+
+

एचआईभी संक्रमित महिलालाई प्रयोग गरेर कोकिन तस्करी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १८:२८

३ जेठ, काठमाडौं । लागुऔषध कोकिनको तस्करीमा संलग्न गिरोहले एचआईभी संक्रमित महिलालाई प्रयोग गरेर तस्करी गराउने गरेको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौंंले करिब ८ करोड मूल्य बराबरको कोकिन तस्करीमा संलग्न तीन व्यक्तिलाई समात्दा एचआईभी संक्रमित महिलालाई प्रयोग गरेको भेटिएको हो ।

ब्यूरोका एक अनुसन्धान अधिकृतका अनुसार, कतारबाट ल्याएको १ किलो २६० ग्राम कोकिनसहित गएको आइतबार युगान्डाकी ४४ वर्षीया केभिना मुल्गाला पक्राउ परेकी थिइन् ।

विशेष सूचनाको आधारमा सिनमंगलमा फेला पारेर उनलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलिया बताउँछन् । उनी एचआईभी संक्रमित भएको खुलेको छ । शंका लागेर नेपाल प्रहरी अस्पतालमा लगेर जाँच गर्दा उनको पेटमा ९० वटा कोकिनको क्याप्सुल भेटिएको थपलियाले बताए । उनका अनुसार केभिनाको पेटबाट १ किलो २६० ग्राम कोकिन बरामद भएको थियो ।

उनीबाट प्राप्त सूचनालाई पछ्याउँदै जाँदा प्रहरीले बुधबार युगान्डाकै नागरिक लिलिएन सुसनलाई फेला पारेको थियो । उनले सुटकेसभित्र लुकाएर राखेको अवस्थामा १ किलो ३९४ ग्राम कोकिन बरामद गरिएको थियो ।

उनीहरूले ल्याउने कोकिन डेलिभरीको जिम्मा पाएकी भारतीय नागरिक ३३ वर्षीया देवा जना पाललाई पनि ब्यूरोले समातेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद कोकिन भारततर्फ जाने गरेको देखिएको एसएसपी थपलिया बताउँछन् ।

दुई युगान्डाका नागरिकको जिम्मा काठमाडौंसम्म मात्र ल्याउने थियो । यहाँबाट भारतसम्म लैजाने जिम्मा देवाले पाएकी थिइन् ।

भारतको नेक्ससबारे पनि अनुसन्धान गर्न त्यहाँको लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) इण्डियालाई सूचना दिइएको प्रहरी स्रोत बताउँछ । नेपालमा पक्राउ परेका तीन जनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?