+
+

सेयर बजारमा बैंकिङ सूचक ४५ महिनायताकै खराब

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते ९:२८

२३ चैत, काठमाडौं । सूचीकृत १९ वाणिज्य बैंकहको सेयर मूल्य उतारचढावलाई ‘बैंकिङ’ सूचकले जनाउँछ । यो सूचक यतिबेला ४५ महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा अन्य क्षेत्रका सूचकहरु पनि उतारचढाव भइरहेका छन् । तर बैंकिङ सूचक भने १५ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुँदा बैंकिङ समूहको सूचक १०५० अंकमा झरेको छ ।

१५ असार २०७७ मा १०१६ अंकमा रहेको बैंकिङ सूचक १० साउन २०७८ मा २१७५ अंकसम्म पुगेको थियो । त्यस वर्ष भदौ २ मा नेप्से परिसूचक पनि ३१९८ अंकसम्म पुग्यो । त्यतिबेला बैंकिङ समूहले नै बजारलाई उच्चतम अंकमा पुर्‍याएको थियो ।

भदौ २०७८ पछि समग्र बजारले ‘बियरिस ट्रेन्ड’ समात्यो, त्यही ट्रेन्डको लयमा बैंकिङ सूचक पनि घट्दै गयो । यसबीच पटक–पटक नेप्से परिसूचक १८०० आसपास आउँदै २२०० नजिकसम्म पुग्यो । तर, १८०० बाट तल झर्न सकेन, अहिले नेप्से २००४ अंकमा छ । तर, बैंकिङ सूचक ४५ महिनाकै न्यूनतम बिन्दुमा छ ।

सामान्यतया सेयर बजारको परिसूचक र बैंकिङ सूचकको ट्रेन्ड उस्तै हुने गर्छ । बैंकिङ समूह नै बजारमा सबैभन्दा शक्तिशाली समूह भएकाले यसको ट्रेन्ड र नेप्सेको ट्रेन्ड मिल्दोजुल्दो देखिने गरेकोमा अहिले बैंकिङ र नेप्सेको ट्रेन्ड फरक देखिन्छ । बैंकिङ समूह लत्रिएकै कारण सेयर बजार माथि उठ्न नसकेको बजारका जानकार बताउँछन् ।

समूहगत लाभका आधारमा बैंकिङ क्षेत्रका लगानीकर्ता नै सबैभन्दा पीडित भएका छन् । कतिपय वाणिज्य बैंकको सेयर मूल्य कारोबार भइरहँदा ५२ साताकै न्यूनतम बिन्दुमा झरेको छ ।

किन थलियो बैंकिङ सूचक ?
बैंकिङ क्षेत्रको सूचक अत्यधिक घट्नुमा मुख्यतः यस क्षेत्रका कम्पनीको सेयर संख्या अधिक हुनु, वित्तीय स्थिति र प्रतिफल दर कमजोर बन्दै जानु, लगानीकर्ता स्पेकुलेसनतिर मोडिनु मुख्य कारण रहेको लगानीकर्ता बताउँछन् ।

बैंकहरूको चुक्ता पूँजी बढाइनु, बोनस सेयर वितरणका लागि नियामकले दबाब दिनुजस्ता कारणले तिनको सेयर संख्या उच्च दरमा बढेको हो । एकातिर सेयर संख्या बढ्ने र अर्कातिर बैंकहरूको औसत ‘रिटर्न अन इक्विटी’ घट्नुले यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण घटेको छ ।

‘अन्य क्षेत्रका कम्पनीहरूको सेयरमा बरु कारोबार गरिरहँदा मूल्य बढेर पूँजीगत लाभ हुन सक्छ, तर बैंकिङ क्षेत्रमा त्यो स्थिति देखिएन,’ बजारमा सक्रिय लगानीकर्ता पिताम्बर खकुरेलले भने । आधारभूत रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा बैंकिङ क्षेत्रलाई बलियो र भरपर्दो मानिन्छ ।

‘जुन क्षेत्र बढ्छ, त्यही क्षेत्रमा लगानीकर्ता झुम्मिन्छन्, भीड बढेपछि त्यो क्षेत्रले राम्रो स्थान पाउँछ, त्यसैले हाइड्रोपावर समूह अरूभन्दा राम्रो देखियो,’ खकुरेलले भने, ‘घटिरहेको बैंकिङमा झन् घट्छ भन्ने डर देखियो, सबैले छाडेपछि धेरै तल झर्‍यो । हरेक स्टक मार्केटमा लगानीकर्ताको मनोभाव यस्तै प्रकृतिको रहने गरेको छ ।’

त्यस्तै बैंकिङ क्षेत्रको बिग्रिएको वित्तीय स्थितिले पनि लगानीकर्ताको मनोभावमा असर परेको उनले बताए । ‘बढ्दो खराब कर्जा, उच्च लोनलस प्रोभिजन, वितरणयोग्य नाफा ऋणात्मकजस्ता कमजोर वित्तीय स्थितिले लगानीकर्ता आकर्षित हुन पनि सकेनन्,’ उनले भने । दोस्रो त्रैमाससम्म बैंकहरूले प्रवाह गरेको कुल कर्जामा औसत ३.७ प्रतिशत उठ्न नसकेको निष्क्रिय कर्जा छ । यस्तो कर्जाको दर एक वर्ष अवधिमा दोब्बर भएको हो ।

केही बैंक ५२ साताकै न्यून मूल्यमा
यतिबेला सूचीकृतमध्ये केही बैंकको मूल्य ५२ साताकै न्यूनतम बिन्दुमा झरेको छ । केही बैंकहरूको मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल झरेको छ । यस्तो ५२ साताकै न्यूनतम मूल्यमा झरेका कम्पनीको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?