+
+

नेसनल प्याथ ल्याबका दुई प्रयोगशाला भारतबाट प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १४:५६

काठमाडौं । नेसनल प्याथ ल्याबका बुटवल र काठमाडौं प्रयोगशालाहरू एनएबीएल (आईएसओ १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् ।

हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबरोटोरिज (एनएबीएल) बाट नेसनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरू प्रमाणीकरण गराएको हो ।

एनएबीएलले आईएसओ १५१८९: २०१२ अनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धात्मक प्रमाणीकरण सेवा प्रदान गर्दछ ।

‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’

एक्रिडिटेसन प्रयोगशालाले गर्ने जाँचको गुणस्तर प्रमाणीकरण हो । ‘एक्रिडिटेसन भनेको यो ल्याबको सबै प्रक्रियाहरु ठिक छ र यसले गर्ने सबै परीक्षणहरु गुणस्तरीय छन् भन्ने सुनिश्चितता हो,’ उनले भने, ‘यो गुणस्तरीय रिपोर्टको प्रमाणीकरण हो ।’

उनकाअनुसार अब गुणस्तरका लागि ढुक्क भएर सेवाग्राहीले एनपीएलमा परीक्षण गराउन सक्नेछन् ।

साथै, अब यस ल्याबमा गरिएका परीक्षणहरु अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य हुनेछन् ।

यससँगै नेपालकै ठूलो प्रयोगशाला चेन रहेको एनपीएल दुई वटा प्रयोगशालाहरू एक्रिडिटेसन गर्ने पहिलो भएको छ ।

‘अहिले दुई वटा प्रयोगशाला एनएबीएल एक्रिडिटेसन भएको नेपालमा हामीमात्रै हो,’ उनले भने ।

अध्यक्ष रुद्रबहादुर कार्कीका अनुसार एनपीएलले काठमाडौं ल्याबमा हेमाटोलोजी, बायोकेमेस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, क्लिनिकल प्याथोलोजी, इम्युनो हिस्टो प्याथोलोजी विभागलाई एक्रिडिटेसन गराएको छ । जसमा झन्डै १ सय १६ वटा टेस्टहरू एक्रिडिटेसन गराइएको उनले बताए ।

एनपीएलको बुटवल ल्याबमा ५६ वटा टेस्टहरू एक्रिडिटेसन गरिएको छ भने त्यहाँ हेमाटोलोजी, क्लिनिकल प्याथोलोजी, बायोकेमेष्ट्री, बायोकेमेस्ट्री र इम्युनोलोजी विभागलाई एक्रिडिटेसन गरिएको उनले जानकारी दिए ।

२०६९ सालमा बुटवलबाट सुरु भएको एनपीएलका अहिले देशभर ९ वटा शाखा छन् । जसमध्ये एनपीएल काठमाडौं र एनपीएल बुटवल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन् ।

एनपीएलले काठमाडौंमा ७ सय बढी र बुटवलमा ४ सय बढी इनहाउस परीक्षणहरू गर्दै आएको छ ।

स्याम्पल परीक्षण, कर्मचारीका हिसाबल पनि नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याबमा पर्ने नेसनल प्याथ ल्याबले जनाएको छ ।

‘नेपालमा नै धेरै ल्याब र हस्पिटलहरूले नगर्ने जाँचहरु हामीले गर्दै आएका छौं,’ जोशीले थपे, ‘निकट भविष्यमै नेपालमै जेनेटिक परीक्षण, न्युबर्न स्क्रिनिङ, साइटोजेनिटिक्स तथा फिस प्रविधि स्थापना गरी परीक्षणका लागि तयारी अगाडि बढाएका छौं ।’

एनपीएलले फ्लोसाइट्रोमेट्री प्रविधिबाट ब्लड क्यान्सर सम्बन्धी जाँच, इम्युनोहिस्ट्रोकेमेस्ट्री प्रविधिबाट अन्य क्यान्सर सम्बन्धी जाँच, पीसीआर प्रविधिबाट इन्फेसियस डिजिज सम्बन्धी जाँच, इम्युनो फ्लोरेसेन्स र मल्टिप्लेक्स पीसीआर प्रविधिबाट अन्य जाँचहरू गर्दै आएको छ ।

यस्तै रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइटिस/इन्सेफ्लाइटिस प्यानललगायतका जाँचहरू पनि नेसनल प्याथ ल्याबमा उपलब्ध छन् ।

प्रबन्ध निर्देशक जोशीका अनुसार आगामी दिनमा यस प्रयोगशालाका अन्य शाखाहरु पनि एनएबीएल (आईएसओ १५१८९:२०१२) प्रमाणीकरण गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?