+
+

वैज्ञानिक सम्मेलनको प्रेरणाले जन्मिएको निरी नेपालको सपना 

अब बदलिंदो दुनियाँ सँगसँगै रफ्तारमा हिंड्न अनुसन्धान र इनोभेसन नभई हुँदैन। यही भएर नै हामीले निरी नेपाल नामक संस्था सुरु गर्‍यौं, त्यो पनि कोभिड-१९ को महामारीले थिचिएको बेलामा।

राजेन्द्र पंगेनी राजेन्द्र पंगेनी
२०८० चैत २९ गते ८:०६

विकसित देशहरूमा नियमित रूपमा वैज्ञानिक सम्मेलनहरू भैरहन्छन्। उक्त सम्मेलनको सबैभन्दा सुन्दर पक्ष विश्वभरिका अनुसन्धानकर्ताहरू एकै थलोमा जम्मा हुन्छन्। आफूले गरेका अनुसन्धानका नतिजाबारे छलफल गर्ने र भावी योजनाका बारेमा ज्ञान बाँड्नु हो। यस्तो गर्दा उनीहरूले आफूले गरेको अनुसन्धानको बारेमा अरूको विचार थाहा पाउँछन्, र उक्त अनुसन्धानलाई अझ परिष्कृत गर्ने मौका पाउँछन्।

म क्यान्सर रोगबारे अनुसन्धान गर्छु। तर गत एक वर्षदेखि मैले क्यान्सरको साथै ‘गल्फ वार इल्नेस’ र क्रोनिक फेटिग सिन्ड्रोम’ भनिने दुई वटा रोगहरूमा अनुसन्धान सुरु गर्ने मौका पाएँ। गल्फ वार इल्नेस खाडी देशहरूमा सन् १९९० मा युद्ध गर्न गएका सैनिकहरूमा देखिएको डरलाग्दो रोग हो।

त्यसैगरी क्रोनिक फेटिग सिन्ड्रोमको कारणले मानिस अत्यन्त छिटो थाक्ने र अन्य धेरै प्रकारका लक्षणहरूबाट ग्रस्त भएर आफ्नो दैनिक क्रियाकलाप गर्न नसक्ने हुन्छन्। अस्पताल वा क्लिनिकमा परीक्षण गर्न आउने व्यक्तिहरूलाई यी रोगहरू नै भएका हुन् भनेर निदान गर्ने विधि र यसलाई निको पार्ने उपचार अहिलेसम्म बनेको छैन। त्यसैले विश्वभरिका वैज्ञानिकहरू सम्मेलनमा आउनुको उद्देश्य एक अर्कासँग सहकार्य गरेर कसरी विश्वका ज्वलन्त समस्याहरूको समाधानमा सहयोग गर्न सकिन्छ भन्ने पनि हो।

यो आलेखमा विभिन्न विधामा काम गर्ने वैज्ञानिक सम्मेलनहरू कसरी सम्पन्न हुन्छन्, सम्मेलनमा हामीले देख्न सकिने प्रेरणादायी दृश्यहरू के के हुन् र यसले अनुसन्धान मात्र नभएर आम मानिसको जीवनमा के कस्तो प्रत्यक्ष र अप्रत्यक्ष असर गर्छ भन्ने बारेमा चर्चा गरिनेछ।

मैले गत वर्षको जुलाई (सन् २०२३) मा सहभागिता जनाएको वैज्ञानिक सम्मेलन अमेरिकाको प्रतिष्ठित स्टोनी ब्रुक विश्वविद्यालयमा थियो। आजभन्दा ६७ वर्ष अगाडि सन् १९५७ मा स्थापना भएको उक्त विश्वविद्यालय १४५४ एकड (११५०० रोपनी) क्षेत्रफलमा फैलिएको छ। अचम्मको संयोग नै मान्नुपर्छ सन् २००० तिर मुम्बईमा स्नातक गर्दा सुरुमा इमेल खाता खोलिसकेपछि मैले लेखेको पहिलो औपचारिक इमेल स्टोनी ब्रुक विश्वविद्यालयलाई नै थियो।

उनीहरूले अलि बाक्लो बुकलेट पठाए। तर टोफेल परीक्षाको लागि पनि चाहिने शुल्क जुटाउन गाह्रो थियो। उक्त विश्वविद्यालयमा प्रवेश पाउन आवश्यक पर्ने अन्य तयारी गर्ने चुनौती त थिए नै। त्यसैले त्यतिबेला अध्ययन गर्नका लागि स्टोनी ब्रुक आउने सपना पूरा हुन नसके पनि २३ वर्षपछि फ्लोरिडाको नोभा साउथ इस्टर्न विश्वविद्यालमा सहायक प्राध्यापक एवम् वैज्ञानिकको रूपमा आवद्ध भएपछि स्टोनी ब्रुक जाने अवसर जुट्यो। आफ्नो जीवनलाई अलिकति पछाडि फर्केर हेर्ने अवसर पनि भयो।

वैज्ञानिक सम्मेलनमा एक अद्भुत उदारता भेटिन्छ। सहभागी बीचमा उदार छलफल हुन्छन्। सम्मेलनको सुरुको दिनमै सम्मेलन सुरु भएको केही घन्टामै एउटा महिलासँग परिचय भयो। उनले भनिन्, ‘म फलानो रोगको बिरामी हो।’ अर्की महिलाले भनिन्, ‘मेरो जेठो छोरा यो रोगबाट पीडित छ।’

त्यहीं फेरि अर्को महिलासँग परिचय भयो, ३० वर्षको आसपास देखिने उक्त महिलाले भनिन्- मैले अर्को विषय पढ्दै थिएँ, तर मलाई नै यो रोग लागेको थाहा पाएँ, त्यसैले स्वास्थ्यले जति साथ दिन्छ तबसम्म यही रोगमै अनुसन्धान गर्ने विचार गरेकी छु। त्यसैले उनीहरूले आफ्नो परिवार सदस्य जस्तै वा आफू जस्तै अन्य बिरामीको लागि एड्भोकेसी र उपचारका लागि अनुसन्धानमा सघाउन आफ्नो जीवन अर्पण गरेका रहेछन्।

अन्य चिकित्सकहरू भेटिए, उनीहरूमध्ये कतिपयले २००-३०० भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका रहेछन्। उनीहरूको सुरुको अनुसन्धान सन् १९७० को सुरुवाती अवस्थामा रहेछ। मैले सोचें, त्यतिखेर त म जन्मेकै रहेनछु। अन्य वैज्ञानिक, प्रतिनिधि र विद्यार्थीहरू भेट भए। उनीहरूको अनुसन्धानको बारेमा बुझ्ने, उनीहरूसँग पनि आफ्ना अनुभव र ज्ञान आदानप्रदान गर्ने जस्ता कुराहरू त वैज्ञानिक सम्मेलनका आधारभूत उपलब्धिहरू नै हुनेभए।

मेडिकल साइन्सेस र जीव विज्ञान सम्बन्धित वैज्ञानिक सम्मेलनको अर्को आकर्षण त्यहाँ उपस्थित विभिन्न कम्पनी हुन्। उक्त कम्पनीहरूले वैज्ञानिक सम्मेलनमा प्रस्तुत भएका र औद्योगिकीकरण गर्न सकिने सम्भावना भएका अनुसन्धानहरूलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने अवसर खोज्न त्यहाँ उपस्थित हुन्छन्।

निरी नेपालको योजनाहरूमा भविष्यमा नयाँ पुस्तालाई विश्वस्तरीय अनुसन्धान केन्द्र सुम्पिने र विदेशमा रहेका नेपालीहरू नेपाल फर्केर वा विदेशबाटै अनुसन्धानमा हातेमालो गर्ने वातावरण निर्माण गर्ने हो।

अलि कम उमेरकै केही वैज्ञानिक थिए, उनीहरूले नयाँ कम्पनी खोलेका रहेछन्। उनीहरूले अनुसन्धानको आधारमा केही औषधिहरू बनाएका रहेछन्। उनीहरू भन्दैथिए, ‘यी औषधिहरू अहिले परीक्षणको क्रममा छन्, बिरामीमा केही आशा लाग्दो नतिजा आउन थालेको छ।’

उनीहरूले थप्दैथिए- हामीसँग सहकार्य गर्ने भए हामी खुला छौं। अन्य संस्था र सरकारी निकायका व्यक्तिहरूले छोटो कुराकानीको क्रममा भन्दैथिए, तिमीहरूलाई अनुसन्धानको लागि आवश्यक अनुदान (ग्रान्ट) आवेदनको लागि हामी सघाउँछौं। उनीहरूले सम्पर्कमा रहन सुझाउँदै थिए।

नेपालसँग तुलना गर्दा हामी सयौं वर्ष पछाडि छौं जस्तो लाग्थ्यो। त्यसैले अब बदलिंदो दुनियाँ सँगसँगै रफ्तारमा हिंड्न अनुसन्धान र इनोभेसन नभई हुँदैन। यही भएर नै हामीले निरी नेपाल नामक संस्था सुरु गर्‍यौं, त्यो पनि कोभिड-१९ को महामारीले थिचिएको बेलामा।

निरी नेपालको सपना माथि भएको जस्तो दृश्य नेपालमै बनाउने हो, जहाँ हामीले नेपालका टड्कारो समस्याहरूमा, नेपालकै आम जनतालाई छुने, उनीहरूले महसुस गर्न सक्ने विश्वस्तरको अनुसन्धान गर्ने हो।

कोभिड महामारीको सुरुवात भएको थियो। नेपाल फर्क्यौं महाअभियानमा जोडिएका विश्वभरिका सयौं साथीलाई खुला रूपमा आह्वान गरेर छलफल गर्‍यौं। कोभिडकै बारेमा मिथ्या समाचारहरू देख्दा हामीलाई नमिठो लाग्थ्यो। अब नेपालकै समस्या र नेपालकै लागि आवश्यक आफ्नै मौलिक विषयहरूमा अनुसन्धान गर्नुपर्ने र अनुसन्धानबाट आएको निचोडको आधारमा नीति निर्माताहरूलाई नीति तर्जुमा गर्न सघाउनुपर्ने सोच्यौं।

केही महिनासम्म हाम्रा छलफल अनलाइन प्लाटफर्ममा अडियो कलबाट हुन्थ्यो। पछि जुम सुरु भयो। महिनौंसम्म छलफलमा सहभागी भएका तर कहिल्यै पनि एक-अर्कालाई नचिनेका सात महादेशका साथीहरू एकै पटक जुमको भिडियोमा जम्मा हुँदा हाम्रा आँखा रसाउँथे। केही साथीहरू २-३ हप्ता हराउँथे, पछि उनीहरू फेरि जोडिएपछि थाहा हुन्थ्यो, उनीहरूले कोभिडलाई जितेर आएका रहेछन्।

कोभिड महामारीको सुरुवातसँगै छलफल सुरु भएको निरी नेपालको दर्ता प्रक्रिया पनि कोभिडको खोप बनेसँगै पूरा भयो। महामारीको त्यो समयमा विश्वभरिका कहिल्यै नभेटेका, कहिल्यै नचिनेका साथीहरू नेपाललाई चाहिने अनुसन्धानको लागि एकै थलोमा जम्मा भएको यो सुन्दर यात्राको उमेर अहिले लगभग ३ वर्ष पूरा भएको छ।

अनुसन्धानमा प्रतिस्पर्धा होइन, सहकार्य हुन्छ भन्ने मर्म बोकेर हामीले नेपालमा अनुसन्धानरत संस्थाहरूसँग सहकार्यको हात बढाएका छौं। निरी नेपालको योजनाहरूमा भविष्यमा नयाँ पुस्तालाई विश्वस्तरीय अनुसन्धान केन्द्र सुम्पिने र विदेशमा रहेका नेपालीहरू नेपाल फर्केर वा विदेशबाटै अनुसन्धानमा हातेमालो गर्ने वातावरण निर्माण गर्ने हो।

साथै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने, अनुसन्धानबाट आएको नतिजालाई औद्योगिकीकरण गर्ने र माथि उल्लेख गरे जस्तै विश्वभरिका अनुसन्धानकर्ताहरू नेपालमा जम्मा भएर छलफल, बहस र सहकार्य गर्ने हो। निरी नेपालको तीनवर्षे अनुभवले देखाउँछ, ती दिनहरू टाढा छैनन्।

 (पंगेनी अमेरिकाको नोभा साउथ इस्टर्न विश्वविद्यालय तथा नेपालस्थित नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) सँग आबद्ध छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?