+
+
Shares
छोरीको योजनामा आमाको हत्याकाण्ड :

जन्मकैदको सजाय पाएका भारतीय सुन्धारा कारागारबाट भागे, प्रेमिका हत्यामा दिल्लीबाट समातिए

सूचना दिनेलाई तोकिएको थियो १ लाख इनाम

१२ लाखको सुपारी डिल गरेर ६१ वर्षीया सावित्रीको हत्या गरेका भारतीय भोला कुमार सुन्धारा कारागारबाट फरार भएका छन् । ८ वर्ष पहिले प्रेमिका हत्यामा संलग्न रहेका उनी दिल्लीमा समातिएका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज १ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरकी सावित्रा भट्टराईको हत्यामा जन्मकैद सजाय भोगिरहेका भारतीय नागरिक भोला कुमार सुन्धारा कारागारबाट फरार भएका छन्।
  • भोला कुमारलाई भारतको प्रहरीले पक्राउ गरेको छ र उनीमाथि ८ वर्ष पुरानो प्रेमिका हत्या मुद्दा छ।
  • सावित्रा हत्यामा छोरी इश्वरीको योजना र १२ लाख सुपारीमा भोला कुमार र रहिशले हत्या गरेका थिए।

१ असोज, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा जन्मकैदको सजाय भोगिरहेका एकजना भारतीय नागरिक सुन्धारा कारागारबाट फरार भएका छन्।

२४ भदौको जेन-जी प्रदर्शनका क्रममा राति सुन्धारास्थित केन्द्रीय कारागार (जग्गनाथ देवल) बाट अरुण भनिने भारतीय नागरिक भोला कुमार फरार भएका हुन् । यो कारागारबाट सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती (गोरे)सहित ३ हजार ३०० कैदी फरार भएका थिए।

आन्दोलनको मौका छोपेर उक्त कारागारबाट भारतीय नागरिक भोला कुमार पनि फरार भएको खुलेको हो । भोला कुमार तिनै व्यक्ति हुन् जसले १२ लाखको सुपारी डिल गरी भक्तपुरकी सावित्रीको हत्या गरेका थिए ।

सावित्री आफ्नी कान्छी छोरी २७ वर्षीया इश्वरीसँगै बस्थिन्। ज्वाइँ सोनाम थापा मगर र ४ वर्षीय नाति दिप्सन पनि सँगै बस्थे । सावित्रीको काम दिप्सनलाई स्कुल पुर्‍याउने, ल्याउने थियो ।

१५ असार २०७६ मा ज्वाइँ सोनाम सिनामंगलस्थित आफ्नो होटल गए । छोरी इश्वरी पनि बिहानै घरबाट निस्किइन् । त्यसपछि घरमा नाति र हजुरआमा सावित्री मात्रै भए । त्यही मौकामा दिनदहाडै सावित्रीको हत्या गरिएको थियो ।

हत्यामा संलग्नहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो । अनुसन्धान गर्दा खुल्यो- विवाहेत्तर प्रेम सम्बन्ध ।

सावित्रीको हत्या उनकै छोरी इश्वरीको योजनामा भएको खुल्यो । विवाहित इश्वरी राजधानीको एक गार्मेन्टमा काम गर्थिन् । सँगै काम गर्ने क्रममा सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँग इश्वरीको चिनजान भयो । उनीहरूबीच प्रेम बस्यो ।

इश्वरी र नौसाद एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । यो सम्बन्ध थाहा पाएकी आमा सावित्रीले इश्वरीलाई गाली गरिन् । सम्बन्धबारे ज्वाइँलाई जानकारी दिने बताएपछि छोरी इश्वरीले योजना बनाएर आमाको हत्या गरेको खुल्यो ।

सावित्रीले छोरीको अवैध सम्बन्धबारे जानकारी पाएपछि इश्वरीले प्रेमी नौसादलाई आफैंले रकम खर्चेर दुबई पठाएकी थिइन् । नौसाद जाने बेला नै इश्वरीले एउटा सिमकार्ड दिएकी थिइन् । ‘डेढ महिनामा काठमाडौं फर्किसकेपछि यही सिम प्रयोग गर्नु तर मलाई फोन नगर्नु, घर खाली गराउने व्यवस्था म गर्छु’ भनेको त्यतिबेला अनुसन्धानमा खुलेको थियो । त्यही मौकामा हत्या गरेर भाग्ने योजना बनाइएको प्रहरीले बताएको थियो ।

आमा सावित्रीको हत्या गरेपछि श्रीमान् सोनामलाई पनि जापान पठाउने र आफूहरू आनन्दले काठमाडौंमा बस्ने योजना उनीहरूको रहेको प्रहरीले त्यतिबेला बताएको थियो ।

इश्वरीकै योजनामा दुबई गएको डेढ महिनामै नौसाद काठमाडौं फर्किएका थिए । पूर्वयोजनाअनुसार सावित्रीको हत्याका लागि भनेर भोला कुमार र मोहम्मद रहिशलाई १२ लाखको सुपारी दिइएको थियो ।

रहिश नौसादका फुपुका छोरा हुन् । भोला त्यतिबेला काठमाडौंकै ढुंगेअड्डामा गार्मेन्टमै काम गर्थे । उनीसँग पनि नौसादको पहिल्यै चिनजान थियो । १२ लाखको सुपारी पाउने भएपछि भोला कुमार र रहिशले सावित्रीलाई मार्न तयार भएका थिए ।

त्यही योजनाअनुसार नौसादले सावित्रीको मुख थुन्ने, भोलाले हात समाउने र रहिशले चक्कुले घाँटी रेटेर हत्या गरेका थिए । हत्यापछि भोला र रहिशले राति १० बजेतिर आफूले पाउनुपर्ने १२ लाख रुपैयाँ खोइ भन्दै नौसादलाई फोन गरेका थिए । तर त्यतिबेला नौसाद भने पक्राउ परिसकेका थिए ।

भोला कुमार अहिले जेन-जीको प्रदर्शनपछि कारागारबाट फरार भएका हुन् । फरार भएर भारत पुगेका उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नौसादलाई पैसा ल्याउनका लागि लोकेसन बताउन सिकायो । भोलाले मकवानपुर लोकेसन बताए । पैसाका लागि भने कुरेर बसेका भोला र रहिश राति २ बजेतिर मकवानपुरबाट पक्राउ परे । त्यसपछि हत्याको पोल खुलेको थियो । आमाको हत्या भयो भन्दै रोएर बसेकी छोरी इश्वरी पनि पक्राउ परेकी थिइन् ।

यो प्रकरणमा भोला कुमारलाई जन्मकैदको फैसला सुनाइएको थियो । उनै भोला कुमार अहिले जेन-जीको प्रदर्शनपछि कारागारबाट फरार भएका हुन् । फरार भएर भारत पुगेका उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

भारतमा अर्को हत्या, सूचना दिनेलाई १ लाख इनाम

भागेर भारत पुगेका भोला कुमारलाई त्यहाँको प्रहरीले पनि खोजी गरिरहेको थियो । उनीमाथि नयाँ अशोकनगरकी आफ्नी प्रेमिकालाई १७ नोभेम्बर २०१७ मा हत्या गरेको आरोप थियो । प्रेमिका हत्या गरेर फरार भएका भोला कुमारलाई ८ वर्षपछि पक्राउ गर्न सफल भएको भन्दै भारतीय मिडियाहरूले समाचार सम्प्रेषण गरेका छन् ।

भोला कुमारविरुद्ध अशोकनगर निवासी पप्पु सिंहले प्रहरीमा उजुरी दिएका थिए । उनले आफ्नी छोरीको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । तर लामो समय खोजी गर्दा पनि भोला कुमार फेला नपरेपछि उनको सूचना दिनेलाई १ लाख इनाम दिने घोषणा गरिएको थियो ।

पप्पुकी छोरीलाई भोला कुमार र उनका पिन्टु नाम गरेका साथीले अपहरण गरेका थिए । पछि हत्या गरिएको अवस्थामा भोला कुमारको कोठाबाट ती युवतीको शव भेटिएको थियो । युवतीको घाँटी रेटी पटकपटक चक्कु प्रहार गरेर विभत्स हत्या गरिएको थियो ।

दिल्लीको नयाँ अशोकनगरमा प्रेमिकाको हत्या गरेपछि भोला कुमार फरार भएर नेपाल छिरेका थिए । त्यसपछि उनी काठमाडौंकै गार्मेन्टमा काम गर्न थाले । उनै भोलाले १२ लाख सुपारी पाउने भएपछि भक्तपुरमा अर्को हत्या गरेका थिए ।

विवाह गर्न अस्वीकार गरेपछि हत्या

सावित्री हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका भोला जेलबाट भागेर भारत पुगेका थिए । सोही बेला उनलाई भारतीय प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ । भोला कुमारको घर बिहारको छपरा जिल्ला हो । उनी कारागारबाट भागेर आफ्नो गाउँ फर्किने तयारीमा थिए ।

एनडीटीभी इन्डियाका अनुसार असई अजयको टोलीले भोला कुमारलाई बिहारबाट पक्राउ गरेको हो । ‘प्राविधिक निगरानी र विशेष सूचनाका आधारमा असई अजयको टोलीले पक्राउ गरेको हो,’ एनडीटीभीले उल्लेख गरेको छ ।

निरन्तरको मिहिनेतपछि अन्तत: भोला पक्राउ परेको छ । अब ८ वर्ष पुरानो मुद्दा फेरि चल्नेछ । पीडित परिवारलाई न्यायको आस जागेको छ।

नेपाल आउनुअघि भोला कुमार दिल्लीमा गार्मेन्टमै काम गर्थे । त्यही भवनमा बस्ने एक युवतीसँग उनी प्रेम सम्बन्धमा थिए । ती युवतीले विवाह गर्न अस्वीकार गरेको र परिवारले पनि अन्यत्र विवाह गर्ने निधो गरेपछि भोला कुमारले प्रेमिकाको हत्या गरेको बताइन्छ ।

दिल्ली क्राइम ब्रान्चका हर्ष इन्दोराका अनुसार भोला कुमार खतरनाक स्वभावका व्यक्ति हुन् । ‘दिल्ली र नेपाल दुवै ठाउँमा उसले (भोला) एउटै शैलीमा हत्या गरेको छ । निरन्तरको मिहिनेतपछि अन्तत: ऊ पक्राउ परेको छ । अब ८ वर्ष पुरानो मुद्दा फेरि चल्नेछ । पीडित परिवारलाई न्यायको आस जागेको छ,’ इन्दोराले भनेका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?