+
+

राप्रपाको प्रदर्शनमा १८ जना घाइते, ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १९:२१

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा १८ जना घाइते भएका छन् ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ ।

काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । त्यसैगरी सादा पोशाकका प्रहरीदेखि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।

भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेर प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारीबीच सामान्य झडप भएको थियो भने प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको थियो ।

राप्रपाले भने प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेको थियो । राप्रपाको प्रदर्शनलाई ख्याल गर्दै सोमबार उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा समितिको बैठक बसेर एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको थियो ।

राप्रपाका नेताहरूले शान्तिपूर्ण तरिकाले निषेधित क्षेत्र तोड्ने यसअघि नै बताएका थिए । सोही योजना अनुसार उनीहरू भद्रकालीको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?