरेकी छन् ।

अमेरिकी हिपहप कलाकार जे-जेड २.५ बिलियन डलरसहित सूचीको पाँचौं स्थानमा छन् । छैटौं स्थानमा अमेरिकी सेलिब्रेटी किम कार्दासियन छिन् । ४३ वर्षिया उनको कूल सम्पत्ति १.७ बिलियन डलर छ । सौन्दर्य र पहिरनको ब्राण्डबाट उनी अर्बपति बनेकी हुन् ।

‘लर्ड अफ द रिङ्स’ र ‘द हविट’जस्ता चर्चित फिल्म निर्देशन गरेका पिटर ज्याक्सन १.५ बिलियन डलरसहित सूचीको सातौं स्थानमा छन् । भिजुअल इफेक्ट कम्पनी वेटा डिजिटलबाट उनी धेरै कमाउँछन् ।

अमेरिकी कलाकार टायलर पेरी १.४ बिलियन डलरसहित सूचीको आठौं स्थानमा छिन् । नवौं स्थानमा रहेकी गायिका रिहानाको कूल सम्पत्ति १.४ बिलियन डलर छ । कस्मेटिक कम्पनी फेन्टी बेन्टी, विलासी सामान उत्पादन गर्ने थप दुई कम्पनी एलभीएमएच र साभेज एक्स पनि उनका कम्पनी हुन् ।

चौंधौ स्थानमा टेलर स्वीफ्ट छिन् । ३४ वर्षिया अमेरिकी गायिकाको कूल सम्पत्ति १.१ बिलियन डलर छ । आफ्नो ऐतिहासिक इरास टूरबाट उनले १९० मिलियन डलर कर तिरेको उल्लेख छ । आफ्नै गीत लेखन र गायनबाट अर्बपति हुने टेलर पहिलो गायिका हुन् । उनी पहिलोपटक फोर्ब्स सूचीमा सामेल भएकी हुन् ।

सूचीका अन्य स्थानमा खेलाडीहरु माइकल जोर्डन, टाइगर उड्स लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?