+
+

‘द रेड सुट्केस’ हेरेपछि बाबुराम : ‘यस्तो नेपाली फिल्म कहिल्यै बनेको थियो ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १०:४४

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली फिल्म ‘द रेड सुटकेस’ हेरेर यसको शैली र शिल्पप्रति जिज्ञासा राखेका छन् । आइतबार बेलुका सुन्धारास्थित सीडीसी सिनेमाजमा छोरी मानुषीसँगै हेरेका उनले यो जस्तो फिल्म आजसम्म कतै नहेरेको प्रतिक्रिया दिए ।

फिल्म सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले ‘द रेड सुटकेस’को शैलीप्रति जिज्ञासा राखेका थिए । ‘यस्तो खाले नेपाली सिनेमा पहिले कहिल्यै बनेको छ ? कस्तो सिनेमा भन्छ यसलाई ?’ बाबुरामको प्रश्न थियो ।

जवाफमा निर्देशक देवकोटाले आफूले म्याजिक रियालिज्मको प्रयोग गरेर सिनेमा बनाएको उत्तर दिएपछि बाबुरामले थपेका थिए, ‘ग्याब्रियल मार्खेजको जस्तो होइन त ? फिडेलले बाबुरामको ठम्याइमा सहमति जनाएका थिए ।

बाबुरामले फिल्मको विषयवस्तु समसामयिक भएको र दृश्य पनि सुन्दर रहेको प्रतिक्रिया दिए । फिल्मको प्रशंसा गरिरहँदा उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराए ।

उनले सामाजिक सञ्जालमार्फत पनि फिल्मबारे प्रतिक्रिया दिएका छन् । गम्भीर र कलात्मक सिनेमा पारखीका लागि फिल्म रोचक बनेको उल्लेख गर्दै भट्टराईले विल्कुल नयाँ विधाको फिल्म सुरुमा ओझेलमा परेकोजस्तो देखिनु विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘सामान्य दर्शकका निम्ति केही सुस्त र बोधगम्य नभए जस्तो लागे पनि अन्तर्राष्ट्रिय जादूयी यथार्थवादी जनरासँग परिचितका लागि नेपाली सिनेमामा यसको प्रवेश रूचिकर हुनसक्छ । वैदेशिक रोजगारी र समकालीन राजनीति मूल कथावस्तु रहेको यो फिल्म यसको विशिष्ट शैली र कलात्मकताको निम्ति पनि सबैले र विशेषगरी नेपाली भन्दा अन्तर्राष्ट्रिय फिल्म हेर्न रूचाउने युवापुस्ताले अवश्य हेरून् !’

बाबुरामसँगै फिल्म हेर्न आएकी मानुषीले भने फिल्म नेता तथा नीति निर्माण गर्ने ओहोदामा बसेका सबैले अनिवार्य रुपमा हेर्नुपर्ने खालको रहेको टिप्पणी गरेकी थिइन् ।

‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौं भन्ने कुरा फिल्मले छर्लङ्ग देखाएको छ । यो आमदर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने फिल्म बनेको छ । मलाई त फिल्म असाध्यै सुन्दर लाग्यो,’ मानुषीले भनिन् ।

चैत ३० गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले बलियो ‘वर्ड अफ माउथ’ पाएको छ । लेखक, कवि तथा कलाकारले फिल्मको मुक्तकण्ठले प्रशंसा गर्दै यसले कलात्मक फिल्म निर्माणको इतिहासमा नयाँ मानक स्थापना गरेको प्रतिक्रिया दिएका छन् । आइसफल प्रोडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?