+
+

काठमाडौंको वायु विश्वमै अस्वस्थकर, खुमलटारमा सबैभन्दा खराब

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ९:०९

२६ चैत, काठमाडौं । काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।

सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।

नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् । जनस्वास्थ्यविद् कमल रानाभाट अहिले काठमाडौंको हावा अस्वस्थकर अवस्थामा रहेको बताउँदै सुरक्षाका उपाय अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ ।’

२०७७ साल चैतमा काठमाडौंको वायु प्रदूषण उच्च भएपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

खुमलटारको वायु अत्यन्तै अस्वस्थकर

नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१० पुगेको थियो । खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ ।

यसैगरी रत्नपार्कको १७२, शंखपार्कको १६६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १६६, भैंसेपाटीको १६५, भक्तपुरको १६० र धनकुटाको १५२ छ ।

वायु प्रदूषणका कारण

वायु प्रदूषण बढ्नुमा विभिन्न कारणहरु हुन्छन् । नेपालमा प्राय चैतदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने गर्दछ । वायु प्रदूषण बढ्नुमा डढेलो एक महत्वपूर्ण कारण हो । अर्को कारक पर्याप्त वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी हुनु पनि प्रदूषणको कारण हो ।

काठमाडौं उपत्यका कचौराको आकार जस्तो भएकाले यहाँको प्रदूषण हट्न कि त पार्न पर्नुपर्छ कि भने तीव्र गतिमा हावा चल्नुपर्छ । अहिले यी दुवै स्थिति नभएकाले हावामा धुलोको कण बढेको छ ।

अन्य मानवीय कारणहरुमा सवारी साधन, पावर प्लान्ट, औद्योगिक कलकारखानाबाट निस्किएको धुवाँ, सडक निर्माणका गतिविधि लगायतका कारणहरु पनि हुन् । नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडकखण्ड विस्तार कार्यले पनि धुलो उडेर वायु प्रदूषणलाई बढाएको छ ।

वायु प्रदूषणले मानव शरीरको हरेक अंगमा असर गर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘वायु प्रदूषणले सबैभन्दा पहिले श्वासप्रश्वास प्रणालीका अंगहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ । जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता समस्या निम्तिन सक्छ,’ डा. पंगेनी भन्छन्, ‘प्रदूषणको कारण तत्कालीन रूपमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको इन्फेक्सन जस्ता समस्या देखापर्छ ।’

वायुमण्डलमा भएको ग्यास र मसिनो धुलोका कण श्वासप्रश्वास नली फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ । रक्तसञ्चार प्रणाली हुँदै शरीरको हरेक अंगमा पुगेर दीर्घकालीन रूपमा मुटुमा पुगेर मुटुको चाल बढ्ने, हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्ने पंगेनी बताउँछन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ ।

प्रदूषण न्यूनीकरण गर्न पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन, हरित शहर, साइकल सिटी लगायतका अवधारणा अनुसार काम गर्नुपर्ने जनस्वास्थ्यविद रानाभाट बताउँछन् । ‘संविधानमै स्वास्थ्यको हक छ । प्रदूषण गर्नेलाई नै दण्डित गर्ने कानुन छ, तर ती कार्यान्वयन भइरहेका छैनन्,’ रानाभाट भन्छन्, ‘हाम्रो संविधान र अन्य ऐन कानुन नियमहरुमा भएका व्यवस्थाहरु व्यवहारमै कार्यान्वयन गर्न सक्दा मात्रै पनि वायु प्रदूषण धेरै हदसम्म कम गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?