+
+

एचबीओले किन्यो ‘द रेड सुटकेस’को ओटीटी अधिकार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:०५

काठमाडौं । प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘द रेड सुटकेस’को ओटीटी अधिकार एचबीओले किनेको छ । अन्तर्राष्ट्रिय वितरक रिजन एट फिल्मका अनुसार १५ युरोपेली देशका लागि एचबीओले अधिकार खरिद गरेको हो ।

हलिउड म्यागजिन भेराइटीले बिहीबार उक्त वितरण कम्पनीलाई उध्दृत गर्दै युरोपेली देशका लागि प्रदर्शन अधिकार बिक्री भएको समाचार लेखेको छ । भेराइटीले मलेसिया र ब्रुनाईमा पनि प्रदर्शन अधिकार बिक्री भइसकेको जनाएको छ ।

एचबीओले ओटीटी अधिकार लिएसँगै निर्माण टिमले फिल्मको लगानी सुरक्षित भएको जनाएको छ । निर्माता रामकृष्ण पोखरेलले एचबीओले राम्रो मूल्यमा फिल्मको प्रदर्शन अधिकार किनेको र योसँगै आफूहरुको लगानी सुरक्षित रहेको जनाए ।

‘एचबीओले फिल्मको ओटीटी अधिकार खरिद गरेसँगै हाम्रो लगानी सुरक्षित भएको छ । ओटीटीबाहेक मलेसिया र ब्रुनाईमा फिल्म हलमै लाग्ने गरी नै प्रदर्शन अधिकार बिकेको छ,’ निर्माता पोखरेलले भने, ‘हाम्रा लागि यो पक्ष किन महत्वपूर्ण हो भने यसले घरेलु बजारको दबाबमा नपरी पनि लगानी उठाउन सकिन्छ भन्ने आत्मविश्वास दिएको छ । जुन यो शैलीका फिल्मका लागि जरुरी कुरा हो ।’ मलेसिया र ब्रुनाईको अधिकार भने सुरया फिल्म्सले किनेको निर्माता पोखरेलले जानकारी गराए ।

निर्देशक फिडेल देवकोटा पनि फिल्म निर्माण गर्दा नै आफूहरु परम्परागत बजारको पक्षमा नरहेको र सोही अनुसार नै फिल्मको वितरण योजना बनेको बताउँछन् ।

‘निश्चित बजारमा मात्र भर नपरी फिल्म निर्माण गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । यसले हामीलाई नयाँ बजारको खोजीका लागि झक्झक्याउँछ । नभन्दै हामीले सोचेअनुसार नै फिल्मले युरोप र मध्यपूर्वका देशमा बजार पाएको छ,’ देवकोटाले भने, ‘यो सबै कुराले द रेड सुटकेस मात्र होइन, भविष्यमा यसरी बन्ने अन्य नेपाली फिल्मलाई पनि फाइदा पुग्छ ।’

निर्देशकले इमान्दार र गम्भीर भएर कथा भन्यो भने बजार आफैं निर्माण गर्न सकिन्छ भन्ने कुराको रुपमा पनि यसलाई लिन सकिने उनले बताए ।

‘यस्ता फिल्मले घरेलु दर्शक र प्रदर्शकबाट साथ पाए यो नेपाली चलचित्र क्षेत्रकै लागि पनि कोसेढुंगा सावित हुन्छ । किनकि यस्ता चलचित्रले दर्शकमा दृश्य साक्षरता निर्माण गर्छन्, जुन नेपाली चलचित्र उद्योगका लागि अति आवश्यक कुरा हुन्,’ निर्देशक देवकोटाले भने ।

भेनिसमा वर्ल्ड प्रिमियर भएर दर्शक र समीक्षकबाट प्रशंसा बटुलेको यो फिल्म चैत ३० गतेदेखि नेपालमा प्रदर्शन हुँदैछ ।

देशको आप्रवासी समस्याको कथावस्तुमा आधारित फिल्ममा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ र विपिन कार्कीको मुख्य भूमिका छ । आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?