
१३ असोज, काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् । कतिपय युवाले लाठीचार्जको विरोधमा आगजनी गरेका छन् ।
आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएका परिवर्तनपछि सुरु भएको हो। नयाँ नियमअनुसार, पेरूमा १८ वर्ष पूरा गरेका हरेक व्यक्तिले कुनै न कुनै पेन्सन कम्पनी/संस्थासँग जोडिनैपर्ने हुन्छ। यसबाहेक, राष्ट्रपति बोलुआर्ते र संसदविरुद्ध लामो समयदेखि जनअसन्तोष बढिरहेको छ।
जेनजीले यस आन्दोलनका लागि जापानी एनिमे वन पिसको क्यारेक्टर ‘लूफी’लाई आफ्नो आदर्श बनाएका छन्। यो क्यारेक्टर न्यायका लागि लड्ने पात्र हो ।
यहाँ, भ्रष्टाचार, आर्थिक असुरक्षा, बढ्दो अपराध र जवाफदेहीको कमीले युवाहरूलाई क्रोधित बनाएको छ।
२०२२ मा पूर्व राष्ट्रपति पेद्रो कास्तिलोलाई पदच्युत गरी गिरफ्तार गरिएपछि सुरक्षाबलको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए। यसबारे सरकारलाई अझै प्रश्न गरिँदै आएको छ।
पेन्सन प्रदायक भनेका निजी वा सरकारी संस्था हुन्छन् जसले नागरिकसँग मासिक निश्चित रकम संकलन गर्छन् र वृद्धावस्थामा वा अवकाशपछि त्यही रकमलाई पेन्सनको रूपमा फिर्ता दिन्छन्।
पेरूको राष्ट्रिय तथ्याङ्क एजेन्सी (आईएनईआई) अनुसार, देशको २७ प्रतिशत जनसंख्या १८ देखि २९ वर्ष उमेरबीचका छन्। यही युवा यो आन्दोलनको मेरुदण्ड बनेका छन्।
धेरैलाई यो जबरजस्ती असुली जस्तो लागेको छ। उनीहरूको प्रश्न छ, ‘युवालाई रोजगारी छैन, पेन्सनका लागि पैसा कहाँबाट जम्मा गर्ने?’
पेन्सन प्रदायक संस्थामा पहिले नै भ्रष्टाचार र पारदर्शिताको कमी रहेको आरोप लाग्ने गरेको छ ।
नागरिकले यसलाई अनिवार्यभन्दा स्वेच्छिक बनानुपर्ने बताउँदै आएका छन् ।
सरकारलाई रोजगारी, शिक्षा र सुरक्षामा ध्यान दिनुपर्ने, जबरजस्ती पेन्सन थोपर्न नहुने युवा पुस्ताको भनाइ छ।
यस आन्दोलनमा पेरूका १८ देखि २९ वर्ष उमेरका युवा अग्रपंक्तिमा छन् । उनीहरूले जापानी वन पिस का क्यारेक्टर ‘लूफी’लाई प्रतीक बनाएका छन्। प्रदर्शनकारीले लूफीको चिनारी मानिने खोपडी भएको झन्डा बोकेका देखिएका छन्।
विद्यार्थी नेता लियोनार्डो मुन्योस भन्छन्, ‘लूफी जहाँ–जहाँ गयो, त्यहाँका भ्रष्ट र तानाशाही शासकबाट जनता मुक्त भयो। पेरूमासमेत उस्तै अवस्था छ। अब हामी चुप लागेर बस्दैनौं ।’
विद्यार्थी सान्टियागो भने, ‘हामी मृत्यु र भ्रष्टाचारलाई सामान्य जस्तै देखाउने अवस्थामा थाकिसकेका छौं। हाम्रो पुस्ता अब चुप लागेर बस्ने छैन। सरकार जनतासँग डराउनुपर्छ, जनता सरकारसँग होइन ।’
वन पिस जापानको प्रसिद्ध कमिक र एनिमे सिरिज हो। यसको कथा समुद्री डाकुहरू वरिपरि घुम्छ, जसले स्वतन्त्रता, मित्रता र न्यायका लागि लड्छन्। यो सिरिज विश्वभर युवामाझ निकै लोकप्रिय छ।
पेरूको राजनीति अध्यापन गर्ने प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक जो–मेरी बर्ट भन्छन्, ‘पेरूमै असन्तोष लगातार बढिरहेको छ, र यो लामो समयदेखि चलिरहेको अवस्था हो ।’
उनका अनुसार, यी प्रदर्शनहरू विश्वव्यापी स्तरमा लोकतन्त्रमाथि बढ्दो दबाबबीच भइरहेका छन् । बोलुआर्ते प्रशासनमाथि अदालत, निगरानी संस्था र अभियोजकहरूलाई कमजोर बनाएको आरोप छ ।
बर्टले यसलाई १९९० को दशकको अल्बर्टो फुजिमोरी शासनसँग तुलना गरे । त्यतिबेला पनि न्याय प्रणाली नियन्त्रणमा लिएर सत्तालाई बलियो बनाइएको थियो। सन् २०२६ को आम निर्वाचनअघि निर्वाचन संस्थालाई कमजोर पारिने आशंका गरिएको छ।
जुलाईमा इन्स्टिच्युट अफ पेरुभियन स्टडिजको रिपोर्टअनुसार, राष्ट्रपति बोलुआर्तेको लोकप्रियता २.५ प्रतिशतमा झरेको छ भने संसदको विश्वसनियता मात्र ३ प्रतिशत रहेको छ।
प्रदर्शनको असर पेरूको महत्वपूर्ण खानी उद्योगमा समेत परेको छ। पेरू विश्वकै तेस्रो ठूलो तामाको उत्पादक मुलुक हो, साथै सुन र चाँदीको पनि प्रमुख उत्पादक हो ।
हडबे मिनरल्सले मंगलबार प्रदर्शनका कारण उनीहरूले आफ्नो कन्स्टान्सिया खानीको मिल अस्थायी रूपमा बन्द गर्नुपरेको जानकारी दिएको छ । यसले देशको अर्थतन्त्रमा थप दबाब पार्न सक्ने बताइएको छ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4