+
+

पौने २ करोडको डम्पिङ साइडमा दुइटा खाल्डा मात्रै

प्रकाश सिंह प्रकाश सिंह
२०८० चैत २८ गते १४:४३

२८ चैत, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा पौने २ करोडभन्दा बढी लगानी गरेर दुइटा खाल्डाको डम्पिङ साइड बनाइएको छ । आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खड्काबाडा गाउँमाथिको वनमा डम्पिङ साइड बनाइएको थियो ।

डम्पिङ साइडको नाममा दुइटा खाल्डा मात्रै बनाउन नगरपालिकाले १ करोड ८९ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । त्यही पनि प्रयोग हुन नसकेपछि नगरपालिकाले वडा नम्बर १ मा फेरि अर्को बनाउने तयारी थालेको छ ।

करिब ४ वर्षअघि उक्त डम्पिङ साइड बनाउँदा नै स्थानीयबासीले विरोध गरेका थिए । डम्पिङ साइड निर्माणका लागि लागेको ठेक्का पनि मिलेमतोमा भएको आरोप स्थानीयको छ । हन्डिक इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रन्सन प्रालिले डम्पिङ साइड निर्माणको ठेक्का पाएको थियो ।

डम्पिङ साइड निर्माणका बेला मेयर नेपाली कांग्रेसबाट निर्वाचित पदमकुमार गिरी थिए । अहिले एमालेबाट निर्वाचित जनककुमार बोहोरा मेयर छन् ।

मेयर बोहोरा डम्पिङ साइडको नाममा खाडल मात्रै खनिएको र गाउँभन्दा माथि बनाइएकाले त्यसलाई प्रयोग गर्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘हामीले त्यो बेला नै उपयुक्त ठाउँ होइन भनेर विरोध गरेका थियौं । त्यसमाथि यसको काम पूर्ण भएको पनि छैन ।’

फोहोर व्यवस्थापनका लागि उक्त ठाउँ उपयुक्त नभएरै नगरपालिकाले अहिले वडा नम्बर १ मा डम्पिङ साइड बनाउन अध्ययन गरिरहेको बोहोराले बताए । उनले भने, ‘एकातिर गाउँभन्दा थोरै माथि छ । अर्को त्यो धार्मिक क्षेत्र पनि भएकाले त्यसलाई प्रयोग गर्न सकिंदैन ।’

स्थानीय धनबहादुर खड्काले दुइटा खाल्डाको लागि मात्रै यति ठूलो खर्च गर्दा बजेटको चरम दुरुपयोग भएको बताउँछन् । ‘यो हामीले विरोध गर्दागर्दै जबरजस्ती बनाइएको हो,’ उनले भने, ‘नगरपालिकाका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र ठेकेदारले यसमा ठूलो रकम हिनामिना गरेको काम हेर्दै थाहा हुन्छ ।’

फोहोर मैला व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ । फोहोर व्यवस्थापनको लागि डम्पिङ साइड बनाउनुअघि स्थानीयको सहमति र वातावरणमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने फोहारमैला व्यवस्थापन ऐनमा उल्लेख छ । त्यसका साथै वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र निर्माण गर्नुपर्ने हुन्छ ।

नगरपालिकाकी तत्कालीन उपमेयर सृष्टि रेग्मी डम्पिङ साइडको काम सुरू गर्नुअघि कुनै पनि प्रक्रिया पूरा नभएको बताउँछिन् । ‘हामी केही जनप्रतिनिधि र स्थानीयबासीको विरोध हुँदाहुँदै जबरजस्ती बनाइएको हो,’ उनले भनिन्, ‘यो बनाउनुअघि कुनै प्रक्रिया पूरा गरिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?