+
+

बास्केटबलको माहोल फर्काउँदै नेबा

नेपाल बास्केटबल संघ (नेबा)ले आउने वर्षमा उमेर समूहका प्रशिक्षणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म गर्ने योजना बनाएको छ । योजना अन्तर्गत विद्यालयस्तरमा ‘बल इन स्कुल’ कार्यक्रम समेत हुनेछ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत २९ गते १०:००

२९ चैत, काठमाडौं । कुनै बेला स्कुल, कलेजदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म नेपाली बास्केटबल टोलीको व्यस्तता निकै थियो । नेपालले उमेर समूहदेखि सिनियर स्तरमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्थ्यो । बीचमा केही समय बास्केटबलको यो माहोल सुस्त बन्यो । पछिल्लो समय फेरि नेपाल बास्केटबल संघ (नेबा)ले पहिलेकै माहोललाई फर्काउने प्रयास गरिरहेको छ ।

त्यसका लागि बाह्रै महिना खेलाडीहरुको प्रशिक्षण गर्ने, वर्षैभरी व्यस्त बनाउने, ग्रासरुटदेखि राष्ट्रियस्तरसम्मको प्रतियोगिता गर्ने अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र आयोजनाको लक्ष्य नेबाले राखेको छ ।

नेबाले २०८१/८२ को प्रस्तावित वार्षिक कार्यक्रममा पनि यी प्रतियोगिताहरु सहित रेफ्री र कोचको ट्रेनिङ अनि मिनी बास्केटबललाई समेटेको छ । ‘नेपाली बास्केटबललाई वर्षैभरी चलायमान बनाउने योजना छ । अब राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत नियमित सभागिता जनाउनेछौं,’ नेबा अध्यक्ष भिमसिंह गुरुङले भने ।

ट्राई आउट, प्रशिक्षण अनि क्याम्प

नेबाले केही समय अघिदेखि महिला र पुरुष दुवैको राष्ट्रिय टिम बलियो बनाउनका लागि खेलाडीहरुको ट्राई आउट कार्यक्रम सुरु गरेको थियो ।

फागुनदेखि सुरु भएको उक्त कार्यक्रम राष्ट्रिय टिमको क्याम्पकै एक अंग भएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए । ‘हामीले महिला र पुरुष दुवैको नयाँ राष्ट्रिय टिम बनाउने लक्ष्यका साथ खेलाडीहरुको ट्राई आउट सुरु गरेका छौँ । ट्राई आउटपछि प्रशिक्षकहरुले राष्ट्रिय टिमका पुराना र यसबाट आएका नयाँ खेलाडीहरु मिक्स गरेर प्रशिक्षण गराउनुहुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘त्यसपछि उत्कृष्ट खेलाडीहरु छनोट गरेर १८ देखि २० जनाको क्याम्प राखिनेछ ।’ ती खेलाडीहरुलाई लगातार प्रशिक्षणमा राख्ने गुरुङले बताए ।

यस्तै पुरुषतर्फ ‘ए’ र ‘बी’ गरी दुई टिम बनाउने योजना समेत उनले सुनाए । ‘पुरुषतर्फ ए टिम बाहेक त्यसलाई सहयोग हुने किसिमको बी टिम पनि बनाउनेछौं । ए टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छ । बी टिममा राम्रो गर्ने ए टिममा जान्छ र ए टिममा राम्रो गर्न नसक्ने खेलाडी बी टिममा गएर अझ राम्रो प्रशिक्षण गर्ने अवसर पाउँछ,’ अध्यक्ष गुरुङले भने । महिलाको भने अहिले ए टिम मात्र बनाउने गुरुङले बताए ।

खेलाडीहरुले हाल भद्रकालीस्थित नेपाली सेनाको ओपन बास्केटबल कोर्टमा प्रशिक्षण गरिरहेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरुमा प्रशिक्षण गरेपनि त्यहाँ अन्य खेल गतिविधिहरु समेत हुँदा नेबाले नेपाली सेनासँग सहकार्य गरेर भद्रकालीको कोर्ट प्रयोग गरेको हो । भद्रकालीमा अहिले भइरहेको ट्राई आउटमा सम्भावना बोकेका क्षमतावान केही खेलाडीहरु रहेको नेबा अध्यक्ष गुरुङले बताए ।

नेबाले फिफाको कार्यक्रम अन्तर्गत एचडब्लुएचआर अर्थात ‘हर वर्ल्ड हर रुल’ कार्यक्रम समेत गर्ने लक्ष्य राखेको छ । आगामी अप्रिलदेखि नोभेम्बरसम्म ७ महिना सञ्चालन गर्ने यस कार्यक्रम काठमाडौं बाहेक उपत्यका बाहिर पनि हुनेछ । नेबा र फिफाले गर्ने यस कार्यक्रमबाट धेरैभन्दा धेरै महिला खेलाडी उत्पादन गर्ने नेबाको उद्देश्य छ ।

उमेर समूहदेखिको राष्ट्रिय प्रतियोगिता

विगतका केही वर्षहरुमा बास्केटबलका प्रतियोगिताहरु थोरै भएका थिए । तर आउने वर्षमा भने नेबाले उमेर समूहको प्रशिक्षणदेखि राष्ट्रिय प्रतियोगितासम्म गर्ने योजना बनाएको छ ।

नेबाले यू १६ महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिता २०८१ जेठ अन्तिमदेखि असारसम्म गर्ने जनाएको छ । यसैबाट यू १६ राष्ट्रिय टोली निर्माण गरिनेछ ।

त्यसअघि २०८१ बैशाख अन्तिम सातादेखि काठमाडौंमै यू १८ महिला तथा पुरुष बास्केटबल गर्ने कार्यक्रम छ । यसबाट फिफा मेन्स साबा यू १८ क्वालिफायर प्रतियोगिताका लागि खेलाडी छनोट गरी राष्ट्रिय टिम तयार पार्ने उद्देश्य छ ।

यस्तै यू २३ थ्री एक्स थ्री महिला तथा पुरुष बास्केटबल प्रतियोगिता, यू १४ महिला तथा पुरुष बास्केटबल, यू १८ थ्री एक्स थ्री महिला तथा पुरुष बास्केटबल प्रतियोगिता र यू १२ अर्थात मिनी बास्केटबल प्रतियोगिता समेत २०८१ सालमा गर्ने नेबाको लक्ष्य छ ।

यस बाहेक १७ औं राष्ट्रिय महिला तथा १८ औं राष्ट्रिय पुरुष बास्केटबल २०८१ मंसिरमा गर्ने तय छ । ‘हरेक राष्ट्रिय प्रतियोगिताबाट हामी सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने आधारको रुपमा लिनेछौँ,’ नेबा अध्यक्ष गुरुङले भने । उनले प्रतियोगिताहरु सधैं आफैं र जिल्लाहरुसँग मिलेर गर्ने योजना रहेको बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता

नेबा अध्यक्ष गुरुङ पत्रकार सम्मेलनमा ।

कुनै बेला नेपालमा बास्केटबलको उमेर समूहदेखि सिनियर स्तरसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन्थ्यो । अहिले त्यसो हुन सकेको छैन । सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको बास्केटबल प्रतियोगिता नै नेपालमा पछिल्लो पटक भएको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

अब फेरि नेबाले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमै आयोजना गर्ने र धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने लक्ष्य राखेको छ । ‘हामी अब अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गर्ने र बाहिर पनि धेरै प्रतियोगितामा सहभागी हुने योजनामा छौं,’ अध्यक्ष गुरुङले भने, ‘साबाले नेबालाई साबा यू १८ च्याम्पियनसिप गर्न प्रस्ताव गरेको छ । सरकारले सहयोग गरेमा हामी त्यो प्रतियोगिता गर्न तयार छौं ।’

यू १८ साबा मेन्स च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव आएको र त्यसका लागि धेरै बजेट चाहिने नेबा अध्यक्ष गुरुङले बताए । साबा र नेबाले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रतियोगिता फिफा एसिया क्वालिफायरको रुपमा रहनेछ ।

यस्तै नेपालको सिनियर मेन्स टिमले आगामी जुनमा श्रीलंकामा फिफा सिनियर मेन्स साबा च्याम्पियनसिप खेल्नेछ । उक्त प्रतियोगिता फिफा एसिया क्वालिफायरको रुपमा रहनेछ ।

यस बाहेक थ्री एक्स थ्री साबा मेन्स च्याम्पियनसिप र थ्री एक्स थ्री साबा क्वेस्ट फर मेन एण्ड वुमेन यू २३ च्याम्पियनसिपमा समेत नेपालले सहभागिता जनाउने कार्यक्रम छ । थ्री एक्स थ्री साबा क्वेस्ट फर मेन एण्ड वुमेन यू २३ च्याम्पियनसिपमा एसियन क्वालिफायरको रुपमा रहनेछ । यसबाहेक नेपालले अन्तर्राष्ट्रिय स्कुल फेडेरेसनको एसियाली प्रतियोगितामा भाग लिनेछ ।

नेपालको थ्री एक्स थ्री पुरुष टोली यही अप्रिल अन्तिममा आमन्त्रित बास्केटबल प्रतियोगिता खेल्न चीन जाँदैछ । जहाँ नेपालले ३ खेल खेल्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

ट्यालेन्ट हन्टदेखि मिनी बास्केटबलसम्म

भर्खर एसईई दिएका विद्यार्थीहरुका लागि नेबा ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने र स्कुल स्तरमा समेत बास्केटबलका कार्यक्रमहरु गर्ने अध्यक्ष नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।

ट्यालेन्ट हन्ट नयाँ वर्षको सुरुमा गर्ने तयारी छ । ‘हामीले बैशाखमा ट्यालेन्ट हन्ट गर्ने तयारी गरेका छौँ । अहिलेका लागि उपत्यकासहित काभ्रेमा सुरु गर्नेछौँ । त्यसपछि पोखरा र विराटनगरमा पनि जाने योजना छ,’ गुरुङले भने ।

ट्यालेन्ट हन्टको लक्ष्य यू १८ गर्ल्स र ब्वाइजको टिम बनाउनका लागि रहेको गुरुङले जानकारी दिए । ट्यालेन्ट हन्टबाट आएका उत्कृष्ट ६ महिला र ६ पुरुष खेलाडीलाई अध्ययनका लागि नेबाले स्कलरसिपको व्यवस्था समेत गर्ने जनाएको छ ।

यस्तै बच्चाहरुका लागि मिनी बास्केटबलको अवधारणा समेत नेबाले बनाएको छ । ‘मिनी बास्केटबलमा १२ वर्षमुनिका बच्चाहरुले सहभागिता जनाउनेछन्,’ नेबाले २०८१ को अन्तिममा पोखरामा मिनी बास्केटबल कन्भेन्सन नै गर्ने कार्यक्रम छ ।

नेबाले जिल्ला संघहरुसँग मिलेर काठमाडौं र उपत्यका बाहिर पनि मिनी बास्केटबल कार्यक्रम गर्ने योजना बनाएको छ । खेलाडीहरुको पहिचान र ग्रासरुटदेखि नै बास्केटबल सिकाउने लक्ष्यका साथ यो कार्यक्रम गर्न लागिएको नेबाका अध्यक्ष गुरुङले बताए ।

नेबाले आफ्नो चार प्रदेश संघलाई सक्रिय बनाउने र आफूसँग आबद्ध जिल्लाहरुसँग समेत सहकार्य गरी राम्रा क्षमतावान बास्केटबल खेलाडीहरु उत्पादन गर्ने लक्ष्य राखेको छ । यस्तै प्रदेशमा स्कुलहरुसँग सहकार्य गरेर प्रशिक्षण चलाउने पनि नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरी विद्यालयहरुमा बास्केटबल पु¥याउने र सिकाउने लक्ष्यका साथ ‘बल इन स्कुल’ कार्यक्रम समेत गर्ने गुरुङले बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?