+
+

रविलाई राजेन्द्र लिङ्देनको प्रश्न : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्ने तागत छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते २०:२१

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना गरेका छन् । आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनले यो दिन यादमा राखिराख्ने चेतावनी दिएका छन् ।

४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यासका साथै लाठीचार्ज गरेको थियो ।

थापाथली चोकमा आयोजित सभामा राप्रपा नेताहरूले गृहमन्त्रीको आलोचना गरे । अध्यक्ष लिङ्देनले गृहमन्त्रीको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताए । ‘लोगो लगाएको सांसदलाई तपाईले के गर्नुभयो ? मलाई कुट्नुभयो भनेर म भन्दिनँ, ज्ञानेन्द्र शाहीको कोट नै देखाइएको छैन । कुन प्रकारको पूर्वाग्रह हो ?’ उनले भने, ‘माननीय बुद्धिमान तामाङमाथि जुन प्रकारको आक्रमण गर्नुभयो, यसलाई हामीले राम्ररी याद गरेका छौं ।’

‘गृहमन्त्रीको आदेश विना बहालवाला सांसदलाई पुलिसले त्यसै गरेको हो भन्ने हामी ठान्दैनौं । आदेश कसरी जान्छ ? कसरी योजनहरू बन्छन्, हामीले राम्रोसँग याद गरेका छौं । गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईंभन्दा धेरै अगाडिदेखि हामी छौं ।’

उनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्ने गृहमन्त्रीलाई आग्रह गरे । बरु उनले गृहमन्त्रीलाई चुनौती दिए, मैले भद्रकाली अगाडि उभिएर भनेको छु, यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?

शान्तिपूर्ण प्रदर्शन गर्न दिनुस्, निषेधित क्षेत्र हटाउनुस्भन्दा राज्यशक्तिको तागत देखाएको भन्दै उनले भने, निहत्था मान्छेहरुमाथि आक्रमण गरेर देखिस् म गृहमन्त्री हुँ भनेर बहादुरी देखाउने ? तपाईंका दिन पनि हेरौंला ।’

आफूहरु जनतालाई झुक्याएर नआएको भन्दै उनले राप्रपाले जितेको अवस्थामा अभिभावकका रुपमा राजा ल्याउने, प्रदेश तह खारेज गर्ने, ०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारीहरुलाई जेल हाल्ने बताए । ‘हामी कुनै नाटक गर्दैनौं, आकाश तापाल जहाँबाट पनि ल्याउँछौं भन्ने ठूलो भाषण पनि गर्दैनौं, तर भ्रष्टहरु कसैलाई पनि छोड्दैनौं’ उनले भने, ‘ठूलो माछा पक्रिए भनेर गफ लगाउने, अनि मन्त्री जान्छ भनेपछि माछा फुत्त पोखरीमा हाल्ने काम हामी गर्दैनौं ।’

उनले सत्ताको दम्भ नदेखाउन गृहमन्त्री र प्रधानमन्त्रीलाई आग्रह गरे । यही व्यवहार गरेर आन्दोलन कठोर बनेर विद्रोहमा परिणत हुने लिङ्देनको चेतावनी छ । प्रधानमन्त्री प्रचण्डको नाम लिंदै उनले भने, ‘तपाईंहरुले विदेशीको आडमा तालिम र हतियार लिएर जनयुद्ध चलाउनुभयो, हामीले विद्रोहमा जानुपर्‍यो भने सम्पूर्ण समय बन्दुकसँग खेलेका हजारौं मान्छे छन् ।’ यद्यपि त्यस्तो विद्रोहमा जानु हुन्न भनेर राप्रपाले शान्तिपूर्ण प्रदर्शनको बाटो रोजेको उनले स्पष्टीकरण दिए ।

रवि लामिछानेलाई छानबिन हुनु नपर्ने कुन व्यवस्था हो ?गृहमन्त्रीमाथि निकै आक्रमक देखिएका राप्रपा अध्यक्ष लिङ्देनले सहकारी प्रकरणलाई जोडेर समेत प्रश्न गरे ।

सहकारीबारे देशभरबाट प्रश्न आएको भन्दै उनले भने, ‘सुशासनको कुरा अरुलाई मात्र लागू हुने, तपाईंलाई लागू नहुने भने हुन्न गृहमन्त्रीज्यू । देशले प्रश्न उठाइरहेको छ सहकारीको विषयमा, तपाईंले सफाइ दिनु पर्दैन ? छानबिनका लागि बोटो खोल्नु पर्दैन ?’

उनले अगाडि भने, ‘रवि लामिछानेलाई छानबिन नै हुनु नपर्ने कुन व्यवस्था हो ? छानबिन गराउनुस् । छानबिन गर्दा दोषी देखिएन भने ठीक छ ।’

उनले पहिलो पटक गृहमन्त्री हुँदा गरेको निर्णयलाई लिएर समेत लामिछानेमाथि प्रश्न गरेका छन् । ‘नयाँ हौं भन्नेहरुले कस्तो फूर्ती साथ भनेका थिए, सबभन्दा पहिला निर्मला हत्या काण्डको अपराधी पत्ता लगाउँछु भनेर’ उनले भने, कहाँ पुग्यो गृहमन्त्रीजी तपाईंको त्यो आदेश ? को हो निर्मला हत्याकाण्डको अपराधी ? नक्कली कुरा अब धेरै दिन टिक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?