+

वायु प्रदूषणले शरीरको कुन अंगमा कस्तो असर गर्छ ?

२०८० जेठ  २ गते १६:२१ २०८० जेठ २ गते १६:२१
वायु प्रदूषणले शरीरको कुन अंगमा कस्तो असर गर्छ ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै घातक असर देखिएको छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् ।

प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन् । जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ ।

वायु प्रदूषणले मानव शरीरको हरेक अंगमा असर गर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्ताउँछ,’ उनी भन्छन् ‘वायु प्रदूषणले सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ । जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता समस्या निम्तिन सक्छ ।’

प्रदूषणको कारण तत्कालीन रूपमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको इन्फेक्सन जस्ता समस्या देखा पर्ने पंगेनी बताउँछन् ।

डा. राजु पंगेनी

वायुमण्डलमा भएको ग्यास र मसिनो धुलोका कण श्वासप्रश्वास नली फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ । रक्तसञ्चार प्रणाली हुँदै शरीरको हरेक अंगमा पुगेर  दीर्घकालीन रूपमा मुटुमा पुगेर मुटुको चाल बढ्ने, हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्ने पंगेनी बताउँछन् ।

गर्भवती महिला वायु प्रदूषणको सम्पर्कमा आएमा कम तौलको बच्चा जन्मिने तथा बच्चामा दमरोग समेत देखिन सक्छ । धेरै वायु प्रदूषण हुने ठाउँमा बस्ने मानिसको झण्डै चार वर्ष आयु घट्ने विभिन्न अध्ययनले देखाएको पंगेनी बताउँछन् ।

वायु प्रदूषणले प्रत्यक्ष रूपमा असर गर्ने अंगहरु

मुटु

हावामा भएको मसिना धुलोको कण ‘पीएम २.५’ र अन्य विभिन्न सूक्ष्म कण स्वास्थ्यका लागि हानिकारक छ । यस्तो प्रदूषणले रक्तनलीहरूलाई साँघुरो र कडा बनाएर क्षति पुर्‍याउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु बताउँछन् । ‘जसले शरीरमा रगत स्वतन्त्र रूपमा प्रवाह हुन पाउँदैन । रगत जम्ने सम्भावना बढी हुन्छ । साथै मुटुले रगत पम्प गरेर शरीरका अन्य भागमा पर्याप्त मात्रामा रगत नपाएका कारण रक्तचाप बढ्छ, मुटुको मांसपेशीमा दबाब बढ्छ  र मुटुको चाल गडबड हुन्छ । हृदयघात र मुटुरोगको जोखिम पनि बढ्छ,’ उनी भन्छन् ।

डा. राजेन्द्र कोजु

प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मस्तिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने कोजुले बताए ।

मस्तिष्क

वायु प्रदूषणले शरीरको हरेक अंगमा असर गरेजस्तै मस्तिष्कमा पनि प्रत्यक्ष रूपमा असर गर्ने न्युरोलोजिस्ट डा. सुमन भट्टराई बताउँछन् । ‘प्रदूषणले धमनीहरूलाई कडा बनाउँछ, जसले रगत जम्ने हुन्छ  । रगत राम्रोसँग मस्तिष्कमा सञ्चालन हुन नपाउँदा मस्तिष्कघात हुने सम्भावना हुन्छ,’ उनी भन्छन् ।

प्रदूषणले तनाव पनि बढाउने र तनाव बढिरहेमा स्ट्रोक हुने सम्भावना हुने डा.  भट्टराई बताउँछन् ।

डा. सुमन भट्टराई

आँखा

प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्नेजस्ता समस्या देखिने बाल आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठ बताउँछिन् । ‘प्रदूषणकै कारण अहिले सबै उमेर समूहमा आँखाको समस्या देखिन्छ । प्रदूषणले आँखाको एलर्जी समेत हुन्छ, जसलाई चिकित्सकीय भाषामा एलर्जीका कन्जक्टिभाइटिस भन्ने गरिन्छ,’ उनी भन्छिन्, ‘यसका कारण आँखामा संक्रमण बढेर दैनिक काम गर्न समेत नसकिने अवस्था हुन सक्छ ।’

डा. सविना श्रेष्ठ

उडिरहेको धुलो आँखाको परेलीमा जमेर बस्ने र त्यसबाट संक्रमण हुने डा. श्रेष्ठ बताउँछिन् ।

छाला

ओजन तह पृथ्वीको वायुमण्डलको पातलो भाग हो, जसले सूर्यको पराबैजनी किरणको अधिकांश मात्रा सोस्छ । तर वातावरण प्रदूषणको कारण त्यो तह पातलिंदै जाँदा त्यस्तो विकिरण पृथ्वीको सतहसम्म आइपुग्छ । यसले छालामा प्रत्यक्ष असर पर्छ । वातावरणमा भएको मसिनो धुलोको कण र रासायनिक प्रदूषणले पनि छालामा असर गर्ने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

प्रदूषणले छालाको सतह, रौं,  छालाको ग्रन्थि र भित्री तहलाई पनि असर गर्छ । जसले छालामा डण्डीफोर, छालाको इन्फेक्सन, छाला जल्ने, दाग धब्बा, चाउरीपन, छाला झोल्लिने, समयभन्दा अगावै बुढो देखिने र छालाको क्यान्सरजस्ता समस्या निम्त्याउन सक्ने डा. पौडेल बताउँछन् ।

डा. विकास पौडेल

वायु प्रदूषणको जोखिमबाट बच्ने उपाय

-बाहिर हिंडडुल गर्दा मास्कको प्रयोग गर्ने ।

-मानवबस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने ।

-पुराना सवारीसाधन हटाउने र नयाँ सवारीसाधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने ।

-ढल निकासको उचित व्यवस्था गर्ने ।

-इन्धनको रूपमा प्रयोगमा जोड दिंदै दाउरा, कोइलाको सट्टा, गोबर ग्यास, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने ।

-पूरा शरीर ढाक्ने खालका कपडा लगाएर हिंड्ने ।

-बाहिर हिंड्दा छाता, क्यापको प्रयोग गर्ने ।

वायु प्रदूषण स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?