+
+

युवती हत्या आरोपमा ९ वर्षपछि मामाका छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १७:४१

१६ वैशाख, काठमाडौं। सुनमाया किसान (सार्की) हत्याका आरोपीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौंको साविक सेतीदेवी गाविस तौथलीस्थित कृष्ठरोग आरोग्य आश्रममा हत्या गरी शौचालयमा फालिएकी सुनमायाका हत्या आरोपीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनमायाकै माामाका छोरा ४७ वर्षीय समरबहादुर सार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाल्नाखेल क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।

म्याग्दीको साविक कुहु गाविसका ५ का समरबहादुर फुपुकी छोरीको हत्या गरी भारत पुगेका थिए । पछिल्लो समय भारतको पन्जाबमा बस्दै आएका उनी नेपाल आएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

१ कात्तिक २०७१ मा समरबहादुरले फुपुकी छोरी सुनमायाको हत्या गरेको आरोप छ । सुनमाया जेटिए थिइन् । उनी कीर्तिपुरस्थित कृषि कार्यालयमा काम गर्थिन् । समरबहादुर बुवा गंगाबहादुर तथा सुनमायाकी मामा कुष्ट रोग लागेका कारण कृष्ठरोग आरोग्य आश्रममा बस्दै आएका थिए ।

ढुंगे अड्डामा ज्यामी काम गर्ने समरबहादुर घटना हुने अघिल्लो दिन बुवा भेट्न भनेर आरोग्य आश्रममा पुगेका थिए । सोही बेला सुनमाया पनि मामालाई भेट्न भनेर पुगेकी थिइन् ।

त्यतिबेला गंगाबहादुर बाहिर गएकाले उनीहरु दुई जना मात्रै कोठामा थिए । आरोग्य आश्रममा राति सुत्ने क्रममा विभिन्न केटाहरुसँग फोनमा बोलेको भन्दै सुनमाया र समरबीच विवाद भएको सोही क्रममा समरले हत्या गरेको खुलेको अनुसन्धान अधिकृत डीएसपी सुरक्षा केसीले बताइन् ।

ठूलो स्वरमा बोलेको भन्दै समरले सुनमायाको मोबाइल समेत फालेकी थिइन् । त्यसपछि विवादले झनै उग्र रुप लिएपछि सुनमायाले हसियाँले प्रहार गर्दा समरको औलामा चोट लागेको थियो । हसियाँ खोस्नदे क्रममा सुनमायाले समरको हात समेत टोकिदिएको अनुसन्धान अधिकृत केसीले बताइन् ।

समरले धकेलेपछि सुनमायाको टाउको खाटमा ठोक्किदा उनी बेहोस भएकी थिइन् । आधा घण्टासम्म पनि सुनमायाको होस नआएसपछि समरले हातले सुनमायाको घाँटी थिचेर हत्या गरेको खुलेको डीएसपी केसीले बताइन् ।

हत्यापछि शवलाई शौचालयमा राखेर उनी भारतको सिलोङ्गो भन्ने ठाउँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?