
News Summary
Generated by OK AI. Editorially reviewed.- पनौती नगरपालिका-१२ कलाँतीका सन्तबहादुर तामाङले ३ असोजमा श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरी शव घर पछाडिको करेसामा गाडेका थिए।
- हत्या पछि सन्तबहादुर फरार छन् र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए।
- मनिषाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ र अनुसन्धानका लागि परिवारसँग सोधपुछ भइरहेको छ।
५ असोज, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएर घर पुगेका एक कैदीले श्रीमतीको हत्या गरी करेसामा शव गाडेको पाइएको छ ।
पनौती नगरपालिका-१२ कलाँतीको गागलका ३६ वर्षीया सन्तबहादुर तामाङले ३० वर्षकी श्रीमती मनिषा घ्यावा तामाङ (जमुना) को हत्या गरेका थिए । हत्यापछि घरको पछाडि करेसामा मनिषाको शव गाडिएको अवस्थामा फेला परेको काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएकै दिन २४ भदौमा सन्त पनि कारागारबाट फरार भएका थिए । शाहका अनुसार सन्तले ३ असोजका दिन मनिषाको हत्या गरेर घर पछाडिको करेसामा गाडेका थिए ।
३ असोजदेखि दुवै जना हराए भनेर सन्तका भाइले त्यसको भोलिपल्ट प्रहरीमा उजुरी गरेका थिए ।
उनीहरू हराएपछि खानीखोला गाउँपालिका ७ मिल्चेबाट मनिषाका माइती पक्ष आएर खोजतलास गरेका थिए । खोज्दै जाने क्रममा मनिषाका दाइ वीरबहादुरले मनिषाले लगाएको चप्पल भेटेका थिए । त्यसपछि भने घर वरिपरि नै प्राथमिकतामा राखेर मनिषाको खोजी सुरु गरिएको थियो ।
‘मनिषाको माइती पक्षले घरवरपर खोजतलास गर्ने क्रममा चप्पल भेटेको थियो । चप्पलकै आधारमा खोज्दै जाने क्रममा आलो माटो खनेको ठाउँ भेटिएपछि कोट्याएर हेर्ने क्रममा घुँडा भेटिएको थियो,’ वडा अध्यक्ष जयराम केसीले भने, ‘पूरै खन्दा मनिषाको शव भेटिएको हो ।’
मनिषाको शवलाई उत्खनन गरेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहले जानकारी दिए ।
‘उनको शव पोस्टमार्टमका लागि धुलिखेल ल्याइएको छ। श्रीमान श्रीमतीबीचमा झगडा भएको भन्ने बुझिन्छ, हत्याको बारेमा थप अनुसन्धान भइरहेको छ,’ शाहले भने, ‘अनुसन्धानका लागि परिवारसँग सोधपुछ गर्ने काम भइरहेको छ।’
श्रीमतीको हत्यापछि सन्तबहादुर भने फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
जर्बजस्तीकरणी उद्योगमा ३ वर्ष कैद सजाय भुक्तान गरिरहेका तामाङको कैद अवधि समाप्त हुन एक महिना मात्रै बाँकी थियो ।
मृतकका ११ वर्षीय छोरा र ३ वर्षीय छोरी छन् ।
प्रतिक्रिया 4