+
+

बालमन्दिरको पैसाबाट सचिवलाई निजी गाडी, पार्टीलाई चन्दा 

बाल संगठन कामचलाउ अवस्थामा चलिरहेको छ, ऋणको भार छ, कर्मचारीलाई तलब खुवाउन बाँकी छ, तर संस्थाको पैसा जथाभावी खर्च गर्न पदाधिकारी आफैं सामेल देखिन्छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ वैशाख २८ गते २०:३८
नक्सालस्थित नेपाल बाल संगठन टिनको टहरामा । तस्वीरः चन्द्र आले/अनलाइनखबर

२७ वैशाख, काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनका पदाधिकारीहरुले सरकारी जग्गा अनियमित रुपमा लिजमा दिने मात्र होइन, बालबालिकाको रेखदेख र पालनमा खर्च गर्नुपर्ने पैसा समेत दुरुपयोग गरेको फेला परेको छ ।

बाल संगठनले २२ कात्तिक २०७७ मा जारी गरेको श्वेतपत्रअनुसार टिनको जस्ता पाता भएको बालगृह बर्खामा पानी चुहिएर हिलाम्ये हुने स्थितिमा छ । कर्मचारीहरुको दाबीमा, संगठनलाई अधिवेशन गर्न समेत पैसा छैन । तर, संगठनका पदाधिकारीले भने आफूखुशी सुविधा लिने र जथाभावी संगठनको पैसा वितरण गर्ने गरेको भेटिएको छ ।

बाल संगठनको सञ्चालक समितिको १२ फागुन २०७१ मा बसेको बैठकले उपकोषाध्यक्ष दिपकदास श्रेष्ठलाई काजकिरिया वापत सहयोग भन्दै ५० हजार रुपैयाँ दिने निर्णय गरेको भेटिएको छ भने सञ्चालक समितिको यही बैठकले जैन समुदायबाट महाश्रवणको स्वागतका लागि भएको खर्चमा सहयोग भन्दै ७५ हजार रुपैयाँ चन्दा दिने निर्णय पनि भएको छ ।

केन्द्रीय समिति बैठकले २५ असार २०७४ मा बाल संगठन, भोजपुरकी सभापति युरी राईको छोरीको स्वास्थ्य उपचारका लागि भन्दै १५ हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको समेत पाइएको छ ।

संगठनको ८ फागुन २०७० मा बसेको पदाधिकारी बैठकले अध्यक्ष रिता सिंहलाई मासिक ९० लिटर इन्धन र प्रत्येक चौमासिकमा गाडी मर्मतवापत ४ हजार रुपैयाँ गरेर १ लाख ५८ हजार ४ सय रुपैयाँ दिने निर्णय भएको देखिन्छ ।

१२ फागुन २०७१ मा फेरि सिंहलाई मासिक ३० हजार र १५० लिटर पेट्रोल सुविधा उपलब्ध गराउने निर्णय भएको फेला परेको छ । यही बैठकले तत्कालीन महासचिव सुवासकुमार पोखरेललाई वार्षिक १२ सय लिटर पेट्रोल र गाडी मर्मतवापत वार्षिक २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

काठमाडौं–खोटाङ मासिक दुई पटक दोहोरो विमान भाडा उपलब्ध गराउने निर्णय पनि भएको देखिन्छ । त्यसवापत २०७५ चैत मसान्तसम्म १३ लाख २८ हजार रुपैयाँ वितरण गरेको देखिन्छ ।

बाल संगठनको विधान अनुसारको आर्थिक नियमावली र कार्यविधिमा केन्द्रीय र जिल्ला कार्य समितिले पदाधिकारी, सदस्य र सल्लाहकारहरुले संगठनको सेवा सुविधाबारे कुनै प्रावधान छैन । यस्तोमा पदाधिकारीले आफूखुशी सुविधा तोकेर जथाभावी रकम लिएको समेत विवरण पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन उल्लेख छ ।

तर, भट्टराई आयोगले २०७७ जेठमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बुझाएको प्रतिवेदन हालसम्म मन्त्रालयको दराजमा थन्क्याइएको छ ।

नेपाल बाल संगठनमा तीन दशकसम्म अध्यक्ष रहेकी रिता सिंह ।

संगठनका सचिव अध्यक्ष भएको ढल समितिलाई २ लाख ऋण !

मन्त्रालय स्रोतबाट अनलाइनखबरलाई उपलब्ध केही कागजातअनुसार, बाल संगठनका पदाधिकारीले संस्थाको रकम नेपाली कांग्रेसको कार्यक्रम सञ्चालनदेखि भातृ संगठन नेविसंघलाई चन्दा दिन समेत खर्च गरेको भेटिएको छ ।

बाल संगठनको केन्द्रीय समितिमा २०४६ सालदेखि १२ साउन २०७७ सम्म रिता सिंह वैद्य नेतृत्वमा थिइन् । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । राजनीतिक पहुँचका आधारमा उनी झण्डै तीन दशकदेखि बाल संगठनको नेतृत्वमा बसेकी थिइन् ।

प्राप्त विवरण अनुसार, बाल संगठनको काठमाडौं जिल्ला कार्यसमितिले २० चैत २०६९ मा नेपाली कांग्रेस, नवलपरासीले आयोजना गरेको पोशाक वितरण कार्यक्रमलाई चन्दा दिने निर्णय गरेको फेला परेको छ ।

काठमाडौं समितिले निर्णय नं. १ र २ बाट कांग्रेस नवलपरासीलाई ३० हजार रुपैयाँ दिएको भेटिएको हो । काठमाडौं शाखाले नै २८ असार २०७० मा जितपुरको युनेस्को क्लबको एसएलसी सम्मान कार्यक्रमलाई ४ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

१९ चैत २०७० मा सभापतिको परिवारका सदस्य विरामी भएको भन्दै औषधि उपचार खर्च वापत ३० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको देखिन्छ ।

बाल संगठनको काठमाडौं जिल्ला कार्यसमिति सचिव राजेन्द्र श्रेष्ठको नाममा अल्टो ८०० एलएक्सआई गाडी खरिद गर्न किस्ताबन्दीमा पैसा दिने निर्णय गरेको समेत भेटिएको छ

बाल संगठनको पैसाबाट ८ वैशाख २०७१ मा सुन्दरी जल युवा जनजागरण अभियान समूहको मुटु रोग शिविरलाई सहयोग भन्दै १४ हजार ५ सय रुपैयाँ दिएको भेटिएको पनि छ । २३ माघ २०७१ मा चो गाउँ तामाङ समाजलाई ल्होसार बनाउन सहयोग भन्दै १० हजार रुपैयाँ दिने निर्णय गरेको फेला परेको छ ।

रोचक त ११ चैत २०७१ मा बाल संगठनको काठमाडौं शाखा सचिव रहेका राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष रहेको ढल निर्माण उपभोक्ता समितिलाई २ लाख १० हजार रुपैयाँ ऋण दिने निर्णय भएको देखिन्छ । जबकि, केन्द्रीय कार्यसमितिले बजेट नभएको भन्दै वर्षमा एकपटक गर्नुपर्ने अधिवेशन पनि गरिरहेको थिएन ।

गोकर्णेश्वर –४ मा रहेको आशदिप संस्थामा रहेका मानसिक रोगीहरुलाई मण्डी वितरण गर्ने भन्दै १ फागुन २०७२ मा ४७ हजार १८० रुपैयाँ खर्च गरिएको छ । १८ भदौ २०७३ मा धावक रामसुन्दर कार्कीलाई सहयोग स्वरुप १५ हजार रुपैयाँ दिने निर्णय भएको छ ।

१५ मंसिर २०७३ मा सभापतिको बुबाआमाको दोस्रो देवरथारोहणका लागि अभिनन्दन र दोसल्लामा सहयोग भन्दै १३ हजार रुपैयाँ दिने निर्णय भएको देखिन्छ । ३० माघ २०७४ मा भुवनहेरा शाक्य अध्यक्ष रहेको इटुम्बहाल मिसःपुचः को बेल विवाह कार्यक्रम आयोजना गर्न ५ हजार रुपैयाँ सहयोग गरेको देखिन्छ ।

१५ भदौ २०७५ मा होमप्रसाद खड्गीको छोरीको उपचार १० हजार रुपैयाँ बराबरको उपचार दिने निर्णय भएको देखिन्छ ।

गणेशमान सिंह प्रतिष्ठानको कार्यक्रममा टिकट किन्न २६ हजार 

ललितपुरमा त बाल संगठनको पैसाले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघलाई सहयोग गरेको समेत भेटिएको छ । २२ असार २०६४ मा संगठनले रामकृष्ण चित्रकार अध्यक्ष उठेको नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई १५ हजार रुपैयाँ सहयोग दिएको भेटिएको छ ।

३१ भदौ २०७१ मा बाल दिवस र गणेशमान सिंह प्रतिष्ठानको कार्यक्रमका लागि टिकट खरिद गर्न भन्दै २६ हजार २५० रुपैयाँ दिने निर्णय भएको देखिन्छ । कतिसम्म भने २९ असोज २०७६ मा पाले जयनारायण घिमिरेलाई सेवा वापत विदाइ गर्न भन्दै १ लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको छ ।

बाल संगठनको काठमाडौं जिल्ला समितिले सभापतिले प्रयोग गर्ने आईप्याड खरिद गर्ने निर्णय २२ माघ २०६९ मा गरेको देखिन्छ भने १ फागुन २०७३ मा जिल्ला भ्रमण खर्च भन्दै १ लाख ६३ हजार ४५० रुपैयाँ खर्च गरेको पनि देखिएको छ ।

कतिसम्म भने ४ भदौ २०७२ मा बाल संगठनको पैसाबाट राजेन्द्र श्रेष्ठको नाममा अल्टो ८०० एलएक्सआई गाडी खरिद गर्ने निर्णय भएको समेत देखिन्छ । त्यसबेला जिल्ला कार्यसमितिमा सचिव रहेका श्रेष्ठको व्यक्तिगत नाममा गाडी किन्न बाल संगठनको जिल्ला कार्यसमितिले किस्ताबन्दीमा पैसा दिने निर्णय गरेको भेटिएको छ ।

गाडी खरिदका लागि ऋण प्रदान गर्ने नयाँ पाटी बचत तथा ऋण सहकारी संस्थामा ऋण चुक्ता गर्न लगेको ६ लाख ८० हजार रुपैयाँ पनि नतिरी व्यक्तिगत रुपमा प्रयोग गरेको देखिएको भट्टराई आयोगले समेत औंल्याएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

उनका अनुसार, प्रतिवेदनमा गाडी खरिद गर्ने विषयलाई पर्याप्त औचित्यता र कारणविनै संगठनको उद्देश्य विपरित गरिएको काम भनिएको छ ।

पदाधिकारीले जथाभावी खर्च गरिरहँदा २०७७ मा नयाँ नेतृत्व आएपछि जारी श्वेतपत्रमा पूर्वकार्यसमितिका कारण संगठन करोडौंको ऋणमा डुबेको उल्लेख छ ।

‘विद्यालयको लाखौं तिर्न बाँकी छ, खाद्यान्न र तरकारी लगायतको पनि तिर्न बाँकी छ, कर्मचारीलाई महिनौंको तलब दिन बाँकी छ’, श्वेतपत्रमा भनिएको छ, ‘संगठन थुप्रै विकृति र ऋणको टुप्पोमा बसेको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?