+
+

८ महिनाअघि ३३ किलो सुनमा उम्किएका मिलन १ करोड बोकेर हिंड्दा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते २०:१७

२८ वैशाख, काठमाडौं । चीनबाट दोलखा हुँदै तस्करी भएको ३३ किलो सुन प्रकरणमा फरार भएका मिलन विक बिहीबार राति  स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परे ।

बा १३ च ४८५८ नम्बरको गाडीमा राखेको कार्टुनभित्र ९८ लाख बोकेर हिंडेका बेला रूपन्देहीको सियारी गाउँपालिका–७ का २८ वर्षीय समिर सुनारसँगै उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समातेको थियो ।

कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार कार्टुन खोल्दा ९८ लाख रुपैयाँ भेटिएको थियो । उनीहरूको मोबाइल हेर्दा अर्को ५ रुपैयाँको नोट च्यातेर आधा भाग एउटालाई पठाइएको र अर्को आधा भाग आफूसँग रहेको खुलेको भट्टराई बताउँछन् ।

उनका अनुसार अवैध रकम डेलिभरीका लागि त्यो नोट प्रयोग भएको देखिन्छ । यसअघि सुन तस्करीमा संलग्न रहेर फरार भएका विकसहित पक्राउ परेकाले ५ रुपैयाँको नोटलाई डेलिभरी कोडका रूपमा प्रयोग गरेको भेटिएको थियो ।

विक र सुनार सवार गाडीबाट प्रहरीले एउटा डायरीसमेत बरामद गरेको थियो । उक्त डायरीमा समेत सुन कारोबारसँग सम्बन्धित टिपोटहरू भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

‘डायरी अध्ययन गर्दा यो समूह निरन्तर सुन तस्करीमा संलग्न रहेको देखिन्छ’ एक अधिकृत भन्छन्, ‘विकको समूहले अहिले विशेष गरी खाडी मुलकहरूबाट झिन्टीगुन्टामा आउने सुनको खरिद बिक्री गर्ने गरेको आशंका छ ।’

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार विगत दुई वर्षदेखि विकले निरन्तर सुन तस्करी गरिरहेको खुलेको छ ।

प्रहरीका अनुसार अहिले पक्राउ परेकामध्ये विक दोलखा प्रहरीले मुद्दा चलाएको ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्तसमेत हुन् ।

३३ किलो सुन तस्करी भएको खुले पनि ११ किलो ५३२ ग्राम मात्रै सुन त्यतिबेला बरामद भएको थियो ।

गत असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई सुन बिगु गाउँपालिका–१ लामाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट साढे ४ किलोभन्दा बढी गरी ११ किलो ५३२ ग्राम सुन बरामद गरेको थियो ।

उक्त सुन तस्करी प्रकरणमा त्यतिबेला १४ जना पक्राउ परेका थिए । त्यतिबेला चिनियाँ नागरिक तासी दावा भनिने आकार लामा, अर्का चिनियाँ टासी भनिने जिङ रुउ, दोलखाको बिगु गाउँपालिकाका नुर्वु छिरिङ शेर्पा, बिगुकै पेम्बा तामाङ लगायतसहित १४ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

पक्राउ परेकामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको थियो भने ५ जना धरौटीमा रिहा भएका थिए । अहिले पक्राउ परेका विकसहित १२ जना भने फरार थिए ।

फरार रहेका उनै विक करिब ८ महिनापछि अहिले ९८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

अहिले पक्राउ परेकाले विकले चिनियाँ नागरिक लि गोमा लामा, छेई झुङ, आकार लामा समेतको आपराधिक समूहमा आवद्ध रहेर सदन प्रधानसँग मिलेमतो गरी सुनको अवैध पैठारी गरेको त्यतिबेलाको अनुसन्धानले देखाएको थियो ।

सुन खरिदपछि भुक्तानी गर्नुपर्ने रकम अहिले पक्राउ परेका विकले क्रिप्टोमार्फत कारोबार गरेको समेत देखिएको प्रहरीको भनाइ छ । त्यतिबेला फरार रहेका मिलनले सदन प्रधानको सानिमा बैंकको खातामा ९ लाख ५० हजार रुपैयाँ, लालबहादुर तामाङको ग्लोबल बैंकको खातामा दुई पटक १०/१० लाख र एक पटक ५ लाख जम्मा गरेको समेत देखिएको थियो ।

यो समूहले सुन तस्करीसँगै हुण्डी, क्रिप्टो करेन्सीको कारोबार समेत गरेको खुलेको थियो । हाल बरामद भएको रकमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?