+
+

अब आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट चल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:१२

२८ चैत, काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ ।

२ वैशाखदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्न आँबुखैरेनी गाउँपालिकाले ९ पुसमा बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालन सम्झौता गरिसकेको छ ।

२ वैशाखमा उक्त मोटरबोट सेवाको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उक्त जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए ।

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने छ ।

मोटरबोट सञ्चालनले मर्स्याङ्दीलाई आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ ।

जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष चुमानले बताए ।

पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनको भनाइ छ ।

कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा बिच रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहित संरचना निर्माण गर्ने योजना बनाएको छ ।

यसअघि नेपालगञ्ज वाटरपार्क, चितवन नारायणघाट र देवघाट साथै सर्लाही भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेत बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति २ सय ५०, १० देखि १२ मिनेट ५ सय र १५ देखि २० मिनेटसम्म सयर गर्न प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ ।

स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दुरीमा छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?